८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

घुँडाकाे चोटका कारण स्वर्ण जित्न सकिनँ: एरिका गुरुङ

एशियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी छिन्।

ऐतिहासिक रजत पदकसहित मंगलबार स्वदेश फर्किएकी एरिकाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा चोटका कारण फाइनलमा समस्या भएको बताइन्।

एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै राम्रो रहेको बताइन्। फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। आगामी दिनमा यो भन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाइन्।

मंगलबार त्रिभूवन विमानस्थलमा पदक विजेता एरिका, उनका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीललाई स्वागत गरेका थिए। नेपाल कराँते महासंघ, नेपाल पुलिस क्लव र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे। सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एशियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरेका थिए।

कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताए। प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे।

एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औं सिनियर एशियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जितेकी थिइन्। नेपालका कुनैपनि खेलाडीले यस अघि एशियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन। यद्यपि, उनी पहिलो स्वर्ण जित्न भने चुकिन्। यसअघि एरिका चीनकै हाङझाउमै एशियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुकेकी थिइन्।

प्रकाशित: ८ आश्विन २०८१ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App