नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले बिहीबार पनि सूर्य नेपाल इस्टर्न ओपनमा एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा कायमै राखेका छन्।
धरान गल्फ क्लबमा जारी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शुक्रले नीरज तामाङमाथि एक स्ट्रोकको अग्रता लिएका हुन्। दुई दिनको खेल सकिँदा शुक्रले दुई अन्डर १३८ र नीरजले एक अन्डर १३९ को स्कोर कार्ड बनाए।
बिहीबार शुक्रले एक ओभर ७१ को प्रदर्शन गरे। नीरजको प्रदर्शन पनि एक ओभर ७१ मा रह्यो। पूर्वनम्बर एक प्रोफेसनल भुवन नगरकोटी समग्रमा दुई ओभर १४२ को स्कोर कार्डसहित उनीहरूलाई पछ्याइरहेका छन्।
भुवनले दोस्रो दिन दुई ओभर ७२ को स्कोर कार्डमा खेले। उनीसँगै एमेच्योर गल्फर युवराज भुजेल पनि तेस्रो स्थानमै छन्। रवि खड्का, राजेन राई र भुवनकुमार रोक्काले संयुक्त रूपमा चौथो स्थान बाँडे। यी तीनैले समग्रमा चार ओभर १४४ को स्कोर जोडे। तीनैले एक अन्डर ६९ को स्कोर कार्डमा रहेर दोस्रो दिनको खेल सकाए।
प्रकाशित: १२ माघ २०८० ०१:२३ शुक्रबार