९ असार २०८१ आइतबार
image/svg+xml
खेल

किङ्ग कोहलीको जादु चलेपनि किन जितबाट बञ्चित भइरहन्छ बैङ्गलोर?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करण अहिले जारी छ। लिग अन्तर्गत हालसम्म १९ खेल सकिएको छ। १० टिम सहभागी रहेको यस जारी आईपीएलमा सबैभन्दा कमजोर पाँच पटकको विजेता मुम्बई इन्डियन्स सावित भएको छ भने रोयल च्यालेन्जर्स बैङ्गलोरले सम्मानजनक स्कोर बनाए पनि एक खेलमा मात्रै जित हात पार्न सकेको छ।

जारी सिजनको अङ्क तालिकामा सबैभन्दा धेरै ५ खेल खेलेको बैङ्गलोरले जम्मा १ खेलमा जित हात पारेको छ र अन्य ४ खेलमा पराजित भएको छ।

खेलमा भारतका स्टार खेलाडी र किङ्ग कोहलीको उपमा दिइएको विराट कोहलीले राम्रो प्रदर्शन गर्दै आएका छन्। उनले गयराति भएको खेलमा सय रन बनाए। उक्त शतकसँगै आईपीएल इतिहासमा सबैभन्दा धेरै शतक जोड्ने खेलाडीको सूचीमा पनि विराट सामिल भएका छन्। तर, ११३ रनको पारी खेलेपनि बैङ्गलोरले हारको सामना गर्नुपर्‍यो।

खेलको पहिलो म्याचमा चेन्नई सुपर किङ्ग्ससँग ६ विकेटले पराजित भएको बैङ्गलोरले दोस्रो खेलमा भने पञ्जाब किङ्ग्सलाई ४ विकेटले हराउँदै जित हात पारेको थियो। त्यसपछिका ३ खेलमा बैङ्गलोर लगातार पराजित हुँदै आएको छ।

कोलकोत्ता नाइट राइडर्ससँग ७ विकेट, लखनउ सुपर जाइन्ट्ससँग २८ रन र राजस्थान रोयल्ससँग ६ विकेटले बैङ्गलोर पराजित भएर अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ।

बैङ्गलोर टिममा विराट कोहली, फाफ डुप्लेसिस, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, दिनेश कार्तिक, मोहम्मद सिराज जस्ता दमदार खेलाडी छन्। तर, पनि बैङ्गलोरको हातमा जित मुस्किलले मात्रै आउने गरेको छ।

हालसम्म ३ पटक फाइनलमा पुगेको बैङ्गलोरले एकपटक पनि उपाधि हात पार्न सकेको छैन भने पछिल्ला केही सिजनमा बैङ्गलोरको निराशाजनक प्रदर्शन देखिएको छ।

बैङ्गलोर टिमका लागि महँगो खेलाडीमध्ये पर्ने विराट कोहलीले गयरातिको खेलमा नट आउट रहँदा ११३ रन बनाए भने त्यस अघि लखनउसँगको म्याचमा पनि उनले २२ रन मात्रै बनाए। कोलकोत्ताविरुद्धको खेलमा पनि कोहली नट आउट रहँदै ८३ रन जोडेका थिए। जबकी पञ्जाबविरुद्धको खेलमा ७७ रन अनि चेन्नईविरुद्धको खेलमा २१ रन बनाएका थिए। तर, उनले बनाएको एउटा अर्धशतकीय पारीले मात्रै बैङ्गलोरलाई जित दिलायो।

कोहलीको प्रदर्शन राम्रो हुँदा हुँदैपनि किन बैङ्गलोरलाई पराजयको सामना गर्नु परिरहेको छ भन्नेमा प्रश्न उठेको छ। हुन त उनी एक्लैले टिमलाई जित दिलाउने होइनन्। तर, टिमको तालमेल नमिल्दा बैङ्गलोरको उपाधि मात्रै होइन प्ले अफमा पुग्ने सम्भावना पनि कमजोर बनेको छ।

कोहलीको जादु मैदानमा चलेपनि विश्वकप क्रिकेटमा चर्चाको विषय बनेका म्याक्सवेल, फाफ डुप्लेसिस लगायत अन्य खेलाडीहरूको कमजोर प्रदर्शनका कारण यस सिजनमा पनि बैङ्गलोरको उपाधि जित्ने सपना टाँढिएको छ।

प्रकाशित: २५ चैत्र २०८० ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App