६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

युरोकप र कोपा अमेरिका २०२४ मा रेकर्ड नै रेकर्ड

फुटबल खेलमा विश्वकपपछि सर्वाधिक चासोको प्रतियोगिता हो– युरो च्याम्पियनसिप। युरोकपको सत्रौं संस्करण १४ जुनदेखि १४ जुलाईमा आयोजना भयो। आयोजक राष्ट्रको निक्र्यौल २७ सेप्टेम्बर २०१८ मा भएको थियो। यसअघि १९८८ मा तत्कालीन पश्चिम जर्मनीमा तथा युरो २०२० का चार खेलहरू जर्मनीमै भएको हिसाबले जर्मनीमा तेस्रोपटक आयोजना भएको मान्न सकिन्छ। यस पटकका १० रंगशालाहरूमध्ये तत्कालीन पूर्वी जर्मनीको एक मात्र रंगशाला (लाइपजिग) समावेश थियो। इङ्गल्यान्डलाई टाइब्रेकरमा पराजित गरी युरो २०२० को साबिक विजेता इटाली प्रिक्वार्टरफाइनल स्विट्जरल्यान्डबाट पराजित भयो भने आयोजक जर्मनी पनि क्वार्टरफाइनलमा स्पेनबाट पराजित भयो।

प्रतियोगिताका २४ टोलीमध्ये आयोजक राष्ट्रबाहेक २० टोली युरोपेली छनोट प्रतियोगिताका शीर्ष दुई टोली सिधै छनोट भएका तथा बाँकी तीन टोली २०२२–२३ युरोपेली नेसन्स लिगका बाँकी रहेका टोलीहरूमध्ये उत्कृष्ट तीन स्थान हासिल गरेकाबाट छनौट भएका थिए।

 अल्बानिया र रोमानिया युरो २०१६ पछि मात्र छनौट हुन सफल भएका थियो भने सर्बिया (मोन्टेनेग्रोबाट छुट्टिएपछि पहिलो पटक) र स्लोभेनिया युरो २००० पछि छनौट भएको थियो। जर्जियाले प्लेअफमा ग्रिसलाई हराएर १९९१ मा सोभियत संघबाट स्वतन्त्रपछि पहिलोपटक युरो च्याम्पियनसिप सुरु भएपछि (१९६०) पछि पहिलोपटक एउटा मात्र टोली नवप्रवेशीका रूपमा सहभागी थियो।

यसपटक आत्मघाती गोलहरू धेरै भए-१० गोल। र, हाफटाइम अघि र खेल सकिनुअघिको इन्जुरी समयमा मात्र १५ गोल भए, त्यसमध्ये केही त निर्णायक पनि। समूह चरणमा इटालीका जाकाग्नीले क्रोएसियाविरुद्ध प्रिक्वाटर फाइनलमा इङ्गल्यान्डका बेलिङघमले स्लोभाकियाविरुद्ध गरेको गोल (उक्त बराबरी गोल गरेकै कारण खेल अतिरिक्त समयमा गयो भने कप्तान ह्यारी केनले निर्णायक गोल गर्न सफल भए) निर्णायक एवं चर्चायोग्य छ।

हंगेरीका केभिन सोबोथले स्कटल्यान्डविरुद्ध अचाक्ली नै गरे। उनले निर्धारित समयपछि थपिएको १० मिनेटमा गोल गरेका थिए। भलै त्यस खेलमा हंगेरीले जित हात पारे पनि अर्को चरणमा प्रवेश पाउन काफी भएन।

समूह ‘ई’का सबै टोलीको समान ४ अंक भए पनि उक्त समूहमा युक्रेन चौथो भएका कारण प्रिक्वार्टरफाइनलमा पुग्न सकेन, जबकि समूह चरणबाट उत्कृष्ट तेस्रो स्थान हासिल गरी अगाडि बढेका नेदरल्यान्ड, जर्जिया, स्लोभाकिया र स्लोभेनियामध्ये स्लोभेनियाको ३ अंक मात्र थियो।

यो पटक इङ्गल्यान्डले युरो २०१६ मा पोर्चुगलकै नियति भोग्यो। त्यस बेला समूह ‘एफ’मा रहेको पोर्चुगलले उत्कृष्ट तेस्रो स्थान हासिल गर्नेमध्ये एक भएर प्रिक्वार्टरफाइनलमा पुगेको भए पनि प्रि–क्वार्टरफाइनलमा अतिरिक्त समयमा क्रोएसियालाई, क्वार्टरफाइनलमा पोल्यान्डलाई समान एक गोलको बराबरी भएपछिको पेनाल्टी सुटआउटमा तीन गोलका विरुद्ध पाँच गोलले तथा सेमिफाइनलमा वेल्सलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा फ्रान्सलाई पनि हराउन सफल भयो।

