४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

मच्छिन्द्रको सुखद संकेत

एन्फा यु–१६ लिग विजेता मच्छिन्द्र क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विजयी सुरुआत गर्दै सुखद संकेत गरेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार दोस्रो खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै यु–१८ युथ लिगमा सुखद सुरुआत गरेको हो। मच्छिन्द्रले गत माघमा मात्र एन्फा यु–१६ युथ लिगको उपाधि उचालेको थियो। 

लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई नै हराउँदै मच्छिन्द्रले उपाधि उचालेको हो। मच्छिन्द्रले आर्मीलाई नै हराउँदै १२ टोली सम्मिलित डबल राउन्ड रोबिनको यु–१८ लिगमा पनि सुखद सुरुआत गरेको छ। मंगलबारकै पहिलो खेलमा मनाङ मस्र्याङ्दीले पनि संकटा क्लबमाथि समान १–० को जित निकाल्दै सुखद सुरुआत गरेको छ।

विशाल चन्दले पहिलो हाफमा गरेको गोल नै मनाङको जितका लागि पर्याप्त भयो। उनले ४०औं मिनेटमा गोल गरेका थिए। माइकल थापाले लेफ्ट साइडबाट दिएको पास नियन्त्रणमा लिँदै उनले पेनाल्टी बक्सबाट गोल गरेका हुन्। दोस्रो हाफमा दुवै तर्पmबाट प्रयास भए पनि गोल सम्भव भएन र मनाङले साँघुरो जित निकाल्यो। 

यससँगै संकटाले हारबाट यस संस्करणको सुरुआत गरेको छ। दिनको दोस्रो खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई निरास पार्‍यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर, दोस्रो हाफमा आर्मीका चार डिफेन्डरका बीच मच्छिन्द्रले गोल गर्दै अग्रता लियो।

७९औं मिनेटमा कविर तामाङले गरेको गोल नै निर्णायक बन्यो । भूपेन्द्र धरालाले दिएको थ्रु पास नियन्त्रणमा लिँदै उनले चार डिफेन्डरका बीच उत्कृष्ट गोल गरेका थिए। गत सहिद स्मारक ‘ए’ डिभिजन लिगका १२ क्लबका टोलीले यु–१८ लिग खेलिरहेका छन्। 

आइतबारदेखि सुरु भएको यु–१८ लिगमा एनआरटी, खुमलटार र नेपाल पुलिस क्लबले सुखद सुरुआत गरेका छन् भने जावलाखेल र एपिएफले १–१ को गोलको बराबरी नतिजा सामना गरेका छन्। 

यस लिगको विजेताले एक लाख र उपविजेता ५० हजार रूपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले पनि समान १५ हजार रूपैयाँ पाउने एन्फाले उल्लेख गरेको छ । 

प्रकाशित: २ श्रावण २०८१ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App