१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भुवनलाई वेस्टर्न ओपन गल्फ उपाधि

प्रोफेसनल गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन्।

५४ होलको प्रतियोगिता १० अन्डर १९७ स्कोरमा जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट हो। भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९ अन्डरको रेकर्ड तोडेका हुन्। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। बिहीबार उनले ७ अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए।

पोखरास्थित पार ६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन शुक्रबार इभन पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १० अन्डर १ सय ९७ को सानदार स्कोरमा करियरको एघारौं उपाधि जितेका हुन्।

भुवनले रवि खड्का र एमेच्योर सद्भाव आचार्यलाई १२ स्ट्रोकले हराए। उपाधिसँगै भुवनले १ लाख ४० हजार नगद पुरस्कार हात पारे। सन् २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो।

रवि खड्का र एमेच्योर सद्भाव आचार्यले समग्रमा २ ओभर २०९ को स्कोरमा दोस्रो स्थान बाँडे। रवि र सद्भाव दुवैले शुक्रबार १ ओभर ७० मा खेल सकाए। रविले नगद ९६ हजार प्राप्त गरे। एमेच्योरतर्फ सद्भावले उपाधि जिते। उनले प्रज्वल गुरुङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन्। दोस्रो भएका प्रज्वलले १५ ओभर २२२ स्कोर गरे।

धरानका प्रोफेसनल गल्फर नीरज तामाङले शनिबार इभन पार ६९ मा खेल सकाउँदा समग्रमा ४ ओभर २११ को स्कोरमा तेस्रो स्थान प्राप्त गरे। उनले ७२ हजार नगद आफ्नो नाममा लेखाए।

भेट्रान प्रोफेसनल दीपक मगर समग्रमा ६ ओभर २११ सहित चौथो भए। उनले इभन पार ६९ मा खेल सकाए। चौथो भएका उनले ५९ हजार नगद हात पारे। समग्रमा १० ओभर २१७ बनाएका प्रदीपकुमार लामा पाँचाैं भए। उनले आज ४ ओभर ७३ मा खेल सकाए। उनी ५० हजार नगद पुरस्कारको हकदार बने।

यसै गरी बलभद्र राई, भूबहादुर गुरुङ र सञ्जय लामाले समग्रमा ११ ओभर २ सय १८ को नतिजामा छैटौं स्थान बाँडे। उनीहरूले जनही ३९ हजार नगद पुरस्कार प्राप्त गरे। अन्तिम दिन बलभद्रले ४ ओभर ७३, भूबहादुरले ३ ओभर ७२ र सञ्जयले १ ओभर ७० मा खेल सकाए।

दलबहादुर लामा र दिनेश प्रजापतिले समग्रमा १३ ओभर २ सय २० को स्कोरमा संयुक्त रूपमा नवौं स्थान बाँड्दा जनही ३२ हजार हात पारे। दलले शुक्रबार ६ ओभर ७५ र नीरजले ३ ओभर ७२ मा अन्तिम दिनको खेल सकाए।

काठमाडौंबाहिर हुने दुई प्रतियोगितामध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरुङ र गण्डकी प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरे।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ। प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन्।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन्। जसमा कुल ६५ लाख नगद पुरस्कार छ।

प्रकाशित: १२ फाल्गुन २०८० १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App