१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

फेरि चुक्यो इङ्ग्ल्यान्ड, स्पेनले उचाल्यो युरो कपको उपाधि

युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ। दोस्रो हाफमा इङ्ग्ल्यान्डलाई पराजित गर्दै स्पेनले १२ वर्ष पछि कीर्तिमानी उपाधि उचालेको हो।

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा आज सम्पन्न खेलमा स्पनले इङ्ग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट उपाधि जितेको हो। युरो कपमा लगातार दोस्रो पटक फाइनल पुगेर पनि इङ्ग्ल्यान्ड उपाधिबाट चुकेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। अनमार्क रहेका उनले डी बक्स बाहिरबाट लामिन यमलले दिएको पासमा गोल गरेका हुन्। तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन। ७३औं मिनेटमा जुड बेलिङ्घमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङ्ग्ल्यान्डलाई खेलमा फर्काए।

यद्यपि, स्पेनले ८६औं मिनेटमा खेलमा फर्कियो। काइल वाकरलाई बिट गर्दै मार्क कुकुरेलाले दिएको पासमा गोल गर्दै माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए।

स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो। त्यसपछि स्पेन तीन सिजन छनोट हुन सकेन। १९८४ मा फाइनलमा पराजित भएको स्पेनले दोस्रो उपाधि जित्न २४ वर्ष कुर्न परेको थियो।

स्पेनले २००८ मा स्विट्जरल्यान्ड आयोजित प्रतियोगितामा जर्मनीलाई पराजित गरेको थियो। त्यसको चार वर्षपछि पोल्यान्ड र युक्रेनले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा इटालीलाई पराजित गर्दै स्पेन तेस्रोपल्ट च्याम्पियन बनेको थियो।

त्यसयताका दुई संस्करणमा सेमिफाइनल पार गर्न नसेकको स्पेनले यसपटक भने उपाधि उचालेको हो।

प्रकाशित: ३१ असार २०८१ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App