१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

युराे कप २०२४ः फ्रान्सको गोल संघर्ष

पाँच खेलमा एक पेनाल्टी गोल गरेको र दुई आत्मघाती गोल पाएको किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। कुनै पनि टोली गोलका लागि यति धेरै संघर्ष गर्दागर्दै अन्तिम चारमा पुगेको देख्न बिरलै पाइन्छ। अझ फ्रान्सजस्तो टोलीको कप्तानी त विश्वकै उत्कृष्ट फरवार्डले गरिरहेका छन्।

एम्बाप्पेलाई अन्य विश्वस्तरीय खेलाडीले मैदानमा घेर्दै गोल गर्ने अवसर कमै दिएका छन्। त्यसैले पोल्यान्डविरुद्धको समूहचरणको खेलमा फ्रान्सले बराबरी खेल्दा पेनाल्टीमा गरेको गोल नै उनको पहिलो युरो कप गोल बनेको छ।

अन्तिम १६ मा बेल्जियमलाई पराजित गर्दा फ्रान्सले आत्मघाती गोलको सहारा लिनुपरेको थियो। शुक्रबार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलविरुद्ध १२० मिनेट खेले पनि फ्रान्सले कुनै गोल गर्न सकेन। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।

उक्त पेनाल्टी सुटआउटमा पोर्चुगललाई ५–३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्पेनसँगको भेट पक्का गरेको छ। ‘सबैभन्दा महत्त्वपुर्ण कुरा हामीले जित्नु हो। यो प्रतियोगिताअघि धेरै भनिसकेको छु,’ एम्बाप्पे भन्छन्, ‘मैले एक गोल मात्र गरेको छु। तर, हामी सेमिफाइनलमा छौं र म यसमा ज्यादै खुसी छु।’ डिडियर डेसच्याम्प्सले १२ वर्षदेखि फ्रान्सेली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्। यो उनको छैटौं ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

तर, यति धेरै प्रतियोगिता खेल्दा पनि रोमाञ्चक फुटबल खेलाउन नसकेको भन्दै उनी आलोचनाको सिकार भइरहेका छन्। यद्यपि, उनले सधैँ उत्कृष्ट नतिजा हात पारेका छन्। फ्रान्सले उनको प्रशिक्षणमा रूस विश्वकप २०१८ र युइएफए नेसन्स लिग २०२१ जितेको छ। कतार विश्वकप २०२२ को फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा र युरो कप २०१६ को फाइनलमा पोर्चुगलसँग अतिरिक्त समयमा पराजित हुँदै उपविजेता बनेको छ। यो टोलीले गोलका लागि यस पटक संघर्ष गरे पनि पछिल्ला पाँच ठूला प्रतियोगितामा चौथो पटक अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

यसरी नै युरो कपमा फितलो प्रदर्शन गर्दै उपाधि जित्ने टोलीको उदाहरणका रूपमा सम्भवतः ग्रिसलाई लिन सकिन्छ । पोर्चुगलमा आयोजना भएको युरो कप २००० मा ग्रिसले यस्तै कमजोर प्रदर्शन गरे पनि फाइनलमा पोर्चुगललाई पराजित गर्दै उपाधि जितेको थियो। यो प्रतियोगितामा ग्रिसले जम्माजम्मी सात गोल मात्रै गरेको थियो। युरो कपअघि क्यानडासँग भएको मैत्रीपूर्ण खेलमा फ्रान्स गोलरहित बराबरीमा रोकिएको थियो। हुन त फ्रान्सका कुनै पनि खेलाडीले पछिल्ला ६ खेलमा ‘ओपन प्ले’ मा गोल गर्न सकेका छैनन्। यो कीर्तिमानका बावजुद पनि जर्मनीमा ११ गोल गरिसकेको स्पेनविरुद्ध मंगलबार हुने सेमिफाइनलबारे फ्रान्सेली टोली चिन्तित देखिँदैन।

‘म झुट बोल्न चाहन्नँ । ड्रेसिङ रुममा हामीले गोल गर्न सकेनौं भनेर धेरै सोचेका थिएनौं,’ एम्बाप्पेले भने। यद्यपि फ्रान्सका कप्तान यस मुद्दाको केन्द्रमा छन्। अस्ट्रियाविरुद्ध फ्रान्सको पहिलो खेलमा नाक भाँचिएपछि सुरक्षात्मक फेस मास्क लगाउनुपरेका एम्बाप्पेले खराब रेकर्डका साथ प्रतियोगिता खेलिरहेका छन्। खेल दैनिक एल इक्विपले उनलाई पोर्चुगलविरुद्धको प्रदर्शनमा १० मा दुई अंक मात्रै रेटिङ दिएको थियो। उक्त खेलमा उनी १०५औं मिनेटमा मैदानबाट बाहिरिएका थिए र पेनाल्टी सुटआउट बेन्चमा बसेर हेरे।

एन्टोनी ग्रिजमनको लय पनि फ्रान्सका लागि एक समस्या हो। पछिल्ला ३३ अन्तर्राष्ट्रिय खेलमा दुई गोल मात्रै गरेका उनलाई डेसच्याम्प्सले टोलीबाट निकालिहाल्ने सामथ्र्य देखाउन सकेका छैनन् । त्यसैले उनलाई विभिन्न स्थानबाट खेलाउँदै आएका छन्। ‘एन्टोनी र किलियन विभिन्न कारणले उत्कृष्ट लयमा छैनन्। यद्यपि, हाम्रो टोलीमा धेरै प्रतिभावान् खेलाडी छन्। उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। रक्षात्मक रणनीति प्रशंसनीय छ,’ बचाउ गर्दै डेसच्याम्प्स भन्छन्। फ्रान्सले जारी प्रतियोगितामा विपक्षी टोलीलाई अहिलेसम्म एक गोल मात्रै गर्न दिएको छ। त्यो गोल पनि पोल्यान्डका कप्तान रबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गरेका हुन्।

माइक म्यागनन एक असाधारण गोलरक्षक हुन्। उनलाई जुल्स कोउन्डे, थियो हर्नान्डेज, डेयोट उपमेकानो र विलियम सालिबाले राम्रो साथ दिइरहेका छन्। टोलीले डिफेन्समा अत्यधिक भरोसा गर्नु नराम्रो होइन। तर, पुनः आठ वर्षपछि उपाधि जित्न दुई खेल मात्रै टाढा रहेको यो टोलीलाई लक्ष्य भेटाउन गोल गर्न पनि आवश्यक छ। यो कुरा प्रिमियर लिग आर्सनलबाट व्यावसायिक फुटबल खेल्दै आएका सालिबा पनि अस्वीकार गर्न सक्दैनन्। ‘प्रतियोगिता सुरु भएदेखि नै बलियो टोली हुन पाएकोमा हामी भाग्यमानी ठान्छौं। यदि हामीले क्लिन सिट राख्यौं भने हामीसँग खेल जित्ने सम्भावना ९० प्रतिशत हुन्छ। तर, अब गोल गर्न आवश्यक छ र हामी गोल गर्न सक्छौं भन्नेमा मलाई विश्वास छ,’ उनी भन्छन् ।

प्रकाशित: २३ असार २०८१ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App