१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एन्फा महिला लिग : पुलिसको जितसँगै पहिलो चरण समाप्त

नेपाल पुलिस क्लबले शुक्रबार संकटा क्लबमाथि जित निकालेसँगै एन्फा महिला लिगको पहिलो चरणका खेल समाप्त भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको पहिलो चरणको अन्तिम खेलमा विभागीय टोली पुलिसले संकटा क्लबमाथि २–१ को जित निकाल्यो। यस जितसँगै पुलिसले लिगमा छैटौं जित निकाल्दै पहिलो चरणको लिग पूरा गर्‍यो।

पुलिसको जितमा अनुष्का शेर्पा र समीक्षा शेर्पाले गोल गरे। संकटाकी सेलिना एनिमाले गोल फर्काइन्। लिगमा यसअघि नै शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने टोलीको टुङ्गो लागिसकेको थियो। तर, दुवै टोली पहिलो चरणको अन्तिम खेल जित्न चाहन्थे।

प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै पुलिसले तेस्रो स्थानका लागि अंकतालिकामा अग्रता लियो। यता, संकटाले भने नवौं खेलमा पाँचौं हार बेहोर्दै लिग यात्रा टुङ्ग्यायो। हारपछि संकटाले छैटौं स्थानमा रहेर लिगको यात्रा टुङ्ग्याउने अवसर पनि गुमाउन पुग्यो।

संकटा छैटौं स्थानको बागमती युथ क्लबभन्दा दुई अंकले मात्र पछि छ। समान ९ खेलबाट बागमतीको १० अंक र संकटाको ८ अंक छ। पुलिसविरुद्ध जितले संकटा छैटौं स्थानमा उक्लिने थियो। यद्यपि, संकटाको सुरुआत राम्रो हुन सकेन र खेलको तेस्रो मिनेटमा संकटाले अग्रता लियो।

अनुष्का शेर्पाको गोलबाट पुलिसले अग्रता लिएको हो। सम्झना लावतीको उत्कृष्ट पासमा उनले करिब ९ यार्डनजिकबाट गोल गरेकी हुन्। उनको पहिलो प्रहार संकटाकी गोलकिपर झरना नगरकोटीले सुरुमा बचाइन्। तर, सो बल रिबाउन्ड भएपछि उनले हेडमार्फत बललाई जाली चुमाएकी हुन्।

छैटौं मिनेटमै निरु थापाको गोल गर्ने उत्कृष्ट अवसरमा संकटाकी गोलकिपर झरनाले लडाएपछि पुलिसले पेनाल्टी प्राप्त गर्‍ यो। उक्त पेनाल्टी हान्न आएकी समीक्षा घिमिरेको पहिलो प्रहार झरनाले बचाइन्। तर, झरनाले बल नियन्त्रणमा लिन भने सकिनन् र रिबाउन्ड बलमा समीक्षाले गोल गरिन्।

त्यो गोलसँगै पुलिस २–० ले अगाडि रह्यो। त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन। दोस्रो हाफमा संकटाले खेलमा फर्कने प्रयास गर्‍यो। ७३औं मिनेटमा संकटाले खेलमा फर्कने अवसर पायो। पेनाल्टी बक्सभन्दा थोरै बाहिर पुलिसकी पुञ्जली कुसवारले तेमिलोपे जेनिफरलाई लडाएपछि संकटाले फ्रिकिक पायो।

सो अवसरमा सेलिना एनिमाले उत्कृष्ट फ्रिकिक गर्दै संकटालाई खेलमा फर्काउने संकेत गरिन्। ८८औं मिनेटमा पुलिसकी अनुष्का शेर्पा टोलीको अग्रता बढाउने अवसरमा चुकिन्।

उनी संकटाकी गोलकिपर झरनासँग वान भर्सेस वानमा चुकेकी हुन्। यता, संकटाले पनि खेलमा फर्कन लगातार संघर्ष गरे पनि सफल हुन सकेन र हारसँगै पहिलोपल्ट सहभागी महिला लिगबाट बाहिरियो।

यसअघि नै एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, वालिङ नगरपालिका र कोसी प्रदेश लिगको शीर्ष पाँच स्थानमा रहँदै सुपर लिगमा स्थान बनाउन सफल भइसकेका छन्। एन्फाले सुपर लिग आयोजनाबारे मिति तय गरेको छैन।

प्रकाशित: १९ आश्विन २०८१ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App