१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

स्ट्याग र पुलिस उपाधिका लागि भिड्दै आज

आयोजक स्ट्याग च्याम्पियन एकेडेमी र नेपाल पुलिस क्लब शनिबार स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन– २ को उपाधिका लागि भिड्ने भएका छन्।  लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार सम्पन्न सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै आयोजक स्ट्याग र पुलिसले उपाधि भिडन्त पक्का गरेका हुन्।

पुलिस दोस्रोपल्ट फाइनलमा पुगेको हो भने स्ट्याग गत संस्करणमा तेस्रो स्थानमा थियो। शुक्रबारको सेमिफाइनमा पुरुष सिंगल्सतर्पm पुलिसका वंश सिंघलले एपिएफका राजीव चिकबञ्जारलाई ११–७, ११–३ र ११–९ को सोझो सेटमा पराजित हराए। महिला सिंगल्समा पुलिसकी लक्षिता नारङले एपिएफकी दिया देउलालाई ११–५, ११–२ र ११–८ को सीधा सेटमा हराइन्। 

मिक्स डबल्समा पनि पुलिसले बाजी मार्‍यो। यस विधामा पुलिसका संयोग कपाली र लक्षिताको जोडीले सफलता पाएका हुन्। यो जोडीले एपिएफका राजीव र अनिता महर्जनको जोडीलाई ११–८ र ११–४ ले पछि पारे। यो नतिजा नै पुलिसका लागि पर्याप्त भएपछि तेस्रो सेट नै खेल्नु परेन। नकआउटमा आठ अंक प्राप्त गर्ने टोली विजयी हुने नियम छ। एक सेट जितका लागि एक अंक पाउने प्रावधान रहेको र त्यसअघि पुलिसले लगातार आठ सेट जितेपछि थप प्रतिस्पर्धा आवश्यक नभएको हो।

त्यसैले पुलिसले सेमिफाइनलमा एपिएफमाथि समग्रमा ८–० को जित निकाल्यो। स्ट्याग र यल टेबलटेनिसबीचको अर्को सेमिफाइनल भने प्रतिस्पर्धात्मक रह्यो। यद्यपि, स्ट्यागले यल टेबलटेनिसमाथि समग्रमा ८–६ को जित रच्यो। पुरुष सिंगल्समा यलका आदर्श ओम क्षेत्रीले स्ट्यागका हमर साङ्गालाई ११–९, ११–२ र ११–९ ले पछ्याउँदै यललाई ३–० को अग्रता दिलाए। महिला सिंगल्समा स्ट्यागकी त्रिशा गोगोइले यलकी मुनमुन कुन्डुमाथि ३–० को सोझो सेटमा जित रचिन्। यससँगै स्ट्याग र यलबीच ३–३ को बराबरी भयो।

यस क्रममा त्रिशाले ११–६, ११–९ र ११–४ ले सफलता पाएकी हुन्। मिक्स डबल्समा पनि स्ट्यागले सफलता निकाल्दै अग्रता बनायो। यस विधामा स्ट्यागका गनन्जय र त्रिशा जोडीले यलका एलेक्स महर्जन र मुनमुनको जोडीविरुद्ध तीनै सेटमा समान ११–७ को नतिजा निकालेका हुन्। मिक्स डबल्सको समाप्तिसँगै स्ट्याग ६–३ ले अगाडि रह्यो। पुरुष सिंगल्समा यलका एलेक्सले सोझो सेटमा जित निकाल्दै खेल ६–६ को बराबरीमा ल्याए। एलेक्सले स्ट्यागका प्रवेशलाई ११–८, ११–९ र ११–१० ले हराएका हुन्।

त्यससँगै निर्णायक तथा अन्तिम स्पर्धाका रूपमा महिला सिंगल्स रह्यो। यस क्रममा स्ट्यागकी सुस्मिता खड्काले यलकी रविना महर्जनविरुद्ध पहिलो दुई सेट नै आफ्नो बनाइन्। यो नतिजासँगै स्ट्यागले ८–६ ले जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो। सुस्मिताले रविनाविरुद्ध ११–८ र ११–१० ले बाजी मारेकी हुन्। लिगमा सेट १०–१० को बराबरी भएमा ‘गोल्डेन प्वाइन्ट’ का आधारमा सेटको नतिजा टुङ्गाउने प्रावधान छ।

प्रकाशित: १२ आश्विन २०८१ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App