२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन महानगरले दियो ठेक्का

२०७५ साल माघ १६ गते राजधानीको राष्ट्रिय सभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको घोषणा गरिएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका तत्कालीन महामन्त्री शशांक कोइराला सहित उच्च पदस्थ व्यक्तिको  विशेष उपस्थिति समेत थियो।

तर, जति उल्लासपूर्ण वातावरणमा घोषणा गरिए पनि सोचेजस्तो भएन। धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने भनिए पनि बिचमै अलपत्र बन्यो।

अहिले रंगशालाको काम रोकिएको तीन वर्षपछि पुनः सुरु गर्न लागिएको छ। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्यबाट हात झिकेपछि भरतपुर महानगरपालिकाले ठेक्का मार्फत काम सुरु गर्न लागेको हो। ‘रंगशाला निर्माणमा धेरै समस्याले घेरिएको थियो। त्यसलाई कानुनी रुपमा सकाएर तीन तहकै सरकारको अपनत्व हुने गरी निर्माण कार्य अगाडि बढाएका छौँ,’ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भनिन् ‘अहिले ठेक्का भएर निर्माण कम्पनी छनोट भइसेको छ। असार अन्तिम हप्ताबाट काम सुरु हुन्छ।’

आगामी २६ महिना भित्र अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन मिल्ने गरी काम थालिने प्रमुख दाहालले बताइन्। सन् २०२७ मा अन्डर–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपालमा हुँदैछ। सो खेल यहाँ खेल्न मिल्ने गरी काम अगाडि बढाउँछौँ,’ उनले भनिन् ‘यसका लागि सबैको सहयोग आवश्यक छ।’

निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणको काम २०७८ साउन २२ गतेदेखि रोकिएको थियो। बाँकी काम गर्ने जिम्मा हिमालयन कालिञ्चोक बीबीआर जेभीले पाएको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए। रंगशाला निर्माणको लागि दोस्रो पटक निकालिएको टेण्डरमा १२ कम्पनीले हालेका थिए। लो बिलिङको आधारमा बीबीआर छनोट भएको थियो। बीबीआरले ६८ करोड २ लाख ६४ हजार २ सय रुपैयाँ निर्माणको ठेक्का पाएको छ।

भरतपुर महानगरपालिकाले पहिलो चरणको निर्माणका लागि १ अर्बभन्दा बढीको ठेक्का आह्वान गरेको थियो। सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्यारापिट, ड्रेन, २ वटा ३/३ तल्लाको भिआइपी टावरलगायतका संरचनाहरू निर्माण गर्नुपर्ने बताइएको छ। यहाँ ५ हजार जना अट्ने प्यारापिट बनिसकेको छ।

पहिलो चरणमा महानगरपालिकाले २०८० फागुन १७ गते रंगशाला निर्माणको लागि ठेक्का आव्हान गरिएको थियो। एक वटा कम्पनीले मात्र ठेक्का हालेपछि २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार सो  ठेक्का आह्वान रद्द भएको थियो। रंगशालालाई पहिलो चरणमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरी ठेक्का आव्हान भएको थियो। धुर्मुस सुन्तली फाउन्डेसनले १७ करोड बढी ऋण देखाउँदै बिचमा नै निर्माण छोडेको थियो। क्रिकेट रंगशाला अलपत्र अवस्थामा रहेपछि सरकारले नै बनाउने निर्णय मन्त्रिपरिषद्बाट गरेको थियो।

गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानी रहने गरी सम्झौता पनि भएको छ। सोही सम्झौताका आधारमा भरतपुर महानगरले पहिलो पटक ठेक्का आह्वान गरेको हो। विसं २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला निर्माणको काम धुर्मुस सुन्तली फाउन्डेसनले थालेको थियो। काम गर्न नसकेपछि फाण्डेसनले भरतपुर महानगरलाई नै परियोजना सुम्पेको थियो।

फाउण्डेशनले रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिसकेको छ।  तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३९ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भएको जनाएको थियो। त्यहाँ उठाइएका पिल्लरका रडमा खिया लागेको छ। घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ। क्रिकेट रंगशाला निर्माणका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका छन्। यसको मूल नेतृत्व भरतपुर महानगरपालिकाले नै गरेको छ।

यसैबिच राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ। महानगरपालिकाको कार्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी लामिछानेलाई एक लाख रुपैयाँ सहित सम्मान गरिएको हो। उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरे। 

प्रकाशित: १८ असार २०८१ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App