४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

प्रस्तावित कार्यक्रमसहित क्यानले ल्यायो वार्षिक क्यालेण्डर

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटलाई व्यवस्थित गर्ने उद्देश्य अनुरूप केही प्रस्तावित कार्यक्रम समेट्दै वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ।क्यानले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज  पत्रकार सम्मेलन आयोजना गर्दै केही प्रस्तावित अन्तर्राष्ट्रिय प्रतिष्पर्धासहित वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो।

 क्यानले यसअघि आयोजना हुँदै आएको प्रतियोगितालाई व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय प्रतिष्पर्धा सहभागिताका साथै केही नयाँ योजनासहित वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। क्यानको पहिलो बोर्ड बैठकअनुरूप नै वार्षिक क्यालेण्डर तयार पारिएको हो। क्यानका उपाध्यक्ष रोशन सिंहले यसै जनवरीदेखि आगामी डिसेम्बरसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने जानकारी दिए।महिला र पुरुषको सिनियर राष्ट्रिय टोली, उमेरसमूह र विभिन्न घरेलु प्रतियोगिता समट्दै नेपाल क्रिकेट संघ(क्यान) ले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।

केही प्रस्तावित योजना सहित क्यानले राष्ट्रिय टोली बलियो बनाउन नेपाल ‘ए’, युवा टोली र विभिन्न उमेरसमूहका प्रतियोगितालाई प्राथमिकता राख्ने उल्लेख गरेको छ। क्यानका सचिव पारस खड्काले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सकिए लगत्तै ‘ए’ टिम बनाउने बताएका छन्।यसअघि हुँदै आएका प्रतियोगिता र केही नयाँ कार्यक्रम समेट्दै क्यानले नेपाली क्रिकेटमा लगानीकर्ताको चासो समेत बढाउने आशा व्यक्त गरेको छ। क्यानका सचिव पारस खड्काले घरेलु मैदानमा जतिसक्दो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नसके आय पनि बढ्ने उल्लेख गरे। क्यानका सचिव खड्काले टेस्ट राष्ट्रलाई देशमा ल्याउन एक ढेड वर्ष अगाडि नै तयारी गर्नुपर्ने भएकाले उच्चस्तरको टोलीसँग घरेलु मैदानमा खेल्न समय लाग्ने धारणा राखे।

साथै उनले आफ्ना कार्यक्रम सम्पन्न गर्न सरकार र नीजि क्षेत्रको सहयोग लिने विश्वास व्यक्त गरे। क्यानले उमेर समूहमा ट्यालेन्ट हन्ट गर्ने योजना समेत आफ्नो कार्यक्रममा उल्लेख गरेको छ। क्यानका क्रिकेट म्यानेजर विनोद दासले राष्ट्रिय टोलीमा पर्नसक्ने र केही युवा खेलाडी सम्मिलित ‘ए’ टोली बनाउने योजना रहेको बताए। क्यानका सचिव खड्काले महिला क्रिकेटका लागि कुनै विदेशी टोली नेपालमा बोलाएर खेलाउने तयारी पनि भइरहेको बताए।क्यानले मेमा सिनियर टोलीको हाइ पर्फमेन्स क्याम्पका लागि वेस्ट इण्डिज पठाउने, जुलाईमा नेपाली पुरुष टोलीको युके टुर गराउने र डिसेम्बरमा फस्र्ट क्लास क्रिकेट गर्ने जस्ता प्रश्ताव अघि सारेको छ।

साथै पहिलो पटक विभागी डर्बी गर्ने पनि क्यानले उल्लेख गरेको छ। नेपालमा अफ सिजन रहँदा क्यानले विदेशी भुमिमा केही अभ्यास खेल खेल्ने प्रश्ताव अगाडि सारेको छ। सचिव खड्काले जुनदेखि अगस्टसम्म इङ्ल्याण्डको काउन्ट टिमसँग खेल्ने पस्ताव गरिएको बताए।क्यानले सन् २०२७ मा यु–१९ महिला विश्वकपको सहआयोजना गर्दैछ।त्यसका लागि क्यानले तीन वर्षको योजना ल्याउने भएको छ। अहिले देखि योजना बनाएर अगाडि बढ्ने र आफैंले विश्वकप आयोजना गर्ने भएकाले एशिया क्वालिफायरमा छनोट गर्ने उद्देश्यसहित काम गर्ने क्यानका सचिव खड्काको विश्वास छ।

क्यालेण्डरअनुसार नेपालले अगामी महिना नै क्यानडासँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्नेछ। तीन खेलको श्रृंखला माघ २६ देखि फागुन दुई गतेसम्म नेपालमै हुने भएको छ।फेब्रुअरी २७ देखी ५ मार्चसम्म नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय ट्वान्टी–२० श्रृंखला पनि आयोजना गर्नेछ।

मार्च ६ देखि १२ सम्म भने नेपालले चार देश सम्मिलित ट्वान्टी २० अन्तर्राष्ट्रिय श्रृंखला पनि खेल्ने योजना बनाएको छ। मार्च १९ देखि ३० सम्म घरेलु मैदानमा नेपाल ए र आयरल्याण्ड ‘ए’ बीच पाँच एकदिवसीय र तीन ट्वान्टी २० खेलको श्रृंखला हुनेछ। सेप्टेम्बरमा घरेलु टोली क्यानडा, ओमान र नेपालबीच त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय श्रृंखला हुनेछ।

अक्टोबरमा नेपालले घरेलु टोली अमेरिका र स्कटल्यान्ण्सँग त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखला खेल्नेछ।क्यानका सचिव पारस खड्काले फ्रेन्चाइज प्रतिष्पर्धा नेपाल प्रिमियर लिग क्यानले सञ्चालन गर्ने उल्लेख गर्दै त्यसका लागि क्यानको बोर्डले थप निर्णय लिने बताए। सो आयोजना नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म गरिने क्यालेण्डरमा उल्लेख छ।क्यानले वार्षिक क्यालेण्डरलाई पूर्णता दिन सरकार, आइसिसी र निजी क्षेत्रबाट सहयोग मिल्ने विश्वास व्यक्त गरेको छ।  

प्रकाशित: १९ पुस २०८० १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App