१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

यमनलाई हराउने, युएईसँग नहार्ने

विश्वकप २०२६ र एसियन कप २०२७ संयुक्त छनोटअन्तर्गत गत नोभेम्बर मध्यमा दुबईस्थित अल मकतुम स्टेडियममा संयुक्त अरब इमिरेट्स (युएई) सँग भएको खेलको पहिलो हाफ सम्झनयोग्य रहेन। डिफेन्समा झरेर खेलेका लाकेन लिम्बू १० मिनेटभित्रै घाइते हुनु र त्यसपछि मैदान छिरेका अमृत श्रेष्ठले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न नसक्नुले नेपाललाई ठूलै धक्का दियो। पहिलो हाफमै चार गोल खाएको नेपालले दोस्रो हाफमा भने युएईको आक्रमण रोक्न सफल भयो।  

फिफा वरीयतामा आफूभन्दा निकै माथि रहेको (६९औं) टोलीसँग दोस्रो हाफमा सुधारिएको प्रदर्शन नेपालले गरेको थियो। त्यसले पाँच दिनपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा यमनविरुद्ध कम्तीमा जितको आशा गर्न मिल्ने अवस्था सिर्जना भएको थियो। तर, थकित शरीर लिएर काठमाडौं फर्किएको नेपाली टोलीले आशा गरेअनुसार प्रदर्शन गरेन र २–० गोलको नमीठो हार बेहोर्नुप¥यो।

यस पटक नेपाली टोली उत्ति धेरै व्यस्त छैन। तीन साताअघि बेलायत भ्रमणबाट फर्किएको नेपाली टोलीले पर्याप्त आराम र प्रशिक्षण गर्ने मौका पाएको छ। त्यसैले यमनलाई हराउने र युएईसँग नहार्ने लक्ष्य रहेको सुनाउँछन्, टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङ ।

‘हामीले अहिलेसम्म एक म्याच पनि जित्न सकेका छैनौं। हाम्रो मुख्य दबाबचाहिँ यमनलाई हुनेछ । यमन हाम्रै स्तरको टोली मान्छु। त्यसैले हाम्रो लक्ष्य यमनलाई हराउने र युएईसँग नहार्ने छ,’ उनले भने। कोस्टारिका, काजकिस्तान, बहराइन, लेबनान, कुवेत, यमनजस्ता देशमा लिग खेल्ने खेलाडी लिएर मैदान उत्रिरहेको युएईले गत वर्ष खेलेका ६ वटा खेमा हारको स्वाद चाख्नु परेन। 

त्यही लयलाई कायम राखेको युएईले यस वर्ष एक अनौपचारिकसहित सात खेल खेलेको छ। जसमा दुई हार मात्रै बेहोरेको छ। उसको अन्तिम हार भनेकै गत डिसेम्बर २८, २०२४ मा एसियन कपको अन्तिम १६ मा ताजकिस्तानसँग (पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तर) थियो।

यता, गत वर्ष चार खेलमा बहराइनसँग मात्रै हार (०–२) बेहोरेको यमनले यस वर्ष विश्वकप र एसियन कप छनोटबाहेक अन्य प्रतियोगिता खेलेको छैन । दुई खेलमा युएईसँग पराजित भएको यमनको विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा सीधै छनोट हुने सम्भावना गणितीय रूपमा मात्रै सीमित रहेको छ। 

समूह ‘एच’ बाट युएई चार खेलबाट शतप्रतिशत जितसहित १२ अंक जोडेर विश्वकपको तेस्रो चरण र एसियन कपमा सीधै छनोट भइसकेको छ। समान खेलमा तीन अंक जोडेको यमनले युएईझैं अघिल्लो चरणमा पुग्न बहराइन र नेपाललाई ठूलो गोल अन्तरमा हराउनुपर्नेछ। यस समूहमा दुई खेल खेल्न बाँकी रहेको बहराइन नवौ अंकसहित दोस्रो स्थानमा रहेको छ। 

