१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

श्रीलंकासँग खेल्न चाहान्थे मोन्टी, खेल हेर्न चाहान्थे दर्शक

टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न उपस्थित दर्शक । तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक

‘एक अंकभन्दा पनि हामीलाई खेल आवश्यक थियो र जित्न चाहन्थ्यौं । यसका लागि हामीले मेहनत पनि गरेका थियौं, ’श्रीलंकासँगको विश्वकप क्रिकेटको दोस्रो खेल रद्द भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाईले दिएको प्रतिक्रिया हो यो ।

अस्वभाविक पिचका कारण आलोचना सामना खेपिरहेको अमेरिकाको फ्लोरिडामा बुधबार नेपाल र श्रीलंकाबीचको खेल पनि खराब मौसमका कारण सम्भव हुन सकेन । जारी विश्वकपको २३औं खेल सम्पन्न हुँदा पहिलोपटक वर्षाका कारण खेल रद्द भएको हो । लगातार वर्षापछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो खेलमा श्रीलंकासँग अंक बाँड्न बाध्य भयो । यो नतिजाबाट नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाई खुसी देखिएनन् । उनी एक अंकभन्दा पनि कम्तीमा यो खेल खेल्न चाहन्थे ।

टी- २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीच वर्षाले रद्द भएपछि मुख्य पशिक्षक मोन्टी देसाई । तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक  

मोन्टी मात्र होइनन्, फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा आएका अधिकांश नेपाली दर्शक पनि आफ्नो देश खेलेको हेर्न चाहन्थे । सुपर आठमा पुग्न श्रीलंका पनि यो खेल जित्नैपर्ने दबाबमा थियो । बराबरीको अंक दुवै टोलीका लागि सहज हुने थिएन । त्यसैले समूह ‘डी’ का टोली नेपाल र श्रीलंका दुवै जित चाहन्थे । जारी विश्वकपमा दुवै टोली बुधबार पहिलो जितको खोजीमा थिए । तर, लगातार वर्षापछि अम्पायरले खेल रद्द भएको निर्णय दिए । स्थानीय समयअनुसार साँझ ७ः३० बजे खेल सुरु हुने तय थियो ।  

आधा घन्टापछि केही समय वर्षा रोकियो । तर, फेरि वर्षा भएपछि खेल अम्पायरले खेल रद्द गरे । जुन निर्णयले सन् २०१४ को विश्व च्याम्पियन श्रीलंकाको यात्रा समूहचरणमा नै सीमित हुने लगभग पक्का भैसकेको छ । यद्यपि, गणितीय सम्भावना भने बाँकी छ । जुन कठिन छ ।  

फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा भारी वर्षापछि जमेको पानी हटाउँदै कर्मचारी ।  तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक 

खेल रद्द हुँदा नेपालका लागि पनि यो नतिजा सहज भएन । एक अंक बाँडिदा सुपर आठ पुग्न नेपालले बाँकी दुई खेल जित्नैपर्ने समीकरण बनेको छ । त्यसैले पनि यो नतिजा नेपालका लागि सुखद् भएन । नेपालले अब समूहका दुई खेल क्यारेबियन भूमिमा खेल्नेछ ।  

प्रशिक्षक मोन्टीले अब दुई खेलमा ध्यान दिने उल्लेख गर्दै आफ्ना खेलाडीप्रति पूर्ण विश्वास गरे । ‘हाम्रो सुपर आठ सम्भावना अझै पनि बाँकी छ । दक्षिण अफ्रिकासँग यसअघि कहिल्यै पनि खेलेका छैनौं । अब ती खेलमा ध्यान दिन्छौं । मेरो खेलाडीको क्षमताप्रति म पूर्णविश्वास पनि छु’ मोन्टीले भने । क्यारेबियन भूमिको पिचमा स्पिन बलिङले साथ पाउनेछ । यस्तो स्थितिमा नेपालका प्रिमियर स्पिनर सन्दीप लामिछाने पूर्ण जानकार छन् । क्यारेबियन प्रिमियर लिग(सिपिएल) मा खेलेको अनुभव सन्दीपका लागि फाइदाजनक हुनेछ । प्रशिक्षक मोन्टीले पनि सन्दीपको आगमनले उत्साहित रहेको प्रतिक्रिया दिए ।  

टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न उपस्थित दर्शक । तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक 

सन्दीप क्यारेबियन भूमिमा हुने विश्वकपमा चम्किने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि उनले वेस्ट इन्डिजमा हुने दुई खेलका आफ्नो टोली तयार रहेको बताएका छन् । नेपालले तेस्रो खेल जेठ ३२ गते शुक्रबार दक्षिण अफ्रिकासँग खेल्ने छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।  

यो समूहबाट दक्षिण अफ्रिका तीन जितसँगै सुपर आठमा पुगिसकेको छ । समान दुई खेलबाट बंगलादेश र नेदरल्यान्ड्सले दुई दुई अंक बटुलेका छन् । त्यसैले बाँकी खेलमा नेपालसँग सतप्रतिशत जितको विकल्प हुने छैन । प्रशिक्षक मोन्टीले आगामी खेलमा राम्रो प्रदर्शन गर्ने र टोलीमा स्पिनर सन्दीप लामिछानेको आगमनले आत्मविश्वास बढेको प्रतिक्रिया दिए ।

टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न उपस्थित दर्शक । तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक 

