१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

चन्द्रबहादुरको विजयी सुरुआत

ओलम्पिक क्वालिफाइङ बक्सिङ

चन्द्रबहादुर थापा। फाइल तस्बिर

नेपालका बक्सर चन्द्रबहादुर थापाले ओलम्पिक क्वालिफाइङ बक्सिङ प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

चन्द्रले इटालीको मिलानमा जारी पहिलो विश्व ओलम्पिक क्वालिफायरमा आइतबार जित निकालेका हुन्। यो प्रतियोगिता आगामी अगस्टमा फ्रान्सको पेरिसमा हुने ३३औं ग्रीष्मकालीन ओलम्पिक यात्राको बाटो हो।

पुरुष ५१ केजी तौलसमूहमा नेपाली बक्सर चन्द्रबहादुरले ताजकिस्तानका साफिभ मेहरूनलाई ३–२ को स्पिलिट डिसिजनको आधारमा हराउँदै दोस्रो चरणको यात्रा तय गरेका छन्। उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता बक्सर भूपेन्द्र थापाका भाइ हुन्।

चन्द्रबहादुरले अब अन्तिम ३२ को भिडन्तमा जापानका बक्सर सुबोई तोमोयासँग प्रतिस्पर्धा गर्ने भएका छन्। तोमोयाले पहिलो चरणमा बाई पाएका थिए। तोमोया सन् २०२१ का विश्व च्याम्पियनसमेत हुन्। हान्झाउ एसियन गेम्समा भने उनी कांस्य पदकमा सीमित भएका छन्।

अब चन्द्रबहादुर उनै तोमोयाको चुनौती पार गर्नु पर्नेछ। चन्द्रबहादुरको यो तौलसमूहमा कुल ४८ बक्सरले प्रतिस्पर्धा गरिरहेका छन्। यीमध्येबाट चार बक्सरले ओलम्पिक यात्रा तय गर्नेछन्।

यस ओलम्पिक छनोट प्रतियोगितामा नेपालबाट चन्द्रबहादुर र अन्जनी तेलीले चुनौती प्रस्तुत गर्दै छन्। अन्जनीले महिला ५४ केजी तौलसमूहमा मंगलबार पोल्यान्डकी बक्सर द्राविक सान्द्राविरुद्ध चुनौती प्रस्तुत गर्दै छिन्। यी दुई बक्सरले भारतमा दुई हप्ता प्रशिक्षण गरेर ओलम्पिक छनोट यात्रामा होमिएको हो। नेपाली टोलीको प्रशिक्षकमा प्रचण्ड शर्मा छन्।

प्रकाशित: २१ फाल्गुन २०८० ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App