२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

युरोकप २०२४ः नेदरल्यान्डसले रोमानियासँग खेल्दा टर्कीले अष्ट्रियाको सामना गर्ने

युरोकप २०२४ को प्रिक्वार्टरफाइनलमा मंगलबार राति दुई खेल हुँदै छन्।

राति पौने १० बजे सुरु हुने खेलमा नेदरल्यान्ड्सले रोमानियासँग प्रतिस्पर्धा गर्नेछ। प्रतिस्पर्धा जर्मनीको म्युनिखमा रहेको एलिआन्ज स्टेडियममा हुनेछ।

अहिलेसम्मका १४ अन्तर्राष्ट्रिय भेटमा रोमानियाले डच टोलीविरुद्ध मात्र एक खेलमा जित निकालेका छ। १० मा हार भोगेका उसले ३ खेल भने बराबरीमा रोक्न सफल भएको थियो।

सन् २००८ को युरोकपको एक मात्र भेटमा भने नेदरल्यान्डले २० ले जित निकालेको थियो। सन् २००० को युरोको क्वार्टरफाइनलमा इटलीसँग पराजित भएपछि रोमानियाले पहिलो पटक नकआउट चरणमा स्थान बनाएको हो।

अरेन्ज टोली पनि सन् २००४ को सेमिफाइनलमा पोर्चुगलसँग, सन् २००८ को क्वार्टरफाइनलमा रसियासँग र सन् २०२० को प्रिक्वार्टरफाइनलमा चेक रिपब्लिकसँग पराजित भएको थियो।

समूह 'डी' मा रहेको डच टोली तेस्रो हुने टिमको शीर्ष स्थानमा रहँदै प्रिक्वार्टरफाइनलमा पुगेको हो। समूह 'ई' मा रहेको रोमानिया भने एक खेलमा मात्र जित निकाले पनि चार अंकमा शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो।

टर्कीले अष्ट्रियाको सामना गर्ने

राति पौने एक बजे हुने अर्को खेलमा टर्कीले अष्ट्रियाको सामना गर्नेछ। खेल लाइप्जिङको रेडबुल एरिनामा हुनेछ।

अन्तर्राष्ट्रिय फुटबलका यसअघि १७ पटक भेट भएपनि अष्ट्रिया र टर्की युरोकपमा भने पहिलो पटक आमने सामने हुन लागेका हुन्। आठ वर्षपछि गत मार्चमा भएको यी दुईबीचको खेलमा अष्ट्रियाले ६१ ले बाजी मारेको थियो।

अष्ट्रियाले सन् १९५४ को विश्वकपको नकआउटमा उरुग्वेलाई पराजित गरेपछि अहिलेसम्म कुनै पनि महत्त्वपूर्ण प्रतियोगिताको नकआउट चरणमा जित निकाल्न सकेको छैन।

टर्कीले पनि सन् २००८ को सेमिफाइनलमा जर्मनीसँग पराजित भएपछि अहिलेसम्म युरोकपको नकआउट चरणमा स्थान बनाउन सकेको थिएन।

अष्ट्रिया समूह 'डी' को विजेता र टर्की समूह 'एफ' को उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेका हुन्।

प्रकाशित: १८ असार २०८१ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App