२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

हिलो यथावत, साफ यु–२० खेलाइने मैदानमा अन्योल

‘३५/४० वर्षअगाडि खेल्दा पनि हिलाम्मे थियो। अहिले पनि यस्तै छ,’  त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानमा पारो एफसीसँगको खेलपछि चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक बालगोपाल महर्जनको प्रतिक्रिया यस्तो थियो। एएफसी च्यालेन्ज लिग प्लेअफअन्तर्गत मंगलबारको चर्च ब्वाइज र पारोले हिलाम्मे मैदानमा खेलेका थिए। अधिकांश समय खेलाडीले सेट पिसमा राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। कारण थियो चिप्लिने मैदान। त्यसैले अनुमान गरिए जस्तो रोमाञ्चक भएन र पारोले २–१ ले नतिजा आफ्नो पक्षमा पार्‍यो। विश्वस्तरीय खेलाडी केइसुके होन्डा उत्रिएको मैदानका कारण सरकार र खेल प्रशासकले धेरै आलोचना खेप्नुपर्‍यो। यही मैदानमा आइतबारदेखि साफ यु–२० च्याम्पियनसिप हुँदैछ।

तर, प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि मैदान हिलाम्मे छ। खुट्टा नै गाडिने हिलो यथावत् रहेकाले साफका लागि तय खेल यही मैदानमा हुनेमा शंका उब्जिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईसहित केही पदाधिकारी बुधबार साँझ मैदान निरीक्षण गर्न दथरथ रंगशाला पुगेका थिए। निरीक्षणपछि यहाँ नै आगामी खेल हुन्छ या हुँदैन भन्नेबारे अनिश्चितता रहेको राईले बताए ।

‘भारी वर्षामा मंगलबार यही खेल भयो। खेल हुनुभन्दा केही दिनअगाडि रोलर मात्रै गरिदिएको भए यति बिघ्न मैदान बिग्रिने थिएन। हिलो सुक्यो भने यहीं खेल हुन्छ नत्र विकल्प सोच्नुपर्छ,’ उनले भने। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को खेलतालिकाअनुरूप समूहचरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल दशरथ रंगशालामै हुने तय छ। तर, मैदानको अवस्था नाजुक भए उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्न सक्ने सम्भावना बढेको छ।

दशरथ रंगशालाको मैदानमा २०१२ सालमा पहिलोपल्ट फुटबल खेलिएको थियो। राजा महेन्द्रको राज्याभिषेकको उपलक्ष्यमा आयोजित फुटबल प्रतियोगिताको फाइनल यही भएको थियो। त्यति बेला २००७ सालका सहिद दशरथ चन्दको नामबाट यो रंगशालाको नाम कायम नै भएको थिएन। त्यसैले यसलाई राष्ट्रिय रंगशाला भनिन्थ्यो। नरशमशेर राणाले यो रंगशालाको मैदानलाई सम्म्याएर फुटबल खेल्न योग्य बनाए। त्यसअघि मैदानमा थुप्रै ढिस्को थियो । पछि यसलाई सम्म्याइयो र माटो पेलेर घाँस रोपियो। त्यसपश्चात् मात्रै खेल्न योग्य बन्यो। त्यसयता यो मैदानलाई टालटुल पार्ने कामबाहेक अन्य केही नभएको राई बताउँछन् । त्यसैले पनि बारम्बार यही समस्या भोग्नुपरेको उनको भनाइ छ।

कहाँ हुन्छ त खेल ?

चर्च ब्वाइज र पारोको खेलअगाडि रोलर चलाएर मैदान मर्मत गरेको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिका सिइओ थमन भुसालले एन्फाका पदाधिकारीलाई ब्रिफिङ गरे। तर, खेल सुरु हुनुभन्दा १/२ दिनअघि रोलर चलाउनुपर्ने भए पनि वर्षाका कारण सम्भव नभएको उनले स्वीकार गरे। एन्फाका पदाधिकारीले भने पानी जमेको स्थानमा माटोले पुरेर मैदान बनाइएको दाबी गरे। माटोलाई राम्रोसँग नथिच्दा टाइट हुन नपाएकाले थिलथिलो भएर हिलाम्मे भएको एन्फाको दाबी छ। अहिलेको अवस्थामा रोलर चलाए मैदान फुट्ने समस्या रहेको भुसालले ब्रिफिङ गरे।

महासचिव राई नेपालका खेलमा अत्यधिक दर्शक आउने भएकाले सातदोबाटोमा खेल गराउन सम्भव नरहेको बताउँछन्। सातदोबाटोको प्याराफिट ३५ सय दर्शक क्षमताको मात्रै हो । त्यसमा पनि अतिथिलगायत केही विशिष्ट व्यक्ति आउने भएका कारण पूर्ण रूपमा एन्फाले टिकट बेच्न सक्दैन। च्यासलस्थित च्यासल मैदान पनि धोबीखोला पसेको थियो। त्यसैले त्यहाँको हिलो अझै सुकेको छैन। मैदान पनि सफा गरिएको छैन। त्यसैले त्यहाँ खेल गराउन सम्भव छैन। त्यसैले दशरथ रंगशालामा गराउनुपर्ने बाध्यता रहेको राई बताउँछन्।

प्रकाशित: ३१ श्रावण २०८१ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App