२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
खेल

गण्डकीमा खेलाडी पुरस्कृत

गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कृत गरिएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई नगदसहित पुरस्कृत एवं सम्मान गरेको हो। बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ सिल्ड र यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका विजेता एक सय ७८ जनालाई पुरस्कृत गरिएको हो।

खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषद्का संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रालयका सचिव प्रकाश पौडेल, सदस्यसचिव श्रीधर शर्मालगायतले पुरस्कृत तथा प्रशंसापत्रले सम्मान गरेका थिए।

पुरस्कृत हुने खेलाडीमध्ये व्यक्तिगत इभेन्टतर्फ स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः सात, पाँच र तीन हजार रूपैयाँ प्रदान गरिएको थियो। टिम गेम्स तर्फकालाई क्रमशः पाँच, तीन र दुई हजार रूपैयाँले पुरस्कृत गरिएको थियो।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नो सीमित स्रोतहरूको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको बताए।

‘गण्डकी प्रदेश सरकार खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीहरूको जीवन स्निश्चित गर्न प्रयासरत छ। सरकारले युवा अवस्थाबाटै उत्प्रेरणा जगाउन धेरै कार्यक्रमहरू अघि सारेको छ। जसको अधिकतम सदुपयोग गर्दै खेलक्षेत्रको विकासमा अघि बढनुपर्छ,’ उनले भने।

खेलकुद क्षेत्रबाट अझै पनि जीविकोपार्जन विषयमा प्रश्नहरू यथावत् रहेको धारणा अघि सार्दै उनले त्यसतर्फ वातावरण बनाउनसमेत प्रदेश सरकार प्रयासरत रहेको बताउँदै गाउँगाउँबाट नै युवा खेलाडी उत्पादन हुने मूल थलो भएकाले त्यसतर्फ पनि आफ्ना योजनाहरू अघि बढाउने बताए। प्रदेश सरकारले मुस्ताङमा हाई अल्टिच्युड खेलमैदानको निर्माण कार्य अघि बढाएको उनले जानकारी दिए।

स्वास्थ्यमन्त्री थापाले खेलकुदबाट नै भविष्य छ भन्ने विषय अहिलेको प्राथमिकतामा रहेको बताए। त्यसैले तीन तहबीचको सरकार खेलकुद विकासमा अघि बढेको उनको भनाइ थियो। 

प्रकाशित: ३० असार २०८१ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App