९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

उज्ज्वल र विलनको जोडी ‘एयर ब्याडमिन्टन’ च्याम्पियन

लगनखेलका उज्ज्वल दाहाल र विलन मलानको जोडी तथा नखिपोटकी नुमा लिम्बू र एपिएफकी नवीना राईको जोडी ‘एयर ब्याडमिन्टन’ द न्यु ब्याडमिन्टनमा च्याम्पियन भएका छन्।

विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल एयर ब्याडमिन्टन नेपालमा पनि सुरु गर्न यो प्रतियोगिता भएको हो। एयर ब्याडमिन्टनकै प्रदर्शनी खेलका रूपमा रहेको प्रतियोगितामा उज्ज्वल र विलनको जोडी पुरुष युगलमा तथा नुमा र नवीनाको जोडी महिला युगलमा च्याम्पियन भएका हुन्। आउट डोर कोर्टमा आठ ग्रामको सटलका साथ यो खेल खेल्ने गरिन्छ। खुला स्थानमा खेलिने भएकाले यो प्रतियोगिता ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन कोर्टमा आयोजना गरिएको थियो।

खुला कोर्टमा खेलाइने भएकोले हावाको चापलाई मध्यजर गर्दै भिन्न प्रकारको सटल कक बनाइएको हुन्छ। युरोपमा लोकप्रिय रहे पनि नेपालमा भने पहिलोपल्ट नेपाल ब्याडमिन्टन संघले यो खेल सुरु गरेको हो। यो प्रदर्शनी खेलमा एक सय आठ पुरुष र ३४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुषमा ललितपुरका मनीष वज्राचार्य र राकेश शाक्यको जोडी दोस्रो भयो। भक्तपुरका आयुष प्रजापति र चितवनका एलिस थापा तथा अजय महर्जन र साजन महर्जनको जोडी संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

महिलामा शर्मिला केसी र पार्वती राईको जोडी दोस्रो भयो। पिएफसीका मैया भट्टराई र सीता कार्कीको जोडी तथा भक्तपुरका लिना सिपाई र शुभेच्छा श्रेष्ठको जोडी संयुक्त तेस्रो स्थानमा रहे। नेपाल ब्याडमिन्टन संघका पूर्वअध्यक्ष प्रकाशबहादुर शाही र निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठले उक्त प्रतियोगिताको संयुक्त उद्घाटन गरेका थिए। नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र सह–महासचिव नवीनविक्रम शाहलगायतले विजेतालाई पुरस्कृत गरे। एयर ब्याडमिन्टन परम्परागत ब्याडमिन्टन खेलभन्दा केही फरक छ।

यसमा एकल, युगल र तीन जनाको समूहमा खेलाडीहरू सम्मिलित भएर प्रतिस्पर्धा गर्न सकिन्छ। कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र ६ मिटर चौडाइ (एकलमा पाँच मिटर) को हुन्छ। नेटबाट दुई मिटरको स्थानलाई डेड जोन मानिन्छ भने डेड जोनमा सटल कक झरेमा आउट र खेलाडीले उक्त स्थानको लाइन क्रस गरेमा फाउल मानिनेछ। डेड जोनबाट तीन मिटर पर सर्भिस लाइन रहने र तीन मिटरको सर्भिस जोनबाट सर्भिस गर्नुपर्ने हुन्छ। विपक्षीमा जुनसुकै खेलाडीले रिसिभ गर्न पाउँछ। 

प्रकाशित: १३ भाद्र २०८१ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App