१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट: पुलिस तेस्रोपल्ट च्याम्पियन

दशौं खेलसम्म अपराजित यात्रा कायम राख्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रोपल्ट च्याम्पियन भएको छ।

कीर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबमाथि ६ विकेटको जित निकाल्दै पुलिस च्याम्पियन भएको हो। च्याम्पियन पुलिसले ट्रफीसँगै १० लाख रूपैयाँ पाउँदा आर्मीले पाँच लाख रूपैयाँमा चित्त बुझाउनुपर्‍यो।

सन् २०१७ मा आर्मीसँग संयुक्त रूपमा च्याम्पियन पुलिसले २०१९ मा पनि यो प्रतियोगिताको उपाधि उचालेको थियो। तीनै पटक पुलिस च्याम्पियन हुँदा फाइनलमा आर्मी नै प्रतिद्वन्द्वी हो।

शंकर रानाको अर्धशतकप्रेरित नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबमाथि ६ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८२ रनको लक्ष्य पुलिसले ३७.५ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसको जितमा शंकर रानाले अविजित ६३ रनको अर्धशतकीय योगदान दिए। शंकरले ४३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।

 आरिफ शेखले पनि अविजित २७ रनको इनिङ खेल्दै शंकरलाई साथ दिए। यो जोडीले पाँचौं विकेटका लागि अविजित ८५ रनको साझेदारी गर्दै ७३ बलअगावै पुलिसको जित सुरक्षित गरायो। सामान्य लक्ष्य पछ्याएको पुलिसको पनि सुरुआत राम्रो हुन सकेन।

ओपनरद्वय कुशल भुर्तेल १४ रन र दिलीप नाथ ७ रनमै पभेलियन फर्किए। 
३.४ ओभरमा ओपनरद्वय गुमाउँदा पुलिस २५÷२ को अवस्थामा थियो। तर, त्यसपछि विकेटकिपर अर्जुन साउद र अमृत श्रेष्ठले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै इनिङ उकासे।

अर्जुन ३६ रन र अमृत २८ रनमा पभेलियन फर्किए। यद्यपि, शंकर र आरिफले त्यसपछि इनिङ समाल्दै जित दिलाए। आर्मीको बलिङमा जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ४९.५ ओभरमा एक सय ८१ रनमा नै अलआउट भयो।

खराब सुरुआत गरेको आर्मीले एकपछि अर्को विकेट गुमाउन पुग्यो। २४.५ ओभरमा ६९/७ को नाजुक अवस्था थियो। तर, त्यसपछि सोमपाल कामी र विवेक यादवले इनिङ समाले। यो जोडीले आठौं विकेटका लागि ५९ रनको साझेदारी गर्‍यो। सोमपालले राम्रो ब्याटिङ गरिरहेका थिए। तर, कुशल भुर्तेलको बलमा लगातार ठूलो सट प्रहार गर्ने चक्करमा उनी ३९औं ओभरमा आउट हुन पुगे।

सोमपालले ३९ रन जोड्दा एक चौका र छक्का हिर्काए। यद्यपि, विवेकले एक छेउबाट इनिङ समाले। अन्तिम ओभरमा उनी ६३ रनमा रनआउट हुन पुगे। विवेकले ८१ बलमा सात चौका र एक छक्का प्रहार गरे।

त्यसअघि ओपनर इमरान शेखले २८ रन जोडे। कुशल मल्लले १७ रन र जितेन्द्र मुखियाले अविजित १६ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। पुलिसको बलिङमा कप्तान दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीन तथा सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक विकेट लिए।

प्रतियोगितामा बाग्मती प्रदेशका सूर्य तामाङ सर्वोत्कृष्ट खेलाडी भए। त्यसबापत उनले मोटरसाइकल पुरस्कार पाए। उत्कृष्ट बलर पनि चयन भएका सूर्यले कुल ९ खेलमा ३० विकेट लिए।

उत्कृष्ट ब्याटर मधेसका अनिल साह र उदीयमान खेलाडी बाग्मती प्रदेशका आशुतोष घिरैया चयन भए। उत्कृष्ट सबैले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। समान ९ खेलमा अनिलले सर्वाधिक ३८६ रन र आशुतोषले ३८२ रन जोडे।

प्रकाशित: २१ माघ २०८० ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App