१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

सूर्य नेपाल इस्टर्न ओपन सुरू: पहिलो दिन शुक्रलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३–अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन।

डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तीमा १ स्ट्रोकले पछि पारे। २–अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन।

एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे। उनीहरूले १–अन्डर ६९ स्कोर गरे। पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन–पार ७० सहित पाँचौ स्थानमा र १–ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा रहेका छन। स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रीनले २–ओभर ७२ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे। भेट्रान गल्फर दीपक मगर ३–ओभर ७३ सहित नवौं स्थानमा रहदा धन बहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन। उनीहरूले ४–ओभर ७४ मा पहिलो दिनको खेल सकाए।

भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले आज घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गरे। ५–पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे। यसपछि पाँचौ देखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। ब्याक नाइनमा उनले लय गुमाए। १३औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औं र १६औं होलमा एक–एक सट बचाए। तर १७औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे।

धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल सकाउने क्रममा उत्कृष्ट सुरूवात गरे। तेस्रो, पाँचौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। यसपछि १४औं र १५औं होलमा लगातार दुई बोगी प्रहार गरे। १६औं होलको बर्डीले ब्याक नाइन १–ओभर ३५ मा पुरा गरे।

एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र पाँचौ होलमा एक–एक सट बचाए। १२औं होलमा बर्डी प्रहार गरे। तर १४औं १६औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा सकाए।

अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। तर चौथो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। यसपछि १०औं र १८औं होलमा बर्डी प्रहार गरेका पदमले १४औं र १५औं होलमा एक–एक सट खेर फाले।

तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ। पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ।

प्रकाशित: १० माघ २०८० १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App