१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसियाली ट्रेल रेसका विजेतालाई सम्मान

मलेसियामा सन्पन्न एसियाली ट्रेल रेसका पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ।

नेपाल एडभेन्चर रनिङ महासंघले गत भदौ २९ गते सम्पन्न प्रतियोगितामा नेपालका लागि तीन स्वर्ण र एक कांस्य पदक दिलाएका नेपाली खेलाडीलाई सम्मान गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्यसमेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवर र वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतले नगद पुरस्कार प्रदान गरेका थिए। मलेसियाको सबाहमा नेपालले व्यक्तिगत स्पर्धामा १ स्वर्ण र कांस्य तथा पुरुष-महिला टिममा स्वर्ण जितेको थियो।

व्यक्तिगत स्पर्धामा स्वर्ण जितेकी प्रिया राईले २० हजार नगद पुरस्कार प्राप्त गरिन्। टिममा पनि स्वर्ण जितेकी प्रियालाई छुट्टै पाँच हजार रूपैयाँ पुरस्कार पनि प्रदान गरिएको थियो।

व्यक्तिगतमा कांस्य तथा टिममा स्वर्ण विजेता रसिला तामाङले क्रमशः १० हजार र ५ हजार नगद पाइन्। लोकेन्द्र राई, फुर्वासिंह तामाङ, मिलन राई र अर्जुन कुलुङ राई सम्मिलित स्वर्ण विजेता पुरुष टोलीका सदस्य समान पाँच हजार नगदसहित पुरस्कृत भए।

प्रिया तथा रसिलाबाहेकका महिला खेलाडी टोलीका अन्य सदस्य पद्मकुमारी सुनुवार, छोकी शेर्पा र आङफुर्वा शेर्पाले पनि समान पाँच हजार नगद पुरस्कार पाए। सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए। प्रशिक्षक पूर्ण तामाङलाई पनि पाँच हजार नगदसहित सम्मान गरिएको थियो।

सोही अवसरमा अन्तर्राष्ट्रि ट्रेल तथा अल्ट्रा रनका स्वर्ण विजेताद्वय सुमन कुलुङ र मनकुमार रोका मगरलाई १० हजार नगद पुरस्कार प्रदान गरियो। एथलेटिक्स खेलाडीको उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्वधावक हरिबहादुर रोकायालाई पनि नगदसहित सम्मान गरिएको थियो।

सो अवसरमा अध्यक्ष कुँवरले खेलाडीलाई धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन महासंघले पहल गरिरहेको उल्लेख गर्दै पुरस्कार राशि ठूलो नभए पनि मायाको चिनोका रूपमा ग्रहण गर्न आग्रह गरे।

प्रकाशित: १९ आश्विन २०८१ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App