२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इलाम गोल्डकपका लागि अस्थायी प्याराफिट बन्दै

इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ। लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरूको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्याराफिटसहितका स्तरीय खेल मैदान छैनन्।

पक्की प्याराफिटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौं खर्च गरेर बाँसको अस्थायी प्याराफिट निर्माण गर्नुपर्ने बाध्यता छ। आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ’प्रथम इलाम गोल्डकप’ हुँदैछ।

गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्याराफिट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले बताए।

सदरमुकामको खेलमैदानमा पक्की प्याराफिट नभएपछि बाँसको अस्थायी प्याराफिट निर्माण गर्नु आयोजकको बाध्यता भएको सचिव घिमिरेले बताए। इलामका अधिकांश क्षेत्रमा आयोजना हुने गोल्डकपमा बाँसको अस्थायी प्याराफिट प्रयोग गर्ने गरिएको छ।

अस्याथी प्याराफिट करिब चार हजार दर्शक अटाउने क्षमताको रहेको सचिव घिमिरेले जानकारी दिए। टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए।

अस्थायी प्याराफिट निर्माणसँगै इलाम गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ। ’सदरमुकामको मुख्यबजारसँगै रहेको टुँडिखेलमाल स्थायी प्याराफिट नभएकाले बाँसको अस्थायी प्याराफिट निर्माण गरिरहेका छौं’, सचिव घिमिरेले भने, ‘दर्शकको सुविधाका लागि प्याराफिट निर्माणको काम ७५ प्रतिशत सकिएको छ।’ 

मैदानको एकातर्फ जमिनको भूभाग भएकाले बाँकी तीन भागमा बाँसको अस्यायी प्याराफिट निर्माण गरिएको घिमिरे बताए। टुँडिखेल स्तरोन्नति र प्याराफिट निर्माणका लागि १० लाख खर्च लागेको उनले बताए।

गोल्डकपमा आयोजकसहित नेपालका ’ए’ डिभिजन क्लब र भारतका क्लब गरी आठ टोलीको सहभागिता रहने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मुले जानकारी दिए।

उनका अनुसार आयोजक रेडहर्ष फुटक्बल क्लबसहित ’ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), एकाडेमी रोयल एक्सिलेन्सा डुबाला क्यामरुन, पाँचथर युवा क्लब, झापा युनाइटेड, जागृती युवाक्लब इटहरी, बागमती युवाक्लब र विदेशी टोली भारत दार्जिलिङको सहभागिता रहने छ। गोल्डकप विजेताले नगद रु पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन्।

यसअघि सदरमुकाममा माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुँदै आएको थियो तर छैटौं संस्करणसम्म सञ्चालन भए पनि विविध कारण देखाउँदै स्थगित भएपछि पहिलोपटक इलाम गोल्डकप सुरु हुन लागेको हो। –रासस

प्रकाशित: १५ पुस २०८० ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App