१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एएफसी यु-१७ एसियन कप छनोट: नेपाल कठिन समूहमा

भारतसँगको प्रतिस्पर्धामा यु –१७ का नेपाली खेलाडी। फाइल तस्बिर

नेपाल आगामी अक्टोबरमा हुने एएफसी यु–१७ एसियन कप २०२५ छनोटमा पछिल्लो संस्करणको विजेता जापान र उपविजेता दक्षिण कोरिया समावेश कठिन समूहमा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी) को क्वालालम्पुरस्थित मुख्यालयमा बिहीबार भएको ‘ड्र’ मा जापान, कतार र मंगोलियासँगै नेपाल समूह ‘एफ’ मा परेको हो। यो समूहका सबै खेल अक्टोबर १९ देखि २७ सम्म कतारमा हुने एएफसीले जनाएको छ।

 छनोटमा एसियाका ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। तीन समूहमा पाँच÷पाँच र सात समूहमा चारचार टिम समावेश गरिएको छ। १० समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट पाँच गरी कुल १५ टिम छनोटबाट फाइनल चरण पुग्नेछन्। अप्रिल ३ देखि २०, २०२५ मा साउदी अरबमा हुने फाइनल चरणमा आयोजकले सीधै खेल्ने अवसर प्राप्त गर्नेछ।

नेपालले सन् १९९८ देखि एएफसी यु–१७ एसियन कप छनोटमा सहभागिता जनाउँदै आएको छ। तर, नेपालले पाँच पटक सहभागिता जनाउँदा एक पटक मात्रै छनोट चरण पार गर्न सफल भएको छ।

सन् २००६ मा सिंगापुरमा भएको प्रतियोगिता खेलेको नेपाल जापानसँग ६–० र दक्षिण कोरियासँग २–० ले पराजित भएको थियो। आयोजक सिंगापुरसँग भने नेपालले गोलरहित बराबरी खेल्दै एक अंक बटुलेर स्वदेश फर्किएको थियो। त्यसयता भने नेपाली टोली समूहचरणमै सीमित रहेको छ।

गत वर्ष भियतनाममा भएको छनोटमा नेपाल जित र अंकविहीन भएर फर्किएको थियो। समूह ‘एफ’ मै रहेर खेलेको नेपाल थाइल्यान्डसँग ३–०, भियतनामसँग ५–० र चाइनिज ताइपेईसँग ४–२ गोल अन्तरले पराजित भएको थियो।

यस समूहमा रहेको जापानले गत वर्ष थाइल्यान्डमा आयोजना भएको एएफसी यु–१७ एसिया कपमा अपराजित रहँदै चौथो पटक उपाधि जितेको थियो। फाइनलमा जापानले दक्षिण कोरियालाई ३–० गोलअन्तरले पराजित गरेको थियो।

नेपालले छनोट प्रतियोगितामा सहभागिता जनाउनुअघि सेप्टेम्बर १८ देखि २८ सम्म भुटानमा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागिता जनाउनेछ। दुई पटकको उपविजेता नेपाली टोली समूह ‘बी’ मा रहेको छ। यो समूहमा नेपालसँगै आयोजक भुटान, पाकिस्तान र श्रीलंका छन्।

यु–२० टोली समूह ‘बी’ मा

आगामी सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईले आयोजना गर्ने एएफसी यु–२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपाल रहेको समूहमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन्।

एएफसीले छनोटमा एसियाका ४५ टोलीलाई १० समूहमा विभाजन गरेको थियो। पाँच समूहमा चारचार र पाँच समूहमा पाँचपाँच टोली छन्। हरेक समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट पाँच गरी  १५ टोलीले फाइनलमा स्थान बनाउनेछन्। फेब्रुअरी ६ देखि २३, २०२५ सम्म चीनमा आयोजना हुने फाइनल चरणमा आयोजकले सीधै स्थान बनाउनेछ।

नेपालले यसअघि सन् १९७१, १९७२ र १९७४ एएफसी युथ च्याम्पियनसिप खेलेको थियो। सन् २०२५ को एएफसी यु–२० एसियन कप छनोटअघि नेपालले अगस्ट १६ देखि २८ सम्म घरेलु मैदानमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउनेछ।

नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, पाकिस्तान र श्रीलंका छन्। आयोजक नेपालले उद्घाटन खेलमा श्रीलंकाको सामना गर्नेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपाल र श्रीलंकाबीचको खेल १६ अगस्टमा हुनेछ। नेपालले दोस्रो खेल १९ अगस्टमा पाकिस्तानसँग खेल्नेछ। नेपालले समूहचरणको अन्तिम खेल २२ अगस्टमा बंगलादेशसँग खेल्नेछ। हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्।  

प्रकाशित: ३२ जेष्ठ २०८१ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App