१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ललितपुर मेयर कप महिला ट्वान्टी- २० क्रिकेट प्रतियोगिता : सुदूरपश्चिम र एपिएफबीच उपाधि भिडन्त आज

फाइनल पुगेपछि सुदूरपश्चिम प्रदेशको टोली । तस्बिर : क्यान

सुदूरपश्चिम प्रदेश र साबिकको विजेता एपिएफ जारी ललितपुर मेयर कप महिला ट्वान्टी- २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भिड्दै छन्।

पाँच टोली सहभागी प्रतियोगिताको लिगमा दोस्रो स्थानमा रहँदै सुदूरपश्चिमले विभागीय टोली एपिएफसँग उपाधि भिडन्त पक्का गरेको हो। सम्झना खड्काको अर्धशतकप्रेरित सुदूरपश्चिमले शुक्रबार बाग्मती प्रदेशलाई  १०९ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

फराकिलो अन्तरको जितले बाग्मतीको पनि फाइनल पुग्ने सम्भावना थियो। तर, बलिङ र ब्याटिङमा खराब प्रदर्शनसँगै बाग्मतीको यात्रा लिगचरणमा नै समाप्त भयो। फाइनलमा स्थान बनाउने क्रममा सुदूरपश्चिमले कुल चारमध्ये तीन खेलमा जित प्राप्त गर्‍यो।

सुदूरपश्चिमले एक मात्र हार एपिएफसँग बेहोरेको थियो। लिगमा अपराजित एपिएफ बिहीबार नै फाइनलमा पुगेको हो। समान चार खेलबाट एपिएफले ८ अंक र सुदूरपश्चिमले ६ अंक बटुले। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले शुक्रबार जित निकाल्दा ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गर्‍यो।

ओपनर सम्झनाले ७४ रनको अर्धशतकीय इनिङ खेलिन्। अनुभवी बलर ऋतु कनौजियाको नेतृत्वमा सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। सम्झनाको अर्धशतकमा सुदूरपश्चिमले १५८ रनको चुनौतीपूर्ण लक्ष्य दियो।

जारी प्रतियोगिताकै ठूलो लक्ष्य पछ्याएको बाग्मती १६.१ ओभरमा ४८ रनमा अलआउट हुन पुग्यो। मध्यक्रमकी ब्याटर कृस्मा गुरुङले १६ रन बनाइन्। यो नै बाग्मतीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। उनीबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बाग्मतीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि बाग्मती समालिन नै सकेन। ८.४ ओभरमा नै बाग्मती १६/७ को अवस्थामा पुग्यो। तर, कृस्माले इनिङ समाल्ने प्रयास गरे पनि सफल भइनन्। सुदूरपश्चिमकी कप्तान बिन्दु रावलले कृस्मालाई दशौं विकेटका रूपमा आउट गरिन्।

सुदूरपश्चिमका बलरले कसिलो बलिङ गरी विकेट लिँदै बाग्मतीको इनिङ धराशयी बनाए। ऋतुले तीन तथा कविता जोशी र लक्ष्मी साउदले समान दुई विकेट लिए। बिन्दु रावल र करिस्मा थापाको नाममा समान एक विकेट रह्यो। समान चार ओभरमा ऋतु र लक्ष्मीले समान एक मेडन राख्दै पाँच रन मात्र दिए।

करिस्माले पनि एक ओभरमा दुई रन मात्र दिँदा कविता जोशीले चार ओभरमा १६ रन खर्चिइन्। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा मात्र दुई विकेट गुमाउँदै १५७ रनको राम्रो योगफल बनायो।

सुदूरपश्चिमकी ओपनर सम्झना ७४ रनमा नटआउट रहिन्। उनले ४७ बलमा १० चौका हिर्काइन्। सम्झनाले दुई ब्याटरसँग अर्धशतकीय साझेदारी गर्दै आफ्नो टोलीलाई राम्रो स्थितिमा पुर्‍याइन्।

उनले पहिलो विकेटका लागि रुबी पोदारसँग ६० रनको साझेदारी गरिन्। दोस्रो विकेटका लागि उनी र कप्तान विन्दु रावलसँग ४३ रनको साझेदारी भयो। उनले तेस्रो विकेटका लागि पनि कविता जोशीसँग ५४ रनको साझेदारी गरिन्। रुबी र बिन्दुले समान २८ रन बनाए। रुबीले तीन र बिन्दुले पाँच चौका हिर्काए।

कविता २० रनमा नटआउट रहिन्। उनले १४ बलमा समान एक चौका र छक्का प्रहार गरिन्। बाग्मतीको बलिङमा कृस्मा गुरुङले एक विकेट लिइन्।

एपिएफले एक विकेट रनआउटका रूपमा पाएको हो। बाग्मतीकी कप्तान अस्मिना कर्माचार्य, सोनी पाख्रिन र मनीषा उपाध्याय महँगा बने। सिंगल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ललितपुर मेयर्स-११, कोसी प्रदेश र बाग्मती क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा रहे। यी तीनै टोलीले समान एक खेल जितेका थिए।

प्रकाशित: ५ जेष्ठ २०८१ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App