२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?

प्रि–म्याच कन्फरेन्सपछि थ्रीस्टार र त्रिभूवन आर्मीका प्रशिक्षक र कप्तान ट्रफी उचाल्दै । तस्बिरः उमेश पुन

पोखरामा जारी आहारारा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभुवन आर्मी क्लवबीच उपाधि भीडन्त हुँदैछ। 
करिब १५ हजार दर्शक उपस्थित हुने अनुमान गरिएको फाइनलमा उपाधि भिडन्तमा जसले राम्रो खेल्छ उसैलाई दर्शकको साथ र समर्थन रहन्छ। दर्शक बाह्रौ खेलाडी मानिने भएकाले त्यसले खेलाडीको मनोबल उकास्न सघाउँने खेलप्रेमीको भनाई छ।

थ्रीस्टारले सेमीफाइनलमा जाउलाखेल युथ क्लवलाई १–० ले पन्छाउँदै फाइनलको यात्रा गरेको थियो। यसले यसअघि प्रि–क्वाटरफाइनलमा आयोजक सहारा क्लव पोखरालाई २–१ र क्वाटरफाइनलमा भुटानको पारो एफसीलाई २–० ले हराएको थियो।

अर्काे दावेदार त्रिभुवन आर्मीले भने सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लवलाई २–१ गोल अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। आर्मीले यसअघि प्रि–क्वाटरफाइनलमा मोफसलको नवलपुर राईजिङ क्लवलाई १–० र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पीयन संकटा क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

थ्रीस्टार आहाराराको पाँचपटकको उपाधि बिजेता टिम हो। पुलिस र मनाङले समान ६ पटक आहाराराको उपाधि हात पारेका थिए। तर, अहिले पुलिस र मनाङ फाइनल खेल्नबाट रोकिइसकेका छन। पुलिस र मनाङ पछि सर्वाधिक उपाधि जित्नेमा थ्रीस्टार दर्ज छ। त्यसैले थ्रीस्टारलाई आहारारा पोखरा गोल्डकपमा भाग्यमानी टिम मानिन्छ। तर त्यहि भाग्यमानी टिमबिरुद्ध भिड्ने त्रिभुवन आर्मी भने अघिल्लो पटकसम्मको अभागी टिम मानिन्छ। निरन्तर सहभागि हुँदै आएको आर्मी चारपटक फाइनल पुगेपनि उपाधि जित्न नसकेको अभागी टिम हो।

त्यसैले आर्मी यसपटक जसरी पनि उपाधि जित्ने दाउमा छ। यसपटक राम्रो तयारी भएकाले उपाधि जित्नेमा आर्मीका कप्तान भरत खवास विश्वस्त छन्। ‘अहिलेसम्म उपाधि जित्न नसक्नु आर्मीको दुर्भाग्य हो,’ शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले भने, ‘तर यसपटक तयारी राम्रो छ। हामी उपाधि जित्नेमा विश्वस्त छौं।’

कप्तानमात्र होईन, प्रशिक्षक पनि यसपटक उपाधि जित्नेमा ढुक्क छन्। प्रशिक्षक मेघराज केसीले युवा खेलाडी रहेको र उनीहरुले उपाधि जित्नेमा आफु ढुक्क रहेको बताए। आफ्नो पूर्व क्लव थ्रीस्टारबिरुद्ध उपाधि भिडन्तमा रहेका उनले भने,‘म पूर्व क्लवबिरुद्ध भिड्न तयार छु। हामी उपाधि जित्नका लागि आएका हौं र जित्न सक्षमपनि छौं।’

पाँचपटक उपाधि जितेको थ्रीस्टार पनि उपाधिको जित संख्या थपेर नेपाल पुलिस क्लवको बराबरी गर्ने योजनामा छ। प्रशिक्षक र कप्तान पूर्व मेट भएकाले पनि यसपटक संयोजन मिल्दा उपाधि जित्न सजिलो हुने उनीहरुको विश्वास छ। कप्तान विराज महर्जनले भने, ‘पूर्व मेट नै अहिलेको प्रशिक्षक भएकाले टिममा सहज वातावरण छ। यसैले खेल जित्न सहज हुने विश्वास छ।’ उनले उपाधि भिडन्तका लागि आफूहरु तयार रहेको बताए।

प्रशिक्षक विक्रम लामाले आहारारा पोखरा गोल्डकप जितेर उपाधि यात्रा शुरु गर्ने योजनामा आफू रहेको बताए। उनले यो उपाधि भिडन्त आफ्नो लागि अवसर र चुनौति दुबै भएको बताउँदै भने, ‘यो उपाधि जितेर म प्रशिक्षण करियरमा उपाधि यात्रा शुरु गर्नेछु।’ तर उनको यो उपाधि यात्रामा उनकै पूर्व गुरु मेघराज केसी बाधक बन्न सक्छन्। त्यसैले उनले उपाधि जित्नका लागि आफ्नै गुरुको योजना विफल पार्नुपर्ने हुन्छ। ‘त्यसका लागि म तयार छु’–उनले भने ।

प्रकाशित: १९ माघ २०८० १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App