३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

भुटानको बाटो ‘क्लियर’, माल्दिभ्सको अस्पष्ट

दोस्रो हाफ सुरु भएको ६ मिनेटमै भुटान १० खेलाडीमा समेटिनु अनि त्यसैको फाइदा लिँदै खेलमा फर्किनुले माल्दिभ्सको टोलीले साफ यु–२० च्याम्पियनसिपमा जितसरह नै उत्सव मनाएको थियो।

लाथ्यो, माल्दिभ्सले ठूलै युद्ध जितेको छ। यो युद्धले उसको अन्तिम चारमा लगभग स्थान बनाउने पक्का भइसकेको थियो। तर, माल्दिभ्सको त्यो खुसीयाली बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तिमसम्म टिक्न सकेन र भुटान २–१ को जितसहित अन्तिम चारमा पुग्यो। समूह ‘बी’ मा रहेको भुटानले सबै खेल खेलिसक्दा तीन अंक छ । भुटान पहिलो खेलमा साबिक विजेता भारतसँग १–० ले पराजित भएको थियो। माल्दिभ्सले भने समूहचरणको अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ। भारतलाई उक्त खेलमा बराबरीकै नतिजा पर्याप्त हुनेछ।

तर, माल्दिभ्सलाई भने कम्तीमा दुई गोल गर्दै जित निकाल्नुको विकल्प हुनेछैन। ‘हामीभन्दा भुटानले धेरै राम्रो खेल्यो,’ भुटानसँगको खेलपछि माल्दिभ्सका मुख्य प्रशिक्षक अहमेद शाकिरले भने, ‘हामी अभागी रह्यौं। पाएका मौका सदुपयोग गर्न सकेनौं। तर, भुटान जितको हकदार थियो।’ दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सन् २०१५ बाट उमेरसमूहको प्रतियोगिता सुरु गरेको हो। तर, भुटान र माल्दिभ्सको भेट भने त्यसको दुई वर्षपछि मात्रै भयो। सन् २०१७ मा चाम्लिमिथाङमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपमा घरेलु टोली भुटानले माल्दिभ्सलाई १–० ले हराउँदै विजयी झन्डा फहराएको थियो। त्यो नै भुटानले साफको उमेरसमूहको प्रतियोगितामा कुनै राष्ट्रमाथि निकालेको पहिलो जित हो। 

अर्कोपल्ट भेट्दा भने भुटानलाई गोलरहित बराबरीमै रोक्न माल्दिभ्स सफल भयो। सिनियरस्तरमा एकपछि अर्को गर्दै भुटानलाई माल्दिभ्सले छाड्दै गएको छ। अहिलेसम्मको १० भेटमा माल्दिभ्सले कुनै हार बेहोर्न परेको छैन। तर, उमेरसमूहमा भने माल्दिभ्स जहाँ थियो त्यहीँ रह्यो। यद्यपि, भुटानले भने उमेरसमूहबाटै सिनियरस्तरको फुटबल सुधार्ने लक्ष्य लियो र ग्रासरुट फुटबललाई जोड दियो। अहिले उसले एएफसी ‘प्रो’ लाइसेन्स प्राप्त जापानी प्रशिक्षक हिदेहारु ताकाहासी ल्याएर ग्रासटरुट फुटबल सुधार्न मिहिनेत गरिरहेको छ। त्यो मिहिनेत बुधबारको खेलमा पनि झल्किएको बताउँछन्, प्रशिक्षक शाकिर।

‘मलाई लाग्छ हाम्रो युवा विकास प्रणाली नै समस्या हो। किनभने हामीसँग निरन्तरता छैन। भुटानको युवा टोलीले सधैं प्रशिक्षण गरिरहेको छ, लगानी थपेको छ। हाम्रो देशको फुटबलको अवस्थाबारे सबैलाई थाहा छ,’ उनले भने। माल्दिभ्समा लिग नभएकै एक वर्षभन्दा बढी भइसक्यो। नेपाल आएको टोली छान्न पनि उनलाई निकै सकस परेको थियो । उनका अनुसार माल्दिभ्समा भरखरै यु–१९ प्रतियोगिता गरिएको थियो। त्यही प्रतियोगिताबाट टोली छनोट गरेर नेपालसम्मको यात्रा तय गरिएको हो। यो टोलीले पनि एक महिनाको प्रशिक्षण गरेको उनी बताउँछन्। त्यसैले धेरै खेलेको अनुभव नहुँदा भुटान र आफ्नो टोलीबीच प्रस्ट खाडल देखिएको उनको भनाइ छ।

