१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

यू- १९ महिला टी- २० विश्वकप एसिया छनोट : पहिलो चरणमा खेलाडी छनोट

मुख्य प्रशिक्षकमा महेश रिजाललाई नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट गरेको छ ।

बुधबार सार्वजनिक भएको सूचीमा पूजा महतो र सोनी पाख्रिनले कमब्याक गरेका छन् । उनीहरु दुवैले यसअघि नेपाली महिला सिनियर टिममा खेलिसकेका हुन् ।

क्यानले सार्वजनिक गरेको सूचीमा स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल अटाएका छन् ।  

टिममा ऐली यादव, किरणकमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपशा शाही, साना प्रविण, प्रतिमा शाह छन् ।  

अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, कुशम गोदार, सीमाना जीसी, ज्योत्सिका मर्सानी, निरु जीटी, सेरिना थापा, रचना चौधरी, आश्मा पुलामी मगर पनि पहिलो चरणको टिममा परेका छन् ।

यसैबीच क्यानले नेपाली महिला यु- १९ को मुख्य प्रशिक्षकमा महेश रिजाललाई नियुक्त गरेको छ ।  

टोलीको बन्द प्रशिक्षण दाङको लमही क्रिकेट मैदानमा हुने क्यानको बोर्ड बैठकले यसअघि नै निर्णय गरिसकेको थियो । मंगलवार मात्र विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा कात्तिक २२ गते कुवेतसॅंग छ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेलमा कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।

पाचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कार्तिक २८ मा युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित: २६ भाद्र २०८१ १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App