४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलङ्काको दोस्रो हारसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा

बंगलादेशले मंगलबार श्रीलङ्कामाथि सहज जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपमा सुखद् शुरूवात गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह एको खेलमा बंगलादेशले श्रीलङ्कामाथि २–० को जित निकालेको हो। श्रीलङ्काको हारसँगै यो समूहबाट बंगलादेश र नेपाल सेमिफाइनलमा पुगेका छन्।

तीन राष्ट्र सम्मिलित समूहमा श्रीलङ्काले लगातार दोस्रो हार व्यहोरेपछि सेमिफाइनलमा पुग्ने टोली तय भएको हो। श्रीलङ्काले पहिलो खेलमा घरेलु टोली नेपालसँग १–० को हार व्यहोरेको थियो।

अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि बिहीवार खेल हुनेछ। मंगलवार बंगलादेशले श्रीलङ्कालाई पहिलो हाफ पूर्ण दबाबमा राखेर खेल्यो। खेलको शुरुवातदेखि नै बंगलादेश लगातार अवसर बुने पनि सफल हुन सकेन। तर १८ औं मिनेटमा बंगलादेशले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै अग्रता लियो । रवि हुसेन राउलले लेफ्ट साइडमा दिएको बललाई पेनाल्टी बक्समा एक्लै रहेका मिराजुल इस्लामले वान टच गोल गरे। २९ औं मिनेटमा रोस्तम इस्लाम डुखु मियाले अग्रता दोब्बर बनाउने अवसर गुमाए। उनले नजिकै बाट गरेको प्रहार आकासिन पुग्यो।

बंगलादेशका चन्दन रोयले ३८ औं मिनेटमा करिव २२ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार श्रीलङ्काका गोलकिपर अहमेद फुलैलले सहजै रोके। पहिलो हाफको इन्जुरी समयमा बंगलादेशका स्ट्राइकर मिराजुल इस्लाम श्रीलङ्काका गोलकिपर फुलैलसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न असफल भए। श्रीलङ्काले पहिलो हाफमा खासै राम्रो अवसर बुन्न सकेन। यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो।

दोस्रो हाफमा पहिलो अवसर सिर्जना हुन ५९ औं मिनेट पर्खनुपर्‍यो। स्यान मोहम्मद साहिलले राइट कर्नरबाट गरेको सशक्त प्रहार बंगलादेशका गोलकिपरले पन्च गर्दै आफ्नो टोलीको अग्रता जोगाइराखे। बंगलादेशले ६३औं मिनेटमा कर्नरबाट गरेको प्रहार श्रीलंकाका गोलकिपरले उत्कृष्ट बचाउ गरे। ८५ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो। पियास अहमेद नोभाले श्रीलङ्काको खराब डिफेन्सको फाइदा लिँदै पेनाल्टी बक्सबाटै उत्कृष्ट गोल गरे।

त्यसपछि पनि बंगलादेशले केही अवसर बनाए पनि सफल हुन नसके पछि श्रीलङ्कामाथि २–० को जित निकाल्यो। 

बुधबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ। 

प्रकाशित: ४ भाद्र २०८१ १७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App