१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको खराब सुरुआत

यु-१९ विश्वकप

न्युजिल्यान्डविरुद्ध अर्धशतक बनाएपछि नेपालका अर्जुन कुमाल। तस्बिर: क्यान

बलिङ र ब्याटिङ चल्न नसकेपछि नेपालले आइतबार न्युजिल्यान्डसँग ६४ रनको हार बेहोर्दै यु–१९ विश्वकपमा खराब सुरुआत गरेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा खराब बलिङसँगै शीर्ष क्रमका ब्याटरले धैर्यपूर्वक ब्याटिङ गर्न नसक्दा देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोलीले पहिलो खेलमै हार बेहोर्नुपर्‍यो। इस्ट लन्डनको बुफालो पार्कमा तीन सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले पूरै ओभरमा खेले पनि ९ विकेटको क्षतिमा २३८ रन मात्र बनाउन सक्यो।

ओपनर अर्जुन कुमालबाहेक अन्य ब्याटरले धैर्यपूर्वक ब्याटिङ गर्न सकेनन्। एक समय १७६/८ को अवस्थामा हुँदा नेपाल फराकिलो हार संघारमा थियो। तर, पुछारका ब्याटर सुवास भण्डारीले अविजित ३३ रनसँगै अलराउन्ड प्रदर्शन गरेपछि नेपालले हारको अन्तर घटायो।

बलिङमा तीन विकेट लिएका सुवासले नवौं विकेटका लागि आकाश चन्दसँग २५ रन र दशौं विकेटका लागि तिलक भण्डारीसँग ३७ रनको साझेदारी गरे। त्यसअघि नेपालको सुरुआत राम्रो हुन सकेन र खाता नखोल्दै ओपनर दीपक बोहोरा शून्यमै आउट हुन पुगे।

 अर्का ओपनर अर्जुन कुमालले अर्को छेउबाट इनिङ समाले। तर, छैटौं ओभरमा आकाश त्रिपाठी २ रनमै आउट भएपछि नेपाल ५.४ ओभरमा १८/२ को अवस्थामा पुग्यो। त्यसपछि ओपनर अर्जुन र कप्तान देव खनालले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए। १६औं ओभरको अन्तिम बलमा देव पनि आउट हुन पुगे।

इवाल्ड स्क्रेउडेरले उनलाई ३६ रनमा आउट गर्दै नेपाललाई तेस्रो झड्का दिए। ३४ बल खेलेका देवले पाँच चौका र एक छक्का हिर्काए। त्यसपछि आएका उत्तम मगर शून्यमा नै आउट हुँदा राष्ट्रिय टोलीबाट खेलिसकेका गुल्सन झा पनि दुई रनमै पभेलियन फर्किए। त्यससँगै २०औं ओभरमा नेपालले सय रनको आँकडा पार गर्दा पाँच ब्याटर गुमायो। तर, त्यसपछि अर्जुनले राम्रो साथ पाउन नै सकेनन्।

तल्लो क्रममा ब्याटिङ गर्ने दीपक बोहोराले क्रिजमा जम्ने प्रयास गरे पनि सफल भएनन्। उनी पनि १५ रनमा मेसन क्लार्कद्वारा आउट भए। क्लार्कले दीपेश कँडेललाई पनि शून्यमै नै आउट गर्दै अर्को झड्का दिए।

शतकनजिक पुगेका ओपनर अर्जुन पनि ९० रनमा आउट भए र नेपाल हारको संघारमा पुग्यो। १०४ बलमा उनले १२ चौका प्रहार गरे। तर, नवौं र दशौं क्रमका ब्याटरद्वय क्रमशः सुवास र आकाशले २५ रनको साझेदारी गर्दै नेपालको इनिङमा दुई सय रनको आँकडा पार गराए।

४४औं ओभरमा ओस्कार ज्याक्सनले आकाशलाई १४ रनमा एलबिडब्लु आउट गर्दै नेपालको नवौं विकेट पतन गराए। सुवासले तिलकसँग दशौं विकेटका लागि पनि राम्रो साझेदारी गरे। सुवास चार चौकासहित ३३ रनमा र तिलक दुई चौका र एक छक्कासहित १७ रनमा अविजित रहे।

न्युजिल्यान्डको बलिङमा क्लार्कले तीन विकेट लिँदा ओस्कार ज्याक्सन र इवाल्डले समान दुई विकेट तथा म्याट रोवे र ज्याक कुमिङले समान एक विकेट निकाले। त्यसअघि स्नेहित रेड्डीको शतकप्रेरित न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रनको योगफल बनायो।

स्नेहित १४७ रनमा नटआउट रहँदा नेपालले चुनौतीपूर्ण लक्ष्य सामना गर्नुपर्‍यो। १२५ बलमा उनले ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कारले ७५ रन, टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्प्सनले १३ रन बनाए। ओस्कारले ८१ बलमा पाँच छक्का र तीन चौका हिर्काए।

टोम र लुकले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। त्यसपछि स्नेहित र ओस्कारले चौथो विकेटका लागि एक सय ५७ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ अग्रसर गराए। नेपालको बलिङमा सुवास भण्डारीले तीन, गुल्सन झाले दुई तथा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट लिए।

समूह ‘डी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल बुधबार पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानले यस अघि शनिबार नै अफगानिस्तानमाथि १८१ रनको जित निकाल्दै सुखद सुरुआत गरेको छ। 

प्रकाशित: ८ माघ २०८० ००:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App