‘भुटान रणनीतिक रूपमा धेरै संगठित थियो। रातो कार्ड खाँदा पनि उनीहरूले आफ्नो अनुशासन कायमै राखे। त्यस कारणले हामीले मिडफिल्डबाट धेरै मौका पाएनौं। उनीहरूले क्विक मुभ बनाइरहेका थिए। त्यसैले हामीले बारम्बार समस्या भोगिरह्यौं,’ उनले सुनाए। २१औं मिनेटमै भुटानले जिग्नम सेल्तोब दोर्जीको उत्कृष्ट लामो कट पासबाट सुरुआती अग्रता बनाएको थियो। त्यसमा माल्दिभ्सका गोलकिपर मोहमेद यमिनले सही ‘जजमेन्ट’ गर्न नसक्दा जेत्सुइन दोर्जी खाली पोस्टमा गोल गर्न सफल भए।

त्यसपछि पनि भुटानले बारम्बार प्रयास गरेको थियो। तर, हुक पास अत्यधिक खेलेको भुटान फिनिसिङमा भने चुक्न पुग्यो। ५१औं मिनेटमा भुटान १० खेलाडीमा समेटियो। माल्दिभ्सका कप्तान रसाद शानानले ओभर–ल्यापमा बनाएको मुभलाई गोलकिपर सोनम तेन्जिनले विफल बनाउने प्रयास गरेका थिए। तर, डी बक्सभन्दा बाहिर स्लाइड गर्नेक्रममा हातले बल छोएको भन्दै बाङ्लादेशका रेफ्री बितुराज बरुआले उनलाई सीधै रातो कार्ड देखाए। त्यसको फाइदा उठाउँदै माल्दिभ्स खेलमा फर्कियो। यसैमा प्राप्त फ्रिकिकबाट मोहमेद फिराकले उत्कृष्ट गोल गरे।

उनको प्रहार दोस्रो रोजाइका भुटानी गोलकिपर लोछो निमाले रोक्न सकेनन्। निर्धारित ९० मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा भुटानले नवाङ चोपेलको गोलमार्फत जित पक्का गर्‍यो। उमेरसमूहमा लगातार दोस्रोपल्ट अन्तिम चारमा पुगेको भुटानले अब कोसँग खेल्ने भन्ने टुङ्गो बिहीबार लाग्नेछ। समूह ‘ए’ को अन्तिम खेलमा बिहीबार आयोजक नेपाल र बाङ्लादेश भिड्नेछन्। यी दुई टोली श्रीलंकालाई समान १–० ले पराजित गर्दै अन्तिम चारमा पुगिसकेका छन्। भुटानले सेमिफाइनलको खेल खेलिरहँदा रातो कार्ड पाएका पहिलो रोजाइका गोलकिपर गुमाउनेछ।

बुधबारको खेलमा पनि उसले किन्ले ग्याल्चेनलाई गुमाएको थियो। उनी भारतसँगको खेलमा हात हालाहालमा उत्रिएका थिए। भुटानका प्रशिक्षक ताकाहासी उनको अनुपस्थितिले खासै असर नगरेको बताउँछन्। तर, फाइनल पुग्ने खेलमा पहिलो रोजाइका गोलकिपर नै नहुनुले भुटानलाई घाटा पुर्‍याउनेछ। ‘अहिले नै के गर्ने भन्नेबारे सोचेको छैनौं । नेपाल र बाङ्लादेशबीचको खेल हेरेर रणनीति बनाउँछु,’ उनले भने। गत वर्ष नेपालमै भएको साफ यु–१९ च्याम्पियनसिपमा भुटान सडनडेथमा पाकिस्तानसँग ६–५ ले पराजित भएको थियो। यसपल्ट पाकिस्तानले प्रतियोगितामा भाग लिएको छैन।

यता, माल्दिभ्स भने अन्तिम खेलमा ‘गर या मर’ को स्थितिमा मैदान उत्रिनेछ। सोही खेलको नतिजाले माल्दिभ्स घर जाने कि सेमिफाइनल ? टुङ्गो लाग्नेछ। तर, दुई वर्षदेखि लगातार उपाधि जित्दै आएको भारतविरुद्ध सुखद नतिजा निकाल्न भने माल्दिभ्सका लागि सहज हुनेछैन। ‘भारतविरुद्ध जित्छौं भन्ने मात्रै आशा छ। हामीभन्दा भारत बलियो छ भन्ने सबैलाई थाहा नै छ। त्यसैले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै जित्ने प्रयास गर्नेछौं,’ प्रशिक्षक शाकिर भन्छन्।

प्रकाशित: ६ भाद्र २०८१ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App