४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

पाहुना टोली थिम्पुलाई पन्छाउँदै घरेलु टोली मोरङ विराट गोल्डकपकाे सेमिफाइनलमा

आज एनआरटी र सिक्किम भिड्दै

घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लबले पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ।

विराटनगरमा जारी ८ औं विराट गोल्डकप प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा पाहुना टोली भुटानलाई मोरङले ३–२ गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित पा¥यो।

खेलको सुरुवातबाटै दबाब दिँदै खेलेको मोरङले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो। २ गोलले पछि परेको भुटान पहिलो हाफमा पनि गोलको अवसर खोज्दै गर्दा केही मौका पाए पनि सफल हुन सकेन। दोस्रो हाफमा भुटानले आफ्नो खेललाई लयमा ल्याउँदै मोरङविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको थियो।

दर्शकको हुटिङसँगै भुटानले खेलमा गति लियो। मोरङको रक्षापंक्तिको कमजोरी भेटाउनसाथ २ गोल फर्काउन सक्यो। दुवै टोलीले गोलको अवसर खोज्दा पाएको मौकामा गोल गर्न सकेनन्। ५० औं मिनेटमा मोरङको गोल संख्या बढ्दा ३–० ले पछि परेको भुटान थप आक्रामक खेल्ने क्रममा २ गोल फर्काउन सक्यो।

२६ औं मिनेटमा विवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चाँपागाईंले हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। मोरङले अग्रता लिएको सात मिनेट बित्न नपाउँदै ३३ औं मिनेटमा सुशील राईले हेडमार्फत गोल संख्या दोब्बर पारे। मौसम लिम्बूले मध्य भागबाट निकालिदिएको पास सुशीलले गोल गरे। ५० औं मिनेटमा विदेशी खेलाडी स्याङले गोल संख्या बढाउँदै तेब्बर बनाए। आरटिएफसीका गोलरक्षक डेन्डुप अगाडि बढेपछि स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो। आरटिएफसीको फिनिसिङ पक्ष कमजोर रहँदा गोलको अवसर सदुपयोग गर्न सकेन।

६५ औं र ७४ औ मिनेटमा आरटिएसफीका सोरब दोर्जेले टोलीका लागि गोल गरे। केल्जाङ जिग्मेंले प्रहार मोरङको गोलरक्षक विशाल सुनारले पञ्च गरेको बल रिबाउन्ड हुँदाको फाइदा उठाउँदै दोर्जेले गोल गरे। ७४ औं मिनेटमा आरटिएसफीका जिङग्माले निकालिएको पास सदुपयोग गर्दै दोर्जेले गोल गरेका थिए।

१३ औं मिनेटमा आरटिएफसीका जिङग्माले निकालिएको क्रस पासलाई केन्जुङको कडा प्रहार बाहिरियो। लगतै केल्जाङ जिग्मेंले डिबक्सभित्रबाट गरेको प्रहार मोरङका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे। २४ औं मिनेटमा डिबक्स नजिकबाट किन्ले गेतसनको कडा प्रहार बाहिरियो।

मोरङका गोलरक्षक सुनारले उत्कृष्ट खेल प्रदर्शन गर्दै गोलका धेरै अवसर विफल पारे। मोरङका सुनिल खड्काले ६० औं मिनेटमा पाएको वान भर्सेस वानको अवसर खेर फाले। ७८ औं मिनेटमा केन्जुङको डिबक्सभित्रबाट गरेको कडा प्रहार गोल गर्न चुक्दा बराबरीमा ल्याउन सकेनन्। प्लेयर अफ द म्याच मोरङका महेन्द्र कार्कीले ११ हजार रुपैयाँ प्राप्त गरे।  

भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा विपक्षीलाई दिनु परेको बताए। मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको कारणले जितेका हौँ। यो सेट राम्रो हुँदाहुँदै पनि अर्को खेलमा केही खेलाडी थपिने बताए। 

प्रकाशित: १८ चैत्र २०८० १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App