पूर्व नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्डसहित शीर्षस्थानमा यथावत् छन्।
पोखरास्थित पार ६९ को हिमालयन गल्फ कोर्समा ७ अन्डर ६२ को रेकर्डसहित भुवनले ३६ होलको समाप्तिमा १०अन्डर १२८ को उत्कृष्ट प्रदर्शन गरे। उनले सन् २०१७ मा शिवराम श्रेष्ठको नाममा रहेको ६ अन्डर ६३ को रेकर्ड तोडेका हुन्।
भुवनले रवि खड्का र एमेच्योर गल्फर सद्भाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता बनाउँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन्। समग्रमा १ ओभर १३९ को नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सद्भाव संयुक्त रूपमा दोस्रो स्थानमा छन्।
रविले १ ओभर ७० र सदभावले ३ ओभर ७२ मा दोस्रो दिनको खेल सके। समग्रमा ४ ओभर १४२ सहित धरानका नीरज तामाङ चौथो स्थानमा रहे। उनले बिहीबार ४ ओभर ७३ को कार्ड तयार पारे। प्रदीपकुमार लामा र दीपक मगरले समग्रमा ६ ओभर १४४ को नतिजामा पाँचौं स्थान बाँडे।
प्रदीपले इभन पार ६९ र दीपकले ३ ओभर ७२ मा दोस्रो दिनको खेल पूरा गरे। यसै गरी जयराम श्रेष्ठ, शिवराम पौडेल, दलबहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७ ओभर १४५ सहित संयुक्त रूपमा सातौं स्थानमा छन्।
जयरामले १ अन्डर ६८, शिवराम पौडेलले २ ओभर ७१, दलबहादुरले ३ ओभर ७२ तथा बलभद्र र सुन्दरले समान ४ ओभर ७३ स्कोर गरे।
भूबहादुर गुरुङ, भुवनकुमार रोक्का, पशुपति शर्मा, सञ्जय लामा, दिनेश प्रजापति, युवराज भुजेल, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, कृष्णमान राजवाहक, रामे मगर, सञ्जीवबहादुर नेपाली, धनबहादुर थापा तथा एमेच्योर प्रज्वल गुरुङ, सुरेश तामाङले कट बनाएका छन्।
३६ होलको समाप्तिमा १४ ओभर १५२ स्कोर बनाएका २१ प्रोफेसनल र ४ एमेच्योर खेलाडीले कट बनाएका हुन्। ५४ होलको तीनदिने प्रतियोगिताको अन्तिम १८ होलको खेल शुक्रबार हुने छ।
प्रकाशित: ११ फाल्गुन २०८० ०९:५१ शुक्रबार