२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

३ नेपाली खेलाडी क्यनाडा लैजाने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले आउँदो सिजन क्यानेडियन लिग खेल्न तीन नेपाली खेलाडी लाने बताएका छन्।

नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसिसिसी)बाट आइतबार टोरन्टोमा सम्मानित हुने क्रममा श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक दासानायकेले नेपाली क्रिकेटसँग आफ्नो विशेष सम्बन्ध रहेको बताएका थिए । नेपाली राष्ट्रिय टोलीलाई २०१४ को ट्वान्टी–२० विश्वकपसम्म डोर्याउनुका साथै डिभिजन वानका टिमले खेल्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट गराएका दासानायके नेपाली खेलाडीमाझ ‘फादर फिगर’ का रूपमा सम्मानित छन्।

सम्मानका अवसरमा दासानायकेले टोरन्टोमा नेपाली समुदायबाट सम्मानित हुन पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका थिए । नेप्लिज क्यानेडियन क्रिकेट क्लब क्यानाडामा बसोवास गर्दै आएका नेपालीहरूले गत वर्ष ग्रेटर टोरन्टोमा स्थापना गरेका थिए । क्लबले आइतबार आफ्नो भेलाका अवसरमा दासानायकेलाई सम्मान गरेको थियो । सो अवसरमा क्लबका सल्लाहकार रेडियो नेपालका पूर्व खेलपत्रकार सन्तोष ओझाले नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता तथा नेपाली क्रिकेटमा दासानायकेको योगदानबारे प्रकाश पारेका थिए।

ओझाका अनुसार एनसिसिसीले यो वर्षबाट टोरन्टोको ब्राहम्पटन क्रिकेट लिग खेल्ने भएको छ । आइतबार नेपाली समुदायको बृहत् भेला आयोजना गर्दै क्लबले यस्तो घोषणा गरेको थियो । क्लबका अध्यक्ष इमरान खानले नेपालीको शिर उचो पार्ने उद्देश्यमा क्लबबाट अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजना सुनाउँदै त्यसका लागि नेपाली समुदायबाट सबैखाले सहयोगको आवश्यकता रहेको बताए।

भेलामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले भिडियो सन्देशमार्फत क्लबलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । पारस र ज्ञानेन्द्रले यसअघि दासानायकेकै पहलमा क्यानाडाबाट त्यहाँको घरेलु लिग खेलिसकेका छन् । यसै गरी एनआरएन क्यानाडाका अध्यक्ष गोपीकृष्ण काफ्लेलगायतले पनि क्लबलाई शुभकामना दिए।

क्लबले तीन महिनापछि टोरन्टोमा नेपाली क्रिकेट महोत्सव आयोजना गर्ने र त्यसका लागि नेपाली राष्ट्रिय टोलीका एक खेलाडी लाने निर्णय गरेको भेलामा जानकारी गराइयो।

प्रकाशित: २० चैत्र २०७४ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App