२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अनिलको शतकमा मधेसको पाँचौं जित

प्रधानमन्त्री कप क्रिकेट

शतक प्रहारपछि मधेसका अनिल साह। तस्बिर: क्यान

ओपनर अनिल साहको १२७ रनको शतकीय प्रेरणामा मधेस प्रदेशले बिहीबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकालेको छ।

ओपनर अनिलको शतकसँगै बलिङमा पनि साथ पाएपछि मधेसले कीर्तिपुरमा गण्डकी प्रदेशमाथि १४५ रनको जित निकालेको हो। बिहीबारकै अर्को खेलमा बागमतीले पनि सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै पाँचौं जित नै आत्मसात् ग¥यो। समान आठ खेलबाट मधेस र बागमतीले समान १० अंक बटुलेका छन्।

राउन्ड रोविन लिगमा दुवैले एक खेल खेल्न बाँकी छ। लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। मधेस र बागमती दुवैले लिगको अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग खेल्दैछन्। त्यो खेल जित्दै दुवै टोली शीर्ष दुईको दाबेदारी कायम राख्ने लक्ष्यमा छन्।

सुदूरपश्चिमले भने बागमतीविरुद्ध हारसँगै फाइनलको सम्भावना बलियो बनाउने अवसर गुमायो। ६ खेलबाट सुदूरपश्चिम आठ अंकका साथ पाँचौं स्थानमा छ।

मूलपानी क्रिकेट मैदानमा बागमतीले दिएको दुई सय ४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३०.३ ओभरमा १५० रनमै अलआउट हुन पुग्यो। सुदूरका तीन ब्याटर मात्र चल्न सके। तर, जिताउन भने असफल रहे।

नरेन भट्ट र तल्लो क्रमका किरण ठगुन्नाले समान ४१ रन बनाए। नरेनको इनिङमा ६ चौका मात्र रह्यो। आक्रामक ब्याटिङ गरेका किरणले २७ बलमा चार चौका र तीन छक्का प्रहार गरे। यी दुईले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे।

ओपनर खडक बोहराले २१ रन जोड्दा अन्य ब्याटर भने दोहोरो अंकमा रन बटुल्न असफल रहे। बागमतीको बलिङमा सूर्य तामाङ र विपिन आचार्यले समान तीन विकेट लिए। रिजन ढकाल, क्रिजन गुरुङ र सोनु देवकोटाको नाममा समान एक विकेट रह्यो।

 त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओरभमा ९ विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनायो।

बागमतीका ओपनर आसुतोष घिरैयाले सर्वाधिक ५४ रन बनाए। लयमा रहेका आसुतोषले ६२ बलमा ६ चौका र तीन छक्का हिर्काए। कप्तान रित गौतमले ४४ रन, अशोक पौडेलले ३१ रन र रविन जोशीले २४ रन जोड्दा सोनु देवकोटा २८ रनमा नटआउट रहे।

ओपनर आसुतोष र कप्तान रितले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ समाले। सुदूरपश्चिमको बलिङमा नारायण जोशी र शेर मल्लले समान तीन लिए। विकाश आग्रीले दुई तथा मिलन बोहराले एक विकेट निकाले। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मधेसले दिएको तीन सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा एक सय ९० रनमै समेटियो।

गण्डकीका ईश्वर क्षेत्री र कमल परियारको समान २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। मधेसको बलिङमा रन्जित कुमारले चार र हरिशंकर साहले तीन विकेट लिए।

प्रदीप पासवानले दुई र राजेश यादवले समान एक विकेट निकाले। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३५ रनको योगफल बनायो। ओपनर अनिल साहले १२७ रन जोड्दा यादगार प्रदर्शन गरे। १२५ बल खेल्दै उनले ११ चौका र ६ छक्का हिर्काए।

अरनिको यादव ६३ रनमा नटआउट रहँदै उनलाई साथ दिए। अलराउन्डर पवन सर्राफले ४० रनको योगदान दिँदा रूपेश सिंहले ३२ रन, मायन यादव र अभिशेक तिवारीले समान २७ रन जोड्दै मधेसलाई विशाल योगफलतर्पm अग्रसर गराए।

गण्डकीका बलर सन्दीप पराजुलीले दुई विकेट लिँदा कृष्ण पौडेल र कमल परियारले समान एक विकेट निकाले। भैरहवामा बिहीबार नै लुम्बिनी प्रदेशलाई सात विकेटले स्तब्ध बनाउँदै विभागीय टोली एपिएफ क्लबले तेस्रो जित निकाल्यो।

सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनीले दिएको एक सय ३४ रनको सामान्य लक्ष्य एपिएफले २२.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो। जितसँगै ६ खेलबाट ६ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ। लुम्बिनी भने पाँच खेलबाट चौथो हार बेहोर्दै दुई अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित: १२ माघ २०८० ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App