२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

हेटौँडामा खेलकुद महोत्सव सुरु

तस्बिर: महोत्सवको उद्घाटन गर्दै मन्त्री मसिना खड्का लगायत।

केही विवाद र रस्साकस्सीबीच हेटौँडामा बिहीबारबाट बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ। खेल क्षेत्रको विकास गर्ने उद्देश्यसहित मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो।

महोत्सवको मिति घोषणासँगै मकवानपुर उद्योग वाणिज्य संघले खेलकुद महोत्सव रोक्नुपर्ने माग राख्दै आन्दोलन समेत गर्ने घोषणा गरेको थियो। उद्योग वाणिज्य संघले मात्रै महोत्सव गर्न पाउने भन्दै अध्यक्ष कृष्णकुमार गुप्तासहितको टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतसहित जिल्ला प्रशासन कार्यालय, हेटौँडा उपमहानगरपालिका लगायतका निकायमा महोत्सव रोक्न दौडधुप गरेका थिए। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले महोत्सव उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गरेकी हुन्।

महोत्सव अवधिभर राष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरीय गरी १३ वटा विधामा खेल हुनेछ। मन्त्री खड्काले मकवानपुरको खेल क्षेत्रको विकासमा यो महोत्सव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रतियोगिता तथा महोत्सवको शुभकामना व्यक्त गरिन्। बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले महोत्सवमा खेलसँगै स्थानीय उत्पादनलाई समेत प्रवर्द्धन गर्नुपर्ने सुझाव दिए। हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उपमहानगरले खेल क्षेत्रमा आवश्यक लगानी गरिरहेको स्मरण गर्दै खेल क्षेत्रको विकासको परिकल्पना सहित आयोजित महोत्सवले यसमा टेवा पुग्ने धारणा राखिन्। 

हेटौँडा उपमहानगर १० नम्बर वडा अध्यक्ष फुर्वादोर्ज लामा, खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानु लामा, कार्यालय प्रमुख माधव कोइराला लगायतले महोत्सवको विरोध गर्नु गलत भएको धारणा राख्दै खेल क्षेत्रको विकासका लागि आयोजित कार्यक्रमलाई सबै क्षेत्रको सहयोग जरुरी रहेको बताए। महोत्सव उद्घाटन अघि हेटौँडाको हुप्रचौरबाट विभिन्न जातजातीको भेषभुषा, झाँकी र बाजासहित बजारको परिक्रमा गरिएको थियो। खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले महोत्सवबाट आएको रकम मकवानपुरको खेल क्षेत्रको विकासमा खर्च गरिने बताए। महोत्सवमा एथ्लेटिक्स, ब्याड्मिन्टन, तेक्वान्दो, महिला फुटबल, राष्ट्रिय तेक्वान्दो, क्युकोसिन, आइटिएफ, राष्ट्रिय उसु, हक्की, महिला राष्ट्रिय भलिबल, रेस्लिङ र कबड्डी प्रतियोगिता हुनेछ। प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथै लाइभ दोहोरी समेत हुने आयोजकले जानकारी दिएको छ। 

प्रकाशित: ५ पुस २०८० १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App