यसपटक इङ्गल्यान्ड समूह ‘सी’को समूह विजेता भई प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्‍यो भने त्यहाँ स्लोभाकियालाई अतिरिक्त समयमा तथा क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई समान एक गोलको बराबरी भएपछिको पेनाल्टी सुटआउटमा पराजित गर्‍यो। सेमिफाइनलमा नेदरल्यान्डलाई एकका विरुद्धले दुई गोलले पन्छाई फाइनलमा पुगे पनि फाइनलमा पोर्चुगलले भैंm सफलता प्राप्त गर्न सकेन।

प्रि–क्वार्टरफाइनलमा इङ्गल्यान्ड र स्लोभाकियाबीचको खेल अतिरिक्त समयमा, पोर्चुगल र स्लोभेनियाविरुद्धको खेल अतिरिक्त समयपछि टाईब्रेकरबाट निर्णित भयो। क्वार्टरफाइनलमा स्पेन र जर्मनीबीचको खेल अतिरिक्त समयमा गयो भने पोर्चुगल र फ्रान्स एवं इङ्गल्यान्ड र स्विट्जरल्यान्डबीचको खेल अतिरिक्त समयपछिको टाईब्रेकरबाट निर्णित भयो।

कीर्तिमान

स्पेनका लामिन यामल युरो इतिहासमै सर्वाधिक कान्छा खेलाडी बने। क्रोएसिया विरुद्ध खेल्दा १६ वर्ष ३३८ दिनका थिए। यसअघि पोल्यान्डका कास्पर कोलोस्कीको १७ वर्ष २४६ दिन (युरो २०२० मा) रेकर्ड थियो। फ्रान्सविरुद्ध गोल गर्दा १६ वर्ष ३६२ दिनका उनी युरो च्याम्पियनसिपमा सर्वाधिक कान्छा गोलकर्ता बने। यस अघि स्विट्जरल्यान्डका योहान भोन्लान्थेनको १८ वर्ष १४१ दिनको रेकर्ड थियो (२००४ मा)।

पेलेको रेकर्ड पनि भङ्ग गरी यामलले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल्ने सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान राखे। नाबालक भएकै कारण जर्मनीको नियमअनुसार यामलका लागि जरिबाना तिर्नुपर्ने एवं पूरै अवधि खेलाउन नमिल्ने भएको थियो।

फ्रान्सविरुद्ध क्वार्टरफाइनल खेलेका पोर्चुगलका पेपे सर्वाधिक पाका खेलाडी (४१ वर्ष १३० दिन) बने। यसअघि उक्त कीर्तिमान बेल्जियमविरुद्ध खेलमा हंगेरीका गोलरक्षक गाबोर किराली ४० वर्ष ८६ दिन (२०१६ मा) को थियो। इटाली विरुद्धको खेलमा क्रोएसियाका लुका मोड्रिच सर्वाधिक पाका गोलकर्ता (३८ वर्ष २८९ दिन) बने। यसअघि उक्त रेकर्ड पोल्यान्डविरुद्धको खेलमा अस्ट्रियाका इभिका भास्टिच (३८ वर्ष २५७ दिन) को (२००८ मा) थियो। पोर्चुगलका क्रिस्चियानो रोनाल्डोको छैटौं सहभागिताको पृथक् रेकर्ड बन्यो।

अल्बानियाका नेदिम बाजरामीले इटालीविरुद्ध खेल सुरु भएको केवल २३ सेकेन्डमै गोल गरी सर्वाधिक छिटो गोल गर्ने खेलाडीको रेकर्ड राखे। यस अघि ६७ सेकेन्डको कीर्तिमान रसियाका दिमित्री किरिचेन्को (२००४) थियो तर यसै प्रतियोगितामा टर्कीका मेरिह देमिरालले अस्ट्रियाविरुद्ध ५८ सेकेन्डमा गोल गरेर उनलाई तेस्रो स्थानमा झारिदिए।

