१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

यी ६ टिमको कमान नयाँ क्यापटेनलाई, दिलाउन सक्लान् त उपाधी?

आईपीएल २०२४

आईपीएल २०२४ आजबाट सुरु हुँदैछ। भव्य उद्घाटनका बीच सुरु हुने आईपीएलमा १० टिमले सहभागीता जनाउने छन्। तर, यसपटकको सिजन निकै रोमाञ्चक हुने आँकलन गरिएको छ। कारण, सिजनमा खेलाडी र टिमका लिडरहरूको उलटफेरले सबैको ध्यान तान्ने विश्वास गरिएको छ।

१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।

टिमको कप्तान परिवर्तन भएसँगै समर्थकहरूलाई आशा छ की उनको टिमलाई नयाँ कप्तानले उपाधी दिलाउन मद्दत गर्छन्। तर, नयाँ कप्तानका लागि भने आईपीएलको यात्रा सहज हुने छैन।

कुन–कुन टिमले परिवर्तन गर्‍यो कप्तान?

मुम्बई इन्डियन्सः पाँच पटकको विजेता मुम्बई इन्डियन्सले यस सिजनका लागि कप्तानको जिम्मेवारी हार्दिक पाण्ड्यालाई दिएको छ। हार्दिक मुम्बईको पुरानो खेलाडी हुन्। आईपीएलमा २ टोली थप गरिए पछि हार्दिकलाई गुजरात टाइटन्सको कमान सुम्पिएको थियो। तर, यो सिजनमा मुम्बईले उनलाई भित्र्याउँदै रोहित शर्माको स्थानमा क्यापटेन बनाएको छ।

हार्दिकले पहिलो पटक गुजरातको कमान सम्हाल्दै उपाधी नै दिलाएका थिए भने दोस्रो पटक फाइनलमा पराजित भएका थिए। यस्तोमा हार्दिकमाथि उपाधी दिलाउने दबाब रहने छ।

गुजरात टाइटन्सः गुजरात टाइटन्सको कप्तानी सम्हाल्दै आएका हार्दिक मुम्बईमा गएपछि नयाँ कप्तानको जिम्मेवारी शुभमनगिललाई सुम्पिएको छ। पहिलोपटक उपाधी जित्दा गुजरातका लागि उत्कृष्ट योगदान दिएका शुभमनलाई जारी सिजनको कप्तानको जिम्मेवारी दिएसँगै उनीमाथि पनि दबाब बढेको छ।

२०२२  को आईपीएलमा १६ पारी खेलेका शुभमनले ४८३ रन बनाएका थिए। त्यसपछि २०२३ को आईपीएलमा सर्वाधिक ८९० रन बनाएर उनी महँगो खेलाडी साबित भए। उनको त्यही कलालाई हेर्दै गुजरातको नयाँ कप्तान नियुक्त गरिएको छ। कप्तानको जिम्मेवारीसँगै उनीमाथि टिमलाई राम्रो सुरुआत दिलाउनुका साथै उपाधी जिताउने पनि दबाब रहने छ।

दिल्ली क्यापिटल्सः दिल्लीका विस्फोटक ब्याट्सम्यान एवं विकेटकिपर ऋषभ पन्त लामो बिदा पछि खेलमा फर्किँदैछन्। भयावह दुर्घटनाका कारण लामो समयदेखि खेलबाट टाढा रहेका ऋषभलाई फेरि दिल्लीको लिडर नियुक्त गरिएको छ।

गत सिजनमा डेविड वार्नरले सम्हालेको दिल्लीको कप्तानी यस सिजनमा ऋषभले सम्हाल्ने छन्। वार्नरको सुस्त गतिको खेलका कारण उनको आलोचना पनि निकै भएको हुँदा दुर्घटना पछि फिट हुँदै क्रिकेटमा फर्केका ऋषभलाई पुनः कप्तानको जिम्मेवारी दिइएको छ।

हालसम्म एकपटक पनि उपाधी जित्न नसकेको दिल्लीले यसपटक उपाधी जित्न सक्छ की भन्ने आशा पनि गरिएको छ।

कोलकोत्ता नाइट राइडर्सः पछिल्ला केही वर्षदेखि चोटका कारण खेल्न नपाएका अर्का खेलाडी श्रेयस अय्यरले पनि यस सिजनमा ग्रान्ड कमब्याक गरेका छन्। उनलाई यस सिजनका लागि कोलकोत्ताले कप्तान नियुक्त गरेको छ। नीतीश राणाको स्थानमा कोलकोत्ताले श्रेयसलाई जिम्मेवारी  दिएको छ।

२ पटक आईपीएल उपाधी जितिसकेको कोलकोत्ताले श्रेयसको कप्तानीमा उपाधी जित्न भरपूर प्रयास गर्ने उनका समर्थकहरूको विश्वास छ।

सनराइजर्स हैदराबादः राम्रो कम्बिनेशनका साथ टिम छनोट गरेको हैदरावादले यस सिजनमा प्याट कमिन्सलाई कप्तानको जिम्मेवारी सुम्पेको छ। विश्वकपको उपाधी दिलाउन सफल कमिन्सको नेतृत्त्वमा रहेको हैदरावादले तीव्र गतिका बलरलाई राम्रो विकल्पको रुपमा राखेको छ।

गत सिजनका कप्तान मार्करमले राम्रो प्रदर्शन गर्न नसकेपछि कमिन्सबाट राम्रो प्रदर्शन र कप्तानीका साथै उपाधी जित्ने सबैले आशा गरेका छन्।

चेन्नई सुपर किङ्ग्सः गत सिजनको समेत उपाधी दिलाएका महेन्द्र सिंह धोनीको स्थानमा यस सिजनको लागि चेन्नईले नयाँ कप्तानमा ऋतुराज गाइक्वाडलाई नियुक्त गरेको छ। धोनीले चेन्नईको कप्तानी नगर्ने सङ्केत दिएसँगै उनको स्थान कसले लेला भन्ने पनि बहस सुरु भएकोमा बिहीवार चेन्नईले आफ्नो नयाँ कप्तानको रुपमा ऋतुराजलाई नियुक्त गरेको छ।

२०१९ देखि ऋतुरात चेन्नई टिमको सदस्य छन्। हालसम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा ११५ रन बनाएका ऋतुराजले १९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ सय रन बनाएका छन्।

उनको कप्तानीमा चेन्नईको प्रदर्शन कस्तो रहने छ भन्नेमा चेन्नईका समर्थकहरू निकै उत्सुक छन्।  

त्यसबाहेक आईपीएलका चार टिमका पुरानै कप्तानले सिजन सम्हाल्नेछन्। रोयल च्यालेन्चजर्स बैङ्गलोर फाफ डु प्लेसिसको कप्तानीमा मैदान उत्रने छ भने टिमका स्टार खेलाडी विराट कोहलीमाथि पनि सबैको ध्यान रहनेछ।

केएल राहुलको कप्तानीमा रहेको लखनउ सुपरजाइन्ट्स, सञ्जु सैमसनको कप्तानीमा राजस्थान रोयल्स र शिखर धवनको कप्तानीमा पञ्जाब किङ्गसले सिजनमा आफ्नो आफ्नो टिमको कमान सम्हाल्ने छन् र उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ९ चैत्र २०८० १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App