१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

कबड्डी सुपर लिग: महिलातर्फ नेपाल पुलिसको जित

प्रतिस्पर्धाका क्रममा एपिएफ (नीलो) र आर्मीका खेलाडी। तस्बिर सौजन्य: दिनेश पन्थी

मानवती विष्टको प्रेरणामा नेपाल पुलिस क्लबले कबड्डी सुपर लिग प्रतियोगितामा महिलातर्फ जित निकालेको छ।

नेपाल कबड्डी संघको आयोजनामा बुधबारदेखि दुईदिने प्रतियोगिता सुरु भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुलिसले पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३८–३० ले हराउँदै सुखद सुरुआत गर्‍यो। खेलमा पुलिसले सात र एपिएफले १० बोनस पोइन्ट प्राप्त गरेका थिए। पहिलो हाफमा पुलिस तीन स्कोरले पछि परेको थियो। पुलिसले १३ स्कोर गर्दा एपिएफको भने १५ स्कोर गर्‍यो। दोस्रो हाफमा भने पुलिस हाबी भयो।

पुलिसले २५ स्कोरसहित अग्रता लियो। एपिएफ भने १५ स्कोरमा नै सीमित भयो। पुलिसको जितमा मानवती विष्ट प्लेअर अफ दी म्याच चयन भइन्। उनी गत १९औं एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले कांस्य पदक जित्दाकी सदस्यसमेत हुन्। महिलामा पुलिस, एपिएफ र उपत्यकाले प्रतिस्पर्धा गर्दै छन्। लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन्। पुरुषतर्फ पनि एपिएफको टोलीले हार सामना गर्नुपर्‍यो।

आर्मीले विभागीय डर्बीमा एपिएफलाई ३९–२२ ले हरायो। पहिलो हाफमा आर्मीले १२ स्कोर र एपिएफले ११ स्कोर गरेका थिए। यो हाफमा एपिएफले एक बोनस पोइन्ट पनि पायो। दोस्रो हाफमा भने आर्मी पूर्ण हाबी भयो। यो हाफमा आर्मीले २७ स्कोर र एपिएफले ११ स्कोर गरे। दोस्रो हाफमा पनि एपिएफले दुई बोनस पोइन्ट प्राप्त गर्‍यो। दिनको तेस्रो खेल पुरुषतर्फ नेपाल पुलिस र उपत्यकाबीच तय थियो। तर, उपत्यकाले वाक ओभर दिएपछि पुलिसले सहजै अंक प्राप्त गर्ने अवसर पायो।

प्रतियोगितामा पुरुषमा आर्मी, एपिएफ, नेपाल पुलिस र उपत्यकाले प्रतिस्पर्धा गरिरहेका छन्। पुरुषमा पनि लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। महिला र पुरुष दुवैका विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रत्येक खेलका प्लेअर अफ दी म्याचले दुई हजार पाँच सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट पुरुष र महिला खेलाडीले भने ट्रफी पाउने संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए। 

प्रकाशित: २४ फाल्गुन २०८० ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App