६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

टाइगर कप भलिबल: महिलातर्फ पुलिस शीर्ष स्थानमा, पुरुषतर्फ श्रीलङ्का आर्मी र हेल्प नेपाल विजयी

टाइगर कपमा मंगलबार त्रिभुवन आर्मीविरुद्ध भारतको हरियाणा प्रतिस्पर्धा गर्दै। तस्बिर: उमेश पुन

टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको खेलमा मंगलबार पुलिस आयोजक गण्डकीलाई सोझो सेटमा हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

तीन भारतीय खेलाडीसहित नेपाल भलिबल टिमकी राष्ट्रिय कप्तान अरुणा शाहीको नेतृत्वमा मैदानमा उत्रिएपनि आयोजक गण्डकी पुलिससामु निरीह देखियो। पुलिसले आयोजक गण्डकीलाई २५–१०, २५–०९ र २५–१६ ले पराजित गर्‍यो।

ग्रुप बी मा रहेको नेपाल पुलिस क्लबको चार अङ्क पुगेको छ । पहिलो दिनको खेलमा एपीएफसँग पराजित भए पनि बेष्ट अफ फाइभमा पुगेर १ अङ्क जोडेको पुलिसले मंगलबार थप ३ अङ्क जोड्दै कुल ४ अङ्क पुर्‍याएको हो।

महिलातर्फकै अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा पराजित गर्‍यो। कडा प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो सेट जिते पनि दोश्रो र तेश्रो सेट हरियाणालाई सुम्पियो। तर चौथो सेटमा पुनरागमन गर्दै आर्मीले सेट बराबरी गर्‍यो र पाचौं तथा अन्तिम सेटमा निकाल्दै आर्मी विजयी भयो। मंगलबार भएको खेलमा आर्मी हरियाणालाई २५–२२, २०–२५, १८–२५, २५–१७ र १५–१२ को कठिन अवस्थामा पराजित गर्दै विजयी भयो।

पुरुषतर्फको समूह बी को खेलमा पाहुना टोली श्रीलङ्का आर्मीले विजयी सुरुवात गरेको छ। पहिलो सेट गुमाएको श्रीलङ्का आर्मीले खेलमा पुनरागमन गर्दै त्यसपछिको लगातार तीन सेट जितेर एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो सेट २३–२५ ले गुमाएको श्रीलङ्का आर्मी त्यसपछि दोश्रो सेट २५–१९, तेश्रो सेट २५–२१ र चौथो सेट २५–१३ ले पछि पार्दै विजयी भयो।

जितसँगै श्रीलङ्का आर्मी ३ अङ्क जोड्न सफल भएको छ।

पुरुषतर्फको अर्को खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले तीन जना पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–१ सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। पहिलो र दोश्रो सेट जितेको हेल्प नेपाल स्पोर्टस क्लबले तेश्रो सेट गुमाउँदा जितका लागि चौथो सेटसम्म कुर्नुप¥यो। हेल्प नेपालले २५–१८ र २५–२० ले जिते पनि तेश्रो सेटमा २३–२५ ले परेको थियो। तर चौथो सेट २५–२० ले जितेपछि हेल्प नेपाल ३ अङ्क जोड्न सफल भयो।

प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणका खेलहरू जारी रहने आयोजकले जनाएको छ। बुधबार महिलातर्फ एपीएफ क्लब र गण्डकी प्रदेश तथा दोश्रो खेल चन्द्रागिरि नगरपालिका न्यू–डायमण्ड क्लब र भारतको हरियाणा पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र श्रीलङ्का आर्मी तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल सङ्घबिच प्रतियोगिता हुने आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।

प्रकाशित: २ माघ २०८० १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App