९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटक ओइरिने समयमै विमानस्थल बन्द?

पर्यटन आगमनको व्यस्त समयमा त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारको काम देखाएर १० घण्टा विमानस्थल बन्द गर्ने भएको छ।

पर्यटकको आगमन हुने समयमै धावनमार्ग निर्माणलगायत काम देखाएर कात्तिक २३ देखि विमानस्थल बन्द गर्न लागिएको हो। नेपालमा भदौदेखि मध्य मंसिरसम्म पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ। कात्तिक २३ देखि पाँच महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने जनाइएको छ।

विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने बताए पनि त्यसले पर्यटक आवगमनमा असर पर्ने देखिएको हो। विमानस्थल कार्यालयका अनुसार विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ। अर्को सिजनलाई असर नगरोस् भनेर यो समयावधि तोकिएको विमानस्थल कार्यालयले जिकिर गरेको छ। कात्तिक २३ बाट चैत १८ सम्म विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ। हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ। विमानस्थल राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ।

जगन्नाथ निरौला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल रहेको बताउँदै पर्यटन आवगमनमा कुनै पनि असर नपर्ने दाबी गरे। ‘निर्माण कार्य पहिलो प्राथमिकता हो। नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पनि उत्तिकै सुविधासम्पन्न छ। पर्यटकहरूको आवगमनलाई असर नपर्ने गरी र आउने चैत–वैशाखलाई पनि असर नपर्ने गरी निर्माण कार्य थालनी गर्ने निर्णय भएको हो,’ महाप्रबन्धक निरौलाले भने।

पर्यटन क्षेत्रका व्यवसायी र विज्ञहरूले भने भदौको पहिलो सातादेखि मंसिरको अन्तिम सातासम्म नेपालमा पर्यटक आउने–जाने क्रम रहेकाले विमानस्थलको निर्माण कार्य सोही बेला गर्नु उपयुक्त नभएको बताएका छन्।

त्रिभुवन विमानस्थल कार्यालयले पर्यटन आवागमनको मध्य सिजनमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्न लागेपछि पर्यटन व्यवसायीहरूले यसलाई केही समयका लागि पछाडि धकेल्न सकिने बताउँदै आएका छन्। अत्यावश्यक क्षेत्र भएकाले काम थाल्दा नै सोच्नुपर्ने व्यवसायीहरूको तर्क छ। व्यवसायीहरूले नेपाल आउने पाहुनालाई असर नगर्ने गरी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

बच्चुनारायण श्रेष्ठ

पर्यटन क्षेत्रमा लामो समय काम गरेका विज्ञ तथा ट्रेकिङ एजेन्सी एसोसिएन अफ नेपाल (टान) का पूर्ववरिष्ठ उपाध्यक्ष बच्चुनारायण श्रेष्ठले अहिलेको अवस्थामा पर्यटकहरू आउने–जाने क्रम रहेकाले विमानस्थल १० घण्टा बन्द हुने समाचार शुभ नभएको बताए।

‘निर्माण कार्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ तर कम्तीमा २० दिनअघि विमानस्थल बन्द गर्न हतार भयो। यो कामलाई मंसिर १५ वा २० बाट सुरु गरेको भए पर्यटन आवागमनमा असर पर्ने थिएन। यो विषयमा सम्बन्धित निकायले सोच्नुपर्ने थियो,’ पर्यटनविद् श्रेष्ठले भने। सरकारले धेरैभन्दा धेरै पर्यटक नेपाल भ्रमण गरून् भन्ने चाहना राखेको हुन्छ तर यो विषयले सरकारको चाहनामा तुषरापात हुने हो कि भन्ने आशंका रहेको पनि पर्यटन विज्ञ श्रेष्ठको भनाइ छ।

राजेन्द्र सापकोटा

पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटाले पनि विमानस्थल बन्द गर्ने उपयुक्त समय नभएको धारणा राखे। उनका अनुसार यो वर्ष नेपाल आएका पर्यटकले मौसमका कारण धेरै दुःख पाएको र फेरि पनि विमानस्थल बन्दका कारण दुःख पाउने निश्चित भएको बताए। ‘मौसम प्रतिकूलताको विषय हाम्रो वशमा हुँदैन।

मौसम प्रतिकूलताकै कारण पर्यटकहरूले लागत अनुमानभन्दा बढी भाडा दर तिर्नुपरेको छ, हेलिकोप्टर प्रयोग गर्नुपरेको छ। यही बेला विमानस्थल बन्द गराएर पर्यटकहरू फर्कने बेलामा झन् झन्झट थपियो, मंसिरको अन्तिम सातामा बन्द गरेर निर्माण थाल्दा केही बिग्रँदैनथ्यो। यसले सरकारका निकायले सरकारलाई नै असहयोग गरेको देखियो,’ पर्यटन व्यवसायीसमेत रहेका बोर्डका पूर्वसदस्य सापकोटाले भने।

सापकोटाका अनुसार विमानस्थलको यो कार्यले कतिपय पर्यटकहरूले नेपाल भ्रमण रद्द गरिसकेका छन्। ‘यस्तो कार्यले नेपालप्रतिको धारणा सकारात्मक बन्न सक्दैन भन्ने कुरा सरकारका अंगहरूले थाहा पाउनु जरुरी छ। हामीले विमानस्थलको निर्माण गर्नुहुँदैन भनेका होइनौं तर समय उपयुक्त भएन भन्ने हो। जतिबेला मन लाग्यो त्यतिबेला विमानस्थल बन्द भन्यो भनेर भन्दा पनि बिनायोजना काम भएको देखिन्छ,’ सापकोटाले भने। विमानस्थल कार्यालयले भने पाँच ठाउँबाट ट्याक्सी–वे धावनमार्गमा जोडिएकोमा चैतसम्म १० ठाउँबाट धावनमार्गलाई ट्याक्सी–वे र एप्रोनसँग जोड्ने काम सम्पन्न हुने जनाउँदै भविष्य राम्रो हुने दाबी गरेको छ। विमानस्थलको धावनमार्गको मध्य भागबाट ७५ मिटर वरपर चौतर्फी ट्याक्सी–वे विस्तारको काम हुन लागेको हो। विमानस्थल स्तरोन्नतिको काम सकिएपछि ट्याक्सी–वे विस्तारसँगै धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्ने र हवाई ट्राफिकमा समेत कमी आउने विमानस्थल कार्यालयको दाबी छ।

कात्तिक २३ गतेसमम्म दसैं तथा तिहारमा हुने हवाई चापसमेत कम हुँदै जाने र पर्यटकीय सिजनसमेत सकिने भएकाले उडान सेवा कम प्रभावित हुने विमानस्थल प्रमुख निरौलाले बताए।

प्रकाशित: ९ कार्तिक २०८१ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App