२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

फाइनलमा भारतसँग अहिलेसम्मकै उत्कृष्ट खेल्छौं :अरुणा

नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन्।

इरानमाथि सोझो सेटमा जित निकालेपछि पत्रकार सम्मेलनमा कप्तान अरुणाले छिमेकी राष्ट्र भारतसँगै जस्तो सुकैअवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी हुन् ।

 कप्तान अरुणा शाहीले इरान जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन् । इरानलाई सुरुदेखि नै दबाबमा राखेर खेल्नुपर्छ भन्ने उद्देश्यसहित कोर्टमा उत्रनु नै जितको बलियो आधारमा रहेको बताइन्। पछाडि परेको अवस्थामा पनि सोही मानसिकता साथ खेल्दा पुनरागमनसँगै जित सम्भव भएको उनको भनाइ छ ।

‘दोस्रो सेटमा २४–२१ ले पछि थियौं । तर, हाम्रो बलियो मानसिकताअनुरूप खेल्दा त्यो अंक भेट्टायौँ । जुन जितको आधार पनि बन्यो,’अरुणाले भनिन् ,‘इरानलाई सोझो सेटमै हराउँछौँ भन्ने उद्देश्य थियो । त्यसमा पनि सफल भयौँ । आज ड्रप बल हुन नदिने भन्ने थियो र त्यो योजनाअनुरूप पनि भयो ।’ अरुणाले इरानसँगको पहिलो खेलमा उनीहरूको महत्त्वपूर्ण पक्ष बुझ्न नसकेको र सेमिफाइनलमा उनीहरूको बलियो पक्षलाई रोक्न सफल भएको बताइन् । फाइनलमा अझै केही सुधार गर्दै उपाधि सुरक्षित गर्न बलियो रणनीतिका साथ खेल्ने कप्तान शाहीको आशा छ ।

नेपालका प्रशिक्षक जगदीश भट्टले इरानसँग सेमिफाइनल खेल्नुअघि आफ्ना खेलाडीको मानसिकता बलियो बनाएकाले सोझो सेटमा जित्ने लक्ष्य पूरा भएको बताएका छन् । सेमिफाइनलमा उषा भण्डारी र निरुता ठगुन्नाको पोजिसन परिवर्तन गरेर खेलाउने रणनीति सफल भएको खुलासा गरे । बिचमा इरानको बलियो ब्लक हुने भएकाले त्यो स्थान खाली राखेर उषालाई नयाँ जोनबाट खेलाउने रणनीति सफल भएको प्रशिक्षक भट्टको विश्वास छ । उनले इरानभन्दा भारतसँग खेल्न सजिलो हुने भएकाले फाइनलमा अझ राम्रो खेल हुने आशा गरेका छन् । 

प्रकाशित: २२ श्रावण २०८१ २०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App