४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

चैत १५ गतेदेखि विराट गोल्डकप हुने

विराटनगरमा ८ औं विराट गोल्डकप प्रतियोगिता चैतको दोस्रो सातादेखि सुरु हुँदैछ। नेपाली फुटबलको इतिहासमा महत्त्वपूर्ण रहेको तथा चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १५ गतेदेखि सुरु गर्ने समय तालिका उपलब्ध गराए अनुसार प्रतियोगिता हुने विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोर शाहीले बताए। उनले भने, ‘प्रतियोगिताको समय तालिका पाएसँगै तयारीका काम थालिसकेका छौँ। मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरूसँग समन्वय गर्नेलगायतको काम भइरहेको छ। यस पटक पनि रात्रिकालीन प्रतियोगिता हुनेछ।’

सबै सरोकारवाला पक्षसँग समन्वयको काम भइरहेको छ। विराटनगरको शान भएकाले पनि यहाँका सबै पक्षबाट सहयोगको अपेक्षा गरेको बताउँदै, अध्यक्ष शाहीले भने, ‘विगतको जस्तो कसैलाई संयोजक नराख्ने र ट्रस्ट आफैंले यस पटक प्रतियोगिता गर्न लागेको हो। उद्योगी, व्यापारी, खेलकुदका संघसंस्थालगायत खेल आबद्ध सरोकारवाला पक्षसँग गोल्डकपलाई भव्य र सभ्य कसरी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौँ। सबै पक्षबाट पूर्ण रुपमा सहयोग प्राप्त गर्ने आश्वासन प्राप्त भएको छ।’

विगतका वर्षको जस्तो देशको आर्थिक स्थिति छैन। देशको आर्थिक स्थिति कमजोर भएको समय भएकोले पनि यस पटक पुरस्कार राशिमा केही कटौती गर्न बाध्य भएको बताउँदै, अध्यक्ष शाहीले भने, ‘सबै क्षेत्रमा आर्थिक सङ्कटले गर्दा नचाहँदा नचाहँदै पनि गोल्डकप ट्रस्ट बाध्य भएर यस पटकको पुरस्कार राशिमा कटौती गर्नु पर्‍यो। हाम्रो प्रतियोगितालाई प्रायोजक गरेर सहयोग गर्ने उद्योगी, व्यापारीलगायत विभिन्न सङ्घसंस्था आर्थिक मारमा परेको अवस्था छ।’

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ राशि प्राप्त गर्ने छन्। गत वर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार राशि पुरस्कार प्राप्त गरेका थिए। गत वर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेको हुँदा यस वर्ष पनि आर्थिक समस्या झेल्न नपरोस् भन्दै पुरस्कार राशिमा कटौती गर्न बाध्य हुनुपरेको अध्यक्ष शाहीले बताए। उनले आम्दानीभन्दा खर्च बढी हुने आँकडा भएपछि आम्दानी र खर्च बराबरी गर्दै प्रतियोगितालाई भव्य र सभ्य बनाउने योजना हो।

प्रतियोगितामा १० वटा क्लबको सहभागिता हुनेछ। जसमा ३ विभागीय नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल, आयोजकको एउटा टोलीका साथै भारत र भुटानका ‘ए’ डिभिजन क्लबहरूसँग सहभागिताका लागि समन्वय भइरहेको छ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२/०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ। गत वर्ष विराटनगर फुटबल क्लब र भारत केरलाको लुका सकर क्लबबिच भएको फाइनल खेलमा विराटनगरले उपाधि जितेको थियो। 

प्रकाशित: १० फाल्गुन २०८० १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App