५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

जाउलाखेलसँग मच्छिन्द्र स्तब्ध

आहा ! रारा पोखरा गोल्डकपमा मच्छिन्द्रविरुद्ध गोल गरेपछि गोल सेलेब्रेसन गर्दै जाउलाखेलका हिसुब थपलिया। तस्बिर: उमेश पुन/नागरिक।

राष्ट्रिय फुटबल टिमका सदस्यहरु वर्चस्व रहेको मच्छिन्द्र क्लब जाउलाखेल युथ क्लबसँग स्तब्ध भएको छ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा ! रारा पोखरा गोल्डकपको बिहीबार भएको खेलमा मच्छिन्द्र जाउलाखेलसँग १–० ले स्तब्ध भएको हो। हारसँगै मच्छिन्द्र प्रतियोगिताबाट पहिलो खेलबाटै बाहिरिएको छ भने विजयी जाउलाखेल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

जउलाखेलका लागि हिसुब थपलियाले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा गोल गर्दै जाउलाखेलको जित सुनिश्चित गरेका हुन्। राष्ट्रिय टिमबाट सन्यास घोषणा मच्छिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठ अगाडि बढेर गरेको गल्तीको फाइदा उठाउँदै जाउलाखेलका थपलियाले खाली पोष्टमा जाली चुमाएका थिए। प्रतिष्पर्धात्मक खेलमा सोही गल्तीका कारण मच्छिन्द्र पहिलो खेलबाटै घर फर्किन बाध्य भयो।

दोस्रो हाफमा मच्छिन्द्रले सुधारिएको खेल प्रदर्शन गर्‍यो। अधिकांश समय बल होल्ड गर्दै लगातार आक्रमण बुनेपनि मच्छिन्द्रले स्कोर गर्न असफल भएपछि हार टार्न सकेन। मच्छिन्द्रले खेलको ४८ औं मिनेटमा बराबरी गर्ने मौका गुमायो। पेनाल्टी बक्स नजिकै पाएको फ्रिकिकमा विमल घर्ती मगरको प्रहार क्रसबारमा लागेर फर्किदा मच्छिन्द्रको क्वाटरफाइनल पुग्ने ढोका बन्द भयो।

चौथो पटक सहभागी जाउलाखेल एक पटकमात्र फाइनलसम्म पुगेको छ। २०६८ मा भएको दशौं आहा ! रारा गोल्डकपको पहिलो सहभागितामै जाउलाखेल फाइनलमा पुगेको थियो। त्यसयता एक पटक सेमिफाइनल र अर्को एक पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको जाउलाखेल त्यसपछि भने सहभागी हुन छाडेको थियो।

प्रतियोगिता अन्तर्गत प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा शुक्रबार विभागीय टिम एपीएफविरुद्ध चर्चब्वाइज फुटबल क्लबले प्रतिष्पर्धा गर्नेछ।

प्रकाशित: ११ माघ २०८० १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App