२७ चैत्र २०८१ बुधबार
image/svg+xml १३:२६ अपराह्न
खेल

काठमाडौंलाई रोटरी भेट्रान्स कपको उपाधि

उपाधिका साथ काठमाडौंको फ्रिडम फाइटर्स टिमका खेलाडीहरु।

रोटरी क्लब अफ मकवानपुरको आयोजनामा हेटौंडामा सञ्चालन भएको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटर्स भेट्रान्स काठमाडौंले जितेको छ।

मंगलबार दिउँसो भएको फाइनल खेलमा पूर्वेली क्लब झापालाई ३–२ ले हराउँदै काठमाडौंले उपाधि जितेको हो। उपाधि विजेता काठमाडौंले २ लाख २ हजार २२२ रुपैयाँ रुपैयाँ प्राप्त गर्दा उपविजेता झापाले एक लाख १ हजार १११ रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ।

खेलमा काठमाडौंले तेस्रो मिनेटमै निलेन्द्र देवानको गोलमार्फत अग्रता बनाएको थियो। २० मिनेटमा देवानले नै अग्रता दोब्बर बनाए। काठमाडाैंका लागि ३७ औं मिनेटमा विकर्ण श्रेष्ठले तेस्रो गोल गरे।

तीन गोलले पछि परेको झापाले दोस्रो हाफमा २ गोल गर्दै खेलमा फर्किने सम्भावना देखाए पनि अन्ततः उपविजेतामै चित्त बुझाउन बाध्य भयो। झापाका लागि मित्र बस्नेतले ४० मिनेट र ४३ मिनेटमा रमेश गुरुङले गोल गरेका थिए।

दुवै टिमबाट पूर्व राष्ट्रिय टिमबाट र 'ए' डिभिजन टिमबाट खेलिसकेका खेलाडीहरुको वर्चश्व रहेको थियो। काठमाडौंले हरिवन भेट्रान्स सर्लाहीलाई र झापाले नव जनजागृति भेट्रान्स सिमरालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

खेलको सर्वोत्कृष्टसहित विधागत उत्कृष्ट खेलाडीमा काठमाडौंकै वर्चश्व रह्यो। सर्वोत्कृष्ट खेलाडी र म्यान अफ द म्याच निलेन्द्र देवान घोषित हुँदा उत्कृष्ट स्ट्राइकर विकर्ण श्रेष्ठ, मिडफिल्डर राजु तामाङ, डिफेण्डर राजकुमार घिसिङ, गोलरक्षक सञ्जिव खड्की र प्रशिक्षक सुरज श्रेष्ठ भए।

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई रोटरीका अध्यक्ष अनिल अग्रवाल, समापनको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, प्रतियोगिता संयोजक मोहन ढकाल लगायतले पुरस्कार वितरण गरेका हुन्।

पिप्ले युवा क्लबको सह-आयोजना एवं रोट्रयाक्ट क्लब अफ मकवानपुरको सहकार्यमा भएको भेट्रान्स फुटबलमा नेपालका १५ वटा टिमको सहभागिता रहेको थियो। यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्सले जितेको थियो।

प्रकाशित: १ आश्विन २०८१ १९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App