६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

आर्मी र पुलिसबीच उपाधि भिडन्त

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

फाइनल पुगेपछि आर्मी क्लबका खेलाडी। तस्बिर: क्यान

फाइनल पुग्न जित्नैपर्ने खेलमा त्रिभुवन आर्मी क्लबले बिहीबार गण्डकी प्रदेशलाई ६४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। 
अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बिहीबार सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हराई प्रतियोगितामा अपराजित रहँदै लिग यात्रा टुङ्ग्याएको छ।

फाइनलमा अब आर्मी र पुलिस आगामी शनिबार भिड्नेछन्। समान ९ खेलमा अपराजित पुलिसले १८ अंक र आर्मीले १४ अंकसहित शीर्ष दुईमा रहेर उपाधि भिडन्त तय गरेका हुन्। यद्यपि, पुलिस भने सात खेलसम्म अपराजित रहँदै दुई खेलअगावै फाइनलमा पुगेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीको सात विकेटसँगै अलराउन्ड प्रेरणामा पुलिस बिहीबार सुदूरपश्चिमाथि जित निकाल्दै लिगमा अपराजित रह्यो।

जारी प्रतियोगिताको बिहीबार लिगका अन्तिम दुई खेल भए। दुवै खेलमा ब्याटिङ चल्न सकेन र बलिङको दबदबा रह्यो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आर्मीको पनि ब्याटिङ चल्न सकेन र बलिङका कारण जित निकाल्यो।

आर्मीले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी पनि २३.४ ओभरमा ६४ रनमै समेटियो। आर्मीको जितमा स्पिनर साहब आलमको प्रदर्शन निर्णायक बन्यो। चार विकेटसँगै अलराउन्ड प्रदर्शन गरेका साहब म्यान अफ दी म्याच घोषित भए। आर्मीको बलिङसामु गण्डकी पनि चल्नै सकेन।

ओपनर ईश्वर क्षेत्रीले १६ रन र करण पंगेनीले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। आर्मीका स्पिनर आलमले चार विकेट लिए। उनले सात ओभरमा दुई मेडन राख्दा १७ रन मात्र खर्चिए। जितेन्द्र मुखिया र कुशल मल्लले समान दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीको निर्णय पनि सही साबित भएन। सुरुदेखि नै दबाबमा रहेको आर्मी ३९.१ ओभरमा १३२ रनमै अलआउट भयो। आर्मीका ओपनर इमरान शेखको ३४ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

उनले ६४ बलमा तीन चौका र एक छक्का प्रहार गरे। कप्तान विनोद भण्डारीले १९ रन र कुशल मल्लले १५ रन मात्र बनाए। तर, तल्लो क्रमका सोमपाल कामीले २३ रन जोड्दा साहब १२ रनमा नटआउट रहँदै आर्मीको इनिङ उकास्ने प्रयास गरे।

गण्डकीको बलिङमा विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान दुई विकेट लिए। सन्दीप पराजुली र रोशन गौतमको नाममा समान एक विकेट रह्यो। विभागीय टोलीविरुद्ध उत्कृष्ट बलिङ गरेको गण्डकीले ब्याटिङमा साथ नपाउँदा आर्मीलाई फाइनलमा पुग्नबाट रोक्न सकेन।

पुलिसलाई नवौं जित दिलाउन बिहीबार कप्तान दीपेन्द्रसिंहले अलराउन्ड प्रदर्शन गरे। उनले ब्याटिङमा ४४ रन र बलिङतर्फ सात विकेट दिलाए। पुलिसको पनि मूलपानी क्रिकेट मैदानमा ब्याटिङ चल्न सकेन।

पुलिसले दिएको १९९ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७.१ ओभरमा १२० रनमै अलआउट भयो।सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहराले ३० रन र किरण ठगुन्नाले २४ रन बनाए। तल्लो क्रमका नरेन साउद २४ रनमा नटआउट रहे पनि साथ पाउन सकेनन्। त्यसबाहेक सुदूरपश्चिमका अन्य ब्याटर चल्नै सकेनन् र पुलिस दीपेन्द्रसिंहको बलिङसामु निरीह बन्यो।

पुलिसको बलिङमा दीपेन्द्रसिंह ऐरीले सात विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशयी बनाए। उनले १० ओभरमा चार मेडन राख्दै २० रन मात्र दिए। ललितनारायण राजवंशी, ललित भण्डारी र सागर ढकालको नाममा समान एक विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा १९८ रनमै अलआउट भयो। दीपेन्द्रसिंहले ४४ रन र शंकर रानाले ४६ रनको योगदान लिए। अर्जुन साउदले ३२ रन र आरिफ शेखले २६ रन जोडे। अन्य ब्याटर भने चल्न नसक्दा पुलिस पनि सस्तैमा समेटियो।

सुदूरपश्चिमका बलर शेर मल्लले तीन विकेट लिँदा मिलन बोहरा, विकास आग्री र नारायण जोशीले समान दुई विकेट निकाले। दीपक चन्दको नाममा एक विकेट रह्यो। प्रतियोगिताको लिग चरणका शीर्ष चार टोलीले इलिट ट्रफीका लागि खेल्न पाउनेछन्। शीर्ष दुईका टोली पुलिस, आर्मीका साथै तेस्रो स्थानको बाग्मती र मधेस प्रदेशले इलिट ट्रफी खेल्न पाउनेछन्।

एपिएफ भने इलिट ट्रफीमा स्थान बनाउन असफल रह्यो। हालसम्म यो प्रतिस्पर्धाका लागि मिति र फरम्याट भने तय भइनसकेको नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेटिङ म्यानेजर विनोद दासले जानकारी दिए। 

प्रकाशित: १९ माघ २०८० ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App