समूह ‘एफ’अन्तर्गतको चेक र टर्कीबीचको खेलमा युरो च्याम्पियनसिपकै सर्वाधिक कार्ड १९ कार्ड (चेक ७ र टर्की १२) देखाइए। यसअघि फ्रान्स र पोर्चुगलबीचको खेलमा १० कार्ड (२०१६ मा) देखाइएको थियो। प्रि–क्वार्टरफाइनलमा स्लोभेनियाविरुद्ध पोर्चुगलका गोलरक्षक डियगो कोस्टाले तीन वटा बचाउ गरे भने स्लोभेनिया सबै पेनाल्टी मिस गर्ने पहिलो राष्ट्र बन्यो। २ जुलाईमा अस्ट्रिया र टर्कीबीचको खेलमा दुई गोल गरेका मेरिह देमिरालको गोल सेलेब्रेसन  विवादस्पद भयो।

यस प्रतियोगिताको मस्कटको नाम अल्बार्ट (टेडी बियर) थियो भने म्याच बल एडिडासद्वारा निर्मित फुसबल लिइबे (जर्मन भाषामा प्रिय फुटबल) थियो। प्रतियोगिताभरि कुल ५१ खेलमा प्रतिखेल २.१७ गोलले ११७ गोल भए। अघिल्लो युरो च्याम्पियनसिपमा प्रतिखेल २.७८ को दरले जम्मा १४२ गोल भएका थिए।

व्यक्तिगत रूपमै एउटै खेलाडीले धेरै गोल गर्न सकेनन्, अतः ६ जना खेलाडी (ह्यारी केन, जर्जेज मिकाउटाडजे, यामाल मुसियाला, कोडी ग्याक्पो, इभान स्क्रान्ज, डानी ओल्मो) ले सर्वाधिक ३ गोल गरे। युरो २०२० मा पोर्चुगलका क्रिश्चियानो रोनाल्डो र चेक गणतन्त्रका प्याट्रिक सिक प्रत्येकले सर्वाधिक ५ गोल गरेका थिए।

युरो २००८ मा जस्तै स्पेनले दोस्रोचोटि समूह चरण र नकआउट चरणका सबै खेल जिते। फ्रान्सले १९८४ र इटालीले २०२० मा यसैगरी सबै खेल जितेका थिए। स्पेन एक्लो यस्तो युरोपियन टिम बन्यो, सात खेल जित (पेनाल्टीको सहयोगबिनै) हात पार्‍यो। १९८४ मा फ्रान्सले पनि जितेको थिए तर पाँच खेल मात्र। स्पेनले सर्वाधिक १५ गोल गरेको थियो, त्यो पनि फरक फरक १० खेलाडीले। त्यसो त फ्रान्सले १९८४ मा १४ गोल गरेको थियो।

पहिलो खेलमै जर्मनीविरुद्ध स्कटल्यान्डका रायन पोर्टियस, टर्की विरुद्धको खेलमा चेकका टोमास चोरी र क्वार्टरफाइनलमा नेदरल्यान्डविरुद्ध टर्कीका बेरट्युग इल्डिरिम र प्रि–क्वार्टरफाइनलमा चेकका म्यानेजर मात्जाज केकले रेडकार्ड पाए।

फाइनल खेलको अन्तिम क्षणमा पोस्टभित्र छिरि नै सकेको रिबाउन्स बललाई डानी ओल्मोले गरेको बचावट कसरी बिर्सन सकिन्छ र?

अर्जेन्टिनालाई फापेको कोपा अमेरिका

४८ औं संस्करणको कोपा अमेरिका जुन २० देखि १४ जुलाईसम्म आयोजना भयो। यो प्रतियोगिता अमेरिकामा दोस्रोपटक आयोजना भएको थियो। यसअघि २०१६ मा दक्षिण अमेरिकाबाहिर नै पहिलोपटक अमेरिकामा कोपा अमेरिका सेन्टेनारियो (१०० शतक वर्ष) आयोजना भएको थियो।

यस प्रतियोगितालाई २०२६ विश्वकपको तयारीका रूपमा पनि लिइएको थियो। अतः कोनमेबोलको प्रतियोगिता भए पनि यसपटक कोनकाकाफ सहआयोजकका रूपमा थियो। त्यसैले पनि कन्काकाफ २०२३–२४ को नेसन्स लिगमा उत्कृष्ट ६ टोली यसपटक पाहुना टोलीका रूपमा सहभागी थिए।

१४ वटा रंगशालामा ३१ खेल खेलाइएका थिए। उस प्रतियोगिताको मस्कट क्यापिटान (इगल) थियो भने म्याचबल यसपटक पुमाको कुम्बे्र थियो। प्रतियोगिताभरि ३२ खेल ७० गोल (२.१९ गोल प्रतिखेल) भए।