‘अबको खेलमा ध्यान दिनेछौं र हाम्रो खेल्नेछौं । हामी सन्तुलित टोली हौं । हरेक खेलाडी अवसरका लागि उत्साहित छन् र यसलाई राम्रोसँग सदुपयोग गर्न चाहन्छन् । टोलीमा सन्दीपको आगमनले उत्साह बढेको छ,’उनले भने,‘यहाँसम्म आइपुग्न सन्दीपको भूमिका धेरै छ । उनी आउँदा धेरै खुशी छौं । वेस्ट इन्डिजको पिचमा स्पिन बलरलाई मद्दत मिल्छ । त्यहाँ उनले राम्रो गर्नेछन् ।’ नेदरल्यान्ड्स र बंगलादेशलाई भने एक जित पनि दोस्रो चरणमा पुग्न पर्याप्त हुनेछ । तर, त्यसका लागि अन्य टोलीको नतिजा पनि भर पर्नुपर्नेछ । श्रीलंकाले अन्तिम खेल नेदरल्यान्ड्ससँग जुन १७ सँग खेल्नेछ । यो खेलमा श्रीलंका सान्त्वना जितको खोजीमा हुनेछ । डच टोल भने अप्रत्यासित जित निकाल्दै दोस्रो चरणको यात्रा तय गर्ने लक्ष्यमा छ ।  

नेपाली दर्शकको अद्भूत समर्थन 

खेल हुने केही दिन अगाडिदेखि नै श्रीलंका र नेपालबीचको खेलमा वर्षासँगै हावाहुरी चल्ने अनुमान गरिएको थियो । अमेरिकाको फ्लोरिडा राज्यमा यो समयमा प्रायः वर्षा भैरहने हुँदा त्यसलाई स्वाभाविकरूपमा लिइएको थियो । यस्तो स्थितिमा ड्यालसमा जस्तो नेपाली समर्थक नआउने अनुमान गरिएको थियो । खेल हुने दिन दिउँसो १२ बजेदेखि नै वर्षा निरन्तर भइरह्यो ।

टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न उपस्थित दर्शक । तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक 

खेल हुने एक घन्टा अगाडिदेखि नै लउडरहिलको सेन्ट्रल ब्रोवार्ड क्रिकेट रंगशाला रातो र नीलो जर्सीमा भरिभराउ थियो । वर्षाका बावजुद नेपाली दर्शकहरू झमझम पानीको पर्वाहनगरी रंगशाला आए । टेस्ट राष्ट्र श्रीलंकाको समर्थक हातमा गनिन सक्ने अवस्थामा उपस्थित हुँदा नेपाली समर्थकको उपस्थितिले सबैको ध्यान तान्यो । आईसीसीका ब्रोडकास्टर नेपाली समर्थकको बाजागाजासहितको उत्सव खिच्नमा धेरै व्यस्त देखिए । यसैबीच स्टेडियममा आयोजकले पनि नेपाली संगीत बजाउँदा करिब पाँच हजारको संख्यामा उपस्थित नेपाली समर्थकमा छुट्टै उत्साह भरिदियो ।

छिमेकी राष्ट्र क्यानडाका साथै अस्ट्रेलियामा बस्ने नेपाली पनि फ्लोरिडा पुगेका थिए । केही नेपाली समर्थक अमेरिकाकै न्युयोर्कदेखि दुई दिनसम्म स्थलमार्ग हुँदै आफ्नो देशलाई समर्थन गर्न फ्लोरिडा आएका थिए । तर, टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध नेपाल पहिलोपटक खेलेको हेर्ने उनीहरूको चाहनामा वर्षा वाधक बनिदियो । श्रीलंकासँग एक अंक प्राप्त गर्दा हजारौंमा आएका नेपाली दर्शक पनि खुसी भएनन् ।  

टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न उपस्थित दर्शक । तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक 

सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप खेल्दा अस्मिता राज्यलक्ष्मी शाहले घरमा टेलिभिजनबाट हेरेकी थिइन् । अहिले आफ्नो कर्मथलो अमेरिकामा विश्वकप आयोजना हुँदा अस्मिताले प्रत्यक्ष विश्वकप हेर्ने अवसर पाइन् । तर, उनको सपना पूरा भएन । ‘सन् २०१४ को विश्वकप नेपालबाटै हेरेको थिएँ । त्यतिबेला परिवारिक समस्याका कारण जान पाइनँ । अमेरिकामा विश्वकप हुँदा धेरै खुसी थिएँ । फ्लोरिडाको खेलका लागि बल्लबल्ल छुट्टी मिलाएको थिएँ । तर खेल हेर्न नपाउँदा दुखी छु’ ओर्लान्डोमा बस्ने अस्मिताले भनिन् ।

नेपालले हाल राम्रो क्रिकेट खेल्ने गरेकाले अर्को पटक पनि विश्वकपमा छनोट हुने र त्यो खेल हेर्न जाने उनको आशा छ ।

टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न उपस्थित दर्शक । तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक 

प्रशिक्षक मोन्टीले पनि नेपाली समर्थकको उपस्थिति प्रति आभार व्यक्त गर्दै उनीहरूको खुसीका लागि मिहिनत गर्ने बताए । ‘हाम्रो टिम युवा छ । हाम्रा समर्थकका सपनाहरू पनि युवा नै छन् । यी सपनाका लागि खुसी प्रदान गर्ने जिम्मेवारी हाम्रो हो । हामी समर्थकप्रति सदैव आभारी रहनेछौं,’प्रशिक्षक मोन्टीले समर्थकको प्रंशसा गर्दै भने ।  

टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल हेर्न उपस्थित दर्शक । तस्बिर : अनिल मल्ल ठकुरी/ नागरिक 

प्रकाशित: ३० जेष्ठ २०८१ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App