१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान

जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

नेपाल पुलिसका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्। मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा भएको प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार गरिन्।

जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजीसहित स्न्याचमा ७३ केजी गरी जम्मा एक सय ६६ केजी भार वहन गर्दै स्वर्ण जितिन्। सिनियर महिलाको ८७ केजीमाथि विद्याले क्लिन एन्ड जर्कमा कीर्तिमान रच्ने क्रममा ९२ केजी वजन उठाइन्।

उनकै नाममा ९१ केजीको कीर्तिमान थियो। क्लिन जर्कमा ९२ केजीसहित स्न्याचमा ६५ केजी गरी कुल १५७ केजी तौल उठाउँदै विद्याले स्वर्ण चुमिन्। प्रतियोगिताको पहिलो दिन मंगलबार कृष्णकला विष्ट र दिलिप यादवले राष्ट्रिय कीर्तिमान बनाएका थिए। दुवै कीर्तिमानधारी पनि पुलिसकै हुन्।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि पुलिसकी जयन्ती श्रेष्ठ, ७६ केजीमा पुलिसकी पूजा कुमाल र ८१ केजीमुनि पुलिसकै तारादेवी पुन पहिलो भए। युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरी तथा ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पारे।

सिनियर पुरुषको १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्ष स्थान हात पारे। स्वर्ण विजेतात्रय पुलिसका हुन्। जुनियर पुरुषको १०२ केजीमा एपिएफका सञ्जय यादव तथा १०९ केजीमुनि एपिएफकै रोजन तुलाधर पहिलो भए।

प्रतियोगिताको पुरुषमा पुलिसका प्रकाश केसी तथा महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी घोषित भए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा एक सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २७ पुस २०८० ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App