२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्यारेबियन लिगमा रोहित र दीपेन्द्र

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को फ्रेन्चाइज लिग खेल्ने भएका छन्। दुवै खेलाडीले क्यारेबियन क्रिकेट लिग खेल्ने भएका हुन्।

टी–१० फर्म्याटमा हुने यो लिग अगस्ट  १८ देखि २५ सम्म केम्यान आइल्यान्डमा हुने भएको छ। रोहित मियामी लायन्सबाट खेल्नेछन्। यो टोलीमा ड्वेन ब्राभो ‘आइकन’ खेलाडी रहेका छन्। टोलीमा शोएब मलिक, कोरी एन्डरसनजस्ता स्टार खेलाडीहरू पनि छन्।

त्यस्तै, दीपेन्द्रलाई ग्रान्ड केम्यान स्टिङ्रेजले भित्र्याएको छ। यो टोलीका ‘आइकन’ खेलाडी एलेक्स हेल्स हुन्। टोलीमा रोबिन उथप्पा, मिचेल म्याक्लेनाघन लगायत खेलाडी छन्। प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ। डेभिड वार्नर, सिकन्दर रजा, एलेक्स हेल्स, ड्वेन ब्राभो र थिसारा परेरा पाँच फरक टोलीका आइकन खेलाडी हुन्।

त्यसअघि रोहित र दीपेन्द्रले जुलाई  २५ देखि अगस्ट १० सम्म हुने ग्लोबल टी–ट्वान्टी लिग क्यानडामा सहभागिता जनाउनेछन्। रोहित टोरन्टो नेसनल्समा अनुबन्धित भएका छन्। सन् २०१९ जनवरी ३१, मा दुबईमा घरेलु टोली संयुक्त अरब इमिरेट (युएई)विरुद्ध भएको तीन खेलको ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामार्फत नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले कुनै विदेशी लिगको अनुभव बटुल्न पाएका छैनन्। यही लिगमार्फत उनी विदेशी लिगमा डेब्यु गर्ने तयारीमा छन्। दीपेन्द्रले भ्यानकुभर नाइट्सबाट ग्लोबल टी–ट्वान्टी लिग खेल्नेछन्।

दीपेन्द्रको भने यो दोस्रो संस्करण हुनेछ। उनले पहिलो सहभागितामै मन्ट्रियल टाइगर्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलका थिए। यो लिग खेलेपछि उनीहरू क्यारेबियन फ्रेन्चाइज लिग खेल्न जाने सम्भावना छ।

दीपेन्द्रले यी दुईबाहेक स्कटल्यान्डको फ्रेन्चाइज क्रिकेट लिग स्कटिस सुपर टी–१० पनि खेल्नेछन्। क्रिकेट स्कटल्यान्डले अगस्ट १६ देखि ३१ सम्म गर्न लागेको लिगमा दीपेन्द्र पर्थ रोयल्समा अनुबन्धित भएका छन्। यस्तै, गल्फ जायन्ट्सबाट युएईको इन्टरनेसनल लिग  ट्वान्टी–२० पनि खेल्नेछन्।

प्रकाशित: ३१ असार २०८१ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App