५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

राखेपद्वारा एरिका र स्यान्टुलाई जनही एक लाख

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६१औं वार्षिकोत्सवका अवसरमा करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ। 

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा बुधबार राखेपले सिनियर महिलामा १९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका र पुरुषमा ओलम्पियन स्यान्टुलाई सम्मान गर्‍यो। दुवै समान एक लाख रूपैयाँसहित सम्मानित भए। 

जुनियरतर्फ पुरुषमा क्रिकेटका दीपेश कँडेल र महिलामा एथलेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए। दुवैलाई समान ५० हजार रूपैयाँसहित ट्रफी प्रदान गरिएको थियो। पारा एथलिट अवार्डमा चौथो पारा एसियाली खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनले प्राप्त गरिन्। पलेशाले नगद ५० हजार रूपैयाँसहित ट्रफी हात पारिन्।

सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमा मनीता र बुवा प्रदीपलाई पनि कदरपत्रसहित सम्मान गर्‍यो। अखिल नेपाल कबड्डी संघ र नेपाल तेक्वान्दो संघलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो।

प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ पुरस्कार पाए। उनले नगद १० हजार रूपैयाँसहित ट्रफी पाए। राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो। यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए। 

यसै विधाको प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए। राखेपले दुवैलाई नगद २५ हजार रूपैयाँसहित सम्मान गर्‍यो। उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिकमा टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली र प्रशासनमा विरोधविक्रम जिसी नगद १५ हजार रूपैयाँसहित सम्मानित भए।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवी बस्नेतलाई सम्मानित गरिएको थियो। दुवै नगद १० हजारसहित सम्मानित भए। करारमा कर्मचारीतर्फ रिल्याक्सोलोजीका कृष्णहरि घिमिरे १० हजार नगदसहित सम्मानित भए। 

उत्कृष्ट खेल संघमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहमा घोडाघोडी नगरपालिका, कैलाली र उत्कृष्ट प्रायोजकमा सूर्य नेपाल प्रा.लिलाई कदर पत्रसहित सम्मान गरिएको थियो। सोही अवसरमा राखेपले आफ्ना पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो।

यस्तै, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६१औं वार्षिकोत्सवका अवसरमा नागरिककर्मी अनिल मल्ल ठकुरी सम्मानित भएका छन्।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा बुधबार राखेपले वर्ष उत्कृष्ट पुरुष खेल पत्रकारको अवार्डबाट नागरिक दैनिकका खेलकुद ब्युरो चिफ मल्ललाई सम्मानित गरेको हो। 

नेपाल खेलकुद पत्रकार मञ्चका प्रवक्तासमेत रहेका मल्लले सौर्य दैनिक, राष्ट्रिय समाचार समिति (रासस) लगायतका संस्थामा काम गरिसकेका छन्। 

महिलातर्फ भने अनलाइन खबरकी नमिता दाहालले उक्त अवार्ड हात पारिन्। उनीहरू दुवैले समान २० हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित: २७ भाद्र २०८१ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App