४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

चर्चाको चुलीमा मेसी र बेबी यमलको तस्बिर

फुटबल स्टार लियोनल मेसी र उदाउँदा स्टार यमलको पुरानो तस्बिरले सामाजिक सन्जाल तातिएको छ।

सन् २००७ ताका अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसीले बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा एउटा च्यारिटी क्यालेन्डर फोटोसुटका लागि एक बच्चासँग पोज दिएका थिए। त्यतिबेला मेसी २० वर्षका थिए र उनी फुटबलका तारा भइसकेका थिए। उनी ‘सर्वकालीन महान्’ खेलाडी बन्ने बाटोमा अगाडि बढ्दै थिए।

१६ वर्षअघि मेसीको काखमा रहेको ती बालकले पनि एक दिन फुटबलको दुनियाँमा ख्याति कमाउनेछन् कल्पना कमैले गरेका थिए।

विश्वव्यापी रूपमा भाइरल बनेको उक्त तस्बिरमा मेसीले स्पेनिस खेलाडी लामिन यमललाई काखमा राखेको देखिन्छ।

यी तिनै बालक हुन्, जो हाल भइरहेको युरो कपमा क्रममा सेमिफाइनलमा गरेको एक गोलका कारण सम्पूर्ण विश्व फुटबल जगत्मा लोकप्रिय बनेका छन्। च्याम्पियनसिपको सेमिफाइनलमा फ्रान्सविरुद्धको उनको गोलको चर्चा आउँदो दशकसम्म हुने देखिएको छ।

१६ वर्ष ३६२ दिनको उमेरका यमल युरो कपको इतिहासमा सबैभन्दा कान्छा गोलकर्तासमेत बनेका छन्।

यमलका बुबाले मेसी र यमलको यो तस्बिर इन्स्टाग्राममा सेयर गर्दै लेखेका छन्, ‘दुई महान् व्यक्तिको सुरुआत।’

ती फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका हुन्। बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले स्पेनको मातारो सहरमा च्यारिटी चिट्ठा आयोजना गरेको बेला यो फोटोसुट गरिएको उनले बताए। लामिनको परिवार त्यति बेला त्यहीं बस्थ्यो।

‘परिवार क्याम्प नोउमा आयोजित परोपकारी लट्रीमा भाग लिइरहेको थियो, जहाँ मैले मेसीसँग यमलको यो फोटो खिचेको थिएँ ’ फोटोग्राफर मोनफोर्ट भन्छन्। मेसी लजालु व्यक्ति भएकाले फोटोग्राफर मोनफोर्ट त्यो जिम्मेवारी त्यति सजिलो नभएको बताउँछन्।

‘मेसी लकर कोठाबाट बाहिर निस्कँदै थिए र संयोगवश अर्को लकर कोठामा पसे, जहाँ प्लास्टिकको टबमा पानी भरिएको थियो। त्यसमा एक बच्चा थियो। मेसीलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन।’

त्यो अवसरमा खिचिएका केही तस्बिरमा मेसीसँगै यमलकी आमा पनि देखिन्छिन्।

मेसीजस्तै, यमलले पनि बार्सिलोना क्लबबाट फुटबल खेले, जहाँ उनी क्लबका सबैभन्दा कान्छा गोलकर्ता बने। उनी स्पेनिस लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन्।

फोटोग्राफर मोनफोर्टले गत साता तस्बिर भाइरल हुन थालेपछि मात्र उनले बच्चा यमल भएको थाहा पाएको बताएका छन्।

उनले थपे, ‘यस्तो सनसनी सृजना गरेको कुरासँग जोडिन पाउनु मेरो लागि निकै रोमाञ्चक छ। साँच्चै भन्नुपर्दा यो एकदमै सुखद अनुभूति हो।’

प्रकाशित: २९ असार २०८१ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App