२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काभा महिला भलिबल नेसन्स लिग: भारतलाई जित्ने नेपालको चाहना

नेपाल घरेलु मैदानमा हुने काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ। आगामी बिहीबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालसँगै पाँच राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्।

नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्ने लागेका हुन्। यस प्रतियोगितामा सबैभन्दा बलियो प्रतिद्वन्द्वी भारत हो। गत मेमा मात्र फिलिपिन्समा सम्पन्न एभिसी वुमन्स च्यालेन्ज कपमा भारतले प्रभावकारी प्रदर्शन गरेको थियो।

१० राष्ट्र सहभागी च्यालेन्ज कपमा पाँचौं भएको भारतले समूहचरण र प्लेअफमा गरेर इरानलाई दुई पटक हराएको थियो। इरानविरुद्ध भारतले दुवै खेल सोझो सेटमा आफ्नो बनाएको हो। त्यसैले भारतले बिहीबारदेखि सुरु हुने काभा महिला नेसन्स लिगमा सबैभन्दा बलियो दाबेदार हो। इरानले पनि च्यालेन्ज कपमा राम्रो प्रदर्शन गरेको थियो।  

उक्त प्रतियोगितामा छैटौं भएको टोली हो इरान। नेपालका लागि भारतसँगै इरान कठिन प्रतिद्वन्द्वी हुन्। यद्यपि, नेपालका प्रशिक्षक जगदीश भट्ट भारत, इरान र श्रीलंका नेपालभन्दा केही मात्र माथि रहेको र तयारीअनुरूप आफ्ना खेलाडीले खेले नतिजा सुखद आउने विश्वास गर्छन्। नेपालले यो उपाधि जित्नका लागि झन्डै दुई महिनादेखि तयारी गरेको छ। 

प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ। यद्यपि, ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन। नेपाली महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले रसियासँग खेलले टोलीको आत्मविश्वास बढेको बताइन्।

लामो समयदेखि प्रशिक्षणसँगै रसियाविरुद्धको खेल काभाको तयारीका लागि महत्त्वपूर्ण रहेको कप्तान अरूणाको भनाइ छ। ‘सुरुको खेलमा रसियासँग रिसिभ र डिफेन्समा केही समस्या भए। त्यसलाई क्रमिक रूपमा सुधार गर्‍यौं। बलियो टोलीविरुद्ध हामीले राम्रो चुनौती दिएका थियौं। त्यसले आत्मविश्वास बढेको छ,’ अरूणाले भनिन्। अरूणाले काभा महिला नेसन्स लिगको तयारी धेरै राम्रो भएकाले उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताएकी छन्। उपाधि जित्ने लक्ष्यमा त्यहीअनुरूप मिहिनेत पनि गरेको उनको भनाइ छ। यद्यपि, प्रतिद्वन्द्वी बलिया र अनुभवी भएकाले लक्ष्य सहज नरहेको पनि उनले स्वीकार गरिन्।

घरेलु समर्थकका साथले टोलीका लागि मनोबल बढ्ने उनको विश्वास छ। ‘रसियाका खेलाडीलाई हाइट एडभान्टेच थियो। उनीहरूको सर्भिस रिसिभ गर्न सुरुमा गाह्रो भयो। त्यसमा हामीले अहिले मिहिनेत गरेका छौं। उनीहरूको अग्लो ब्लकमा पनि अंक पाएका थियौं र त्यो हाम्रा लागि सकारात्मक पक्ष हो,’ अरूणाको बुझाइ छ। रसियाविरुद्धको खेलले भारत, श्रीलंका र इरानजस्ता बलिया टोलीसँग खेल्न मद्दत पुग्ने अरूणाले बताइन्। महत्त्वपूर्ण स्पाइकर प्रतिभा माली नेपाल टोलीमा हुने छैनन्। उनी चोटका कारण लामो समयदेखि मैदानबाहिर छिन्।

यद्यपि, भएका खेलाडीबाट नै आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास भइरहेको कप्तानको भनाइ छ। ‘उनी राम्री खेलाडी हुन्। अहिले हामीसँग जे छ त्यहीबाटै उत्कृष्ट खोजिरहेका छौं,’ अरूणा भनिन्। नेपाली टोलीकी अनुभवी स्पाइकर सरस्वती चौधरीले पनि भारत, इरान र श्रीलंका निकै बलियो टोली रहेको र उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित्ने विश्वास व्यक्त गरिन्। 

भारतसँगको यसअघिका शृंखलाबद्ध हारको बदला लिने सरस्वतीको उद्देश्य छ। ‘भारतविरुद्ध राम्रो खेल खेल्दा पनि हार्दै आएका छौं। हामीले ३–२, ३–१, ३–० ले नतिजा गुमाउँदा पनि भारतलाई कडा चुनौती दिइरहेका छौं। जसरी पनि भारतलाई जित्ने धोको छ। यस पटक पूरा गर्छौं भन्ने विश्वास छ,’ उनले भनिन्।

भारतबाट खेल्ने तीन महत्त्वपूर्ण खेलाडी नेपालको घरेलु लिग पनि खेल्ने गर्छन्। उनीहरू सम्मिलित एभरेस्ट भलिबल क्लबबाट नेपालकी कप्तान अरूणा शाहीले पनि खेलेकी थिइन्। उनीहरूले कसरी खेल्छन् भन्नेबारे जानकारी रहेकाले त्यसको फाइदा मिल्ने अरूणाको विश्वास छ। यता, सरस्वतीले पनि भारतीय खेलाडीसँग घरेलु लिग नै खेलेकाले केही मनोबल बढ्ने अपेक्षा गरेकी छन्। नेपालका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँगको खेलले टोलीमा आत्मविश्वास बढेको बताए।

काभा महिला भलिबलमा नेपालले पाएको सफलतालाई जोगाइराख्न चुनौती रहेको भट्टको भनाइ छ। यद्यपि, त्यो चुनौतीलाई आफ्ना खेलाडीले अवसरमा बदल्ने उनमा आशा छ। अहिले खेलाडीमा राष्ट्रिय टोलीबाट खेल्दा सबै पायौंभन्दा पनि उपाधि जित्नुपर्छ भन्ने मनोविज्ञान रहेकाले त्यो जितको आधार बन्न सक्ने प्रशिक्षक भट्टको विश्वास छ। उनले भारत, इरान, श्रीलंका र नेपालको स्तरमा धेरै फरक नरहेको पनि उल्लेख गरे। त्यसैले तयारी र रणनीतिअनुरूप खेल्न सके उपाधि टाढा नजाने उनी बताउँछन्।

टोलीमा रहेका १४ जना खेलाडी नै अंक दिलाउन महत्त्वपूर्ण हुने गरी तयारी भइरहेको प्रशिक्षक भट्टले बताए। नेपालले मैत्रीपूर्ण खेल र काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरेको थियो। अरूणाको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो। टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी छन्। लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ टोलीमा छन्।

मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले रसियासँगको खेलअगाडि नेपाली टोलीमा स्थान बनाएका थिए। यी दुईले रसियासँग प्रभाव छाडे। कप्तान अरूणाले नयाँ खेलाडीले राम्रो गर्दै जानु नेपालका लागि सुखद पक्ष रहेको बताइन्।

प्रकाशित: १५ श्रावण २०८१ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App