तर, गत वर्ष १० र यस वर्ष दुई अनौपचारिकसहित चार खेल खेलेको नेपाल भने प्रतियोगितामा जितविहीन छ। नेपालले गत वर्ष पाकिस्तान र लाओसलाई (समान १–० गोलले) पराजित गरेको थियो। यस वर्ष भने दुई अनौपचारिकसहित चार मैत्रीपूर्ण खेल खेलिसकेको नेपालले जितको कस्तो हुन्छ? त्यो स्वाद चाख्न पाएको छैन। यस्तो अवस्थामा नेपालले समूहचरणका बाँकी दुई खेलमा युएईसँग ६ जुनमा ‘होम म्याच’ र त्यसको पाँच दिनपछि यमनविरुद्ध साउदी अरबस्थित दमाममा ‘अवे म्याच’ खेल्ने तय छ।

नेपाली राष्ट्रिय टोलीका नियमित गोलरक्षक तथा कप्तान किरणकुमार चेम्जोङ पहिला कमजोर तयारी भएको स्विकार्छन्। त्यसैले विश्वकप र एसियन कप छनोटअन्तर्गत खेलेका चारवटै खेलमा पराजय बेहोरेको बताउने उनी यस पटक भने राम्रो तयारी गर्न पाएकोमा खुसी देखिन्छन्।

‘पहिला हामीले चारवटा खेल कस्तो अवस्थामा खेलेका थियौं भन्ने सबैलाई थाहा छ । तर, अहिले हामीले पुग्दो तयारी गरेका छौं। इङ्ल्यान्ड ‘सी’ टोलीसँग पनि खेलेका थियौं । त्यसपछि नेपाल फर्किएर लोकल टोलीहरूसँग पनि तीन–चारवटा मैत्रीपूर्ण खेल खेलेका थियौं,’ उनले भने, ‘हारजित आफ्नो ठाउँमा छ तर, एसियन कप क्वालिफायरका लागि प्लस पोइन्ट हुने भएको कारण अंक गुमाउनचाहिँ चाहन्नौं।’

नेपालले गत अक्टोबर २३, २०२३ यता (लाओसविरुद्ध) खेलेयता कुनै पनि आधिकारिक खेलमा गोल गर्न सकेको छैन। यस्तो अवस्थामा वर्तमान सर्वाधिक (१३) गोलकर्ता तथा नियमित स्ट्राइकर अञ्जन विष्ट घुँडाको चोटका कारण खेल्न नसक्ने अवस्थामा छन्। उनीबाहेक प्रारम्भिक टोलीमा रहेका दिनेश हेम्जन, योगेश गुरुङ, फत्तेमान घले, समीर तामाङलगायत आधा दर्जनभन्दा बढी खेलाडी घाइते छन्। त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस यसपटक वसन्त जिम्बा र आशिकबाबु चौधरीजस्ता नयाँ खेलाडीलाई समेटर साउदी अरबस्थित दमाम पुगेका छन्।  

अञ्जनजस्ता अनुभवी खेलाडी घाइते हुनु दुखद पक्ष रहेको किरण बताउँछन्। तर, नयाँ आएका खेलाडीले पनि अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका कारण टोली ‘सेट’ रहेको उनले बताए। त्यसैले बाँकी दुई खेलमा लक्ष्यअनुसार नतिजा ल्याउनेमा उनी आशावादी देखिन्छन्। युएई र यमनसँग खेल्नुअघि १५ दिनको समय पाएका कारण कमीकमजोरी सुधार्ने पर्याप्त मौका नेपाली टोलीलाई मिलेको छ। 

इङ्ल्यान्ड ‘सी’ सँग भएको पछिल्लो अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालको तीनवटै पक्ष कमजोर देखिएको थियो। यस पटक आफूले रक्षात्मक र आक्रामकका साथै कमजोर देखिएको ठाउँमा सुधार गरेको उनले बताए। त्यसैले यसपटक टोलीमा रहेको खेलाडीले पहिलेभन्दा निकै आत्मविश्वासी महसुस गरेको उनको भनाइ छ।  

‘छनोटमा ५–६ खेल हुन्छ । खेलाडीहरूले पहिलो चरणमा कम एक्सपोजर पाउँछन्। तर, अहिले हामी पनि राम्रो अवस्थामा पुगेका छौं। अभ्यासमा देखाएजस्तो प्रदर्शन युएई र यमनसँग पनि गर्छन् भन्नेमा म आशावादी छु,’ उनले भने । मुख्य तीन स्ट्राइकर टोलीमा नभएको कारण जिलेस्पीजंग कार्की र सञ्जीव विष्टले राम्रो प्रदर्शन गर्नेमा उनी ढुक्क छन्। 

प्रकाशित: २२ जेष्ठ २०८१ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App