समूह चरण ब्राजिलको अनपेक्षित प्रदर्शनबाहेक त्यति उल्लेख्य भएन। समूहचरणका शीर्ष टोलीका प्रशिक्षक अर्जेन्टिनाकै थिए, समूह ‘ए’ मा अर्जेन्टिना (लियोनेल स्कोलानी), ‘बि’मा भेनेजुयला (फर्नान्डो बटिस्टा), ‘सी’मा उरुग्वे (मार्सेलो बिइल्सा), ‘डी’मा कोलम्बिया (नेस्टर लोरेन्जो)। यसबाहेक कोस्टारिकामा गुस्टाभो अल्फारो र चिलीमा प्रशिक्षक रिकार्डो गारेका पनि अर्जेन्टिनाकै थिए।

क्वार्टरफाइनलमा इक्वेडरका केभिन रोड्रिगेजले इन्जुरी समय (९०+२ मिनेट) मा बराबरी गोल फर्काएका कारण भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले दुईका विरुद्ध चार गोलले बाजी मार्‍यो। दोस्रो क्वार्टरफाइनल पनि निर्धारित समयसम्मको एक गोलको बराबरीपछि पेनाल्टी सुटआउटबाटै क्यानडाले भेनेजुयलालाई सडन डेथलमा तीनका विरुद्ध चार गोलले पराजित गर्‍यो। तेस्रो क्वार्टरफाइनल चाहिँ एकपक्षीय कोलम्बियाले पानामालाई शून्यका विरुद्ध पाँच गोलले हरायो भने चौथो क्वार्टरफाइनल उरुग्वेले ब्राजिललाई दुईका विरुद्ध चार गोलले पराजित गर्‍यो।

सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई सजिलै शून्यका विरुद्ध दुई गोलले र अर्को खेलमा कोलम्बियाले उरुग्वेलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्‍यो। उक्त खेलपछि उरुग्वेका डार्बिन नुनेजले कोलम्बियन दर्शकमाथि जाई लागेका कारण निकै विवाद भयो।

तेस्रो स्थानका लागि भएको खेलमा दुई गोलको बराबरीपछिको पेनाल्टीमा तीनका विरुद्ध चार गोलले कोलम्बियाले उरुग्वेलाई हरायो। निर्धारित समयको इन्जुरी समयमा बराबरी गोल फर्काएका उरुग्वेका सुआरेजले पेनाल्टी सुटआउटमा पनि उरुग्वेका तर्पmबाट अन्तिम गोल गरी  हिरो बने।

मध्यान्तरमा साकिराको सांगीतिक प्रस्तुति कोलम्बियाका प्रशिक्षक नेस्टर लोरेन्जोले आलोचना गरे। फाइनलमा अतिरिक्त समयको ११२ औं मिनेटमा एक मात्र गोल गरेका लाउटारो मार्टिनेज प्रतियोगिताभरिकै सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट पाए। अर्जेन्टिनाका इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक भए। कोलम्बियाका हामेस रोड्रिगेज उत्कृष्ट खेलाडी साबित भए भने कोलम्बियाले फेयर प्ले पनि पायो।

रफ खेलका लागि चर्चित छ कोपा अमेरिका। त्यसैले पहेँलो एवं रेडकार्ड धेरै देखाइन्छन् कोपा अमेरिकामा। प्रतियोगिताभरि नौ वटा रेडकार्ड देखाइए। इक्वेडरविरुद्धको खेलमा जमैकाका कासे पाल्मरले यस प्रतियोगिताको एउटा मात्र आत्मघाती गोल गरे।

साबिक विजेता अर्जेन्टिना नै विजेता बन्यो। यसअघि उरुग्वे (१९१६–१७, १९२३–२४, १९८३–८७), अर्जेन्टिना (१९२८–२९, १९४५–४७ (ह्याट्रिक), १९५८–५९, १९९१–९३), ब्राजिल (१९९७–९९, २००४–०७) र चिली (२०१५–१६) ले पनि ब्याक टु ब्याक जितेका थिए। लियोनेल मेसीप्रेरित अर्जेन्टिनाका लागि २०१४, २०१५ र २०१६ को वर्ष दुर्भाग्यपूर्ण भए पनि पछिल्ला चार वर्ष फलिफाप भयो। स्पेनले २००८ देखि २०१२ मा ब्याक टु ब्याक युरो–फिफा–युरो जितेजस्तै अर्जेन्टिनाले पनि यस पटक कोपा–फिफा–कोपा जित्यो।  

प्रकाशित: ५ श्रावण २०८१ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App