२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

पाँच वर्षपछि भारतसंग बदला लिने नेपालको सपना अधूरै

नेपालले फाइनलमा भारतसंग हार बेहोर्दै घरेलु मैदानमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने अवसर गुमाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल भारतसंग ३-२ को सेटमा पराजित भएको हो । यससंगै नेपालले सन् २०१९ मा घरेलु मैदानमा नै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदको फाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि गुमायो । नेपाल भारतसंग २५-२३, १४-२५, २५-२२, २१-२५ र  १५-५ ले पराजित भएको हो । दुई पटक सेटको अग्रता जोगाउन नसक्दा दबाबमा परेको नेपालले खेल नै गुमायो।

यद्यपि, पहिलो सेट नेपालले नाटकीय ढंगले आफ्नो पारेको हो । यो सेटमा २३-२० ले पछि परेको थियो । तर, लगातार अंक बटुल्दै नेपालले यो सेट आफ्नो बनाउन सफल भयो । दोस्रो सेटमा नेपालले बिर्सन लायक प्रदर्शन गर्यो । खराब रिसिभ, डिफेन्स र असफल स्पाइकसंगै यो सेटमा भारत एकपक्षीय रूपमा हाबी भयो । यो सेट भारतले सहजै फराकिलो अन्तरले आफ्नो पक्षमा पार्दै १-१ को बराबरीमा ल्यायो । तेस्रो सेटमा नेपालले दबदबा बनाइरहेको थियो ।

नेपालको १८-१४ को अग्रता लिँदै दबाब बनायो । सेटमा पछि परेपछि भारतले चुनौती लियो । बिरामी रहेकी नियमित कप्तान तथा सेटर जिनी केएसलाई फर्कायो । तर, उनले स्पाइकरलाई राम्रो बल सेट गरेपछि नेपाल दबाबमा पर्‍यो । निकै प्रतिस्पर्धा बाबजुद नेपालले यो सेट २५-२२ ले जित्यो ।

चौथो सेटमा भने सुरुदेखि  नै भारतले आफ्नो दबदबा बनायो । नेपालले पटक पटक सेटमा फर्कन सङ्घर्ष गर्यो । घरेलु टोली लगातार ३/४ अङ्कले पछि पर्‍यो । तर, भारत अन्ततः २५-२१ ले यो सेट आफ्नो बनाउँदै खेलमा फर्कन सफल भयो ।  खेल पाँचौँ तथा निर्णायक सेटतर्फ धकेलियो । तर, निर्णायक सेटमा नेपालले खराब प्रदर्शन गर्यो र भारतले १५-५ ले सहजै आफ्नो बनायो ।

प्रकाशित: २३ श्रावण २०८१